धरान : आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारहरुलाई आज प्रदेश नं १ सरकारले आर्थिक सहायता वितरण गर्ने कार्यक्रम छ ।

निरंकुश पञ्चायती व्यवस्थाले २०३६ सालमा खोकु छिन्ताङ क्षेत्रका १६ जनाको हत्या गरेको थियो । तिनै धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारलाई प्रदेश सरकारले सम्मान तथा आर्थिक सहायता प्रदान गर्न लागेको हो । ४१ औं स्मृति दिवस अवसरमा छिन्ताङमा आयोजित कार्यक्रममा उनले उक्त घोषणा गरेका थिए । उक्त समयमा मुख्यमन्त्री राईले केही दिनभित्रै प्रत्येक परिवारलाई ५ लाखका दरले प्रदान गरिने उल्लेख गरेका थिए । सोही निर्णयअनुसार आज मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सहिदभुमी गाउँपालिकामा गएर आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम छ ।धनकुटाका प्रमुख जिल्ला अधिकारी डा।कृष्णबहादुर घिमिरेका अनुसार दिउँसो २ बजे औपचारिक कार्यक्रम शुरुवात हुनेछ । सहदिभुमी गाउँपालिका वडा नं १, ३ र ७ का १६ जना सहिद परिवारलाई प्रतिव्यक्ति ५ लाखको दरले आर्थिक सहयोग दिइने प्रजिअ घिमिरेले बताए । ‘प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार सहिद परिवारलाई सम्मान तथा आर्थिक सहायकता वितरण कार्यक्रम आज हुदैछ, मुख्यमन्त्री ज्यू बाट नै सहायता प्रदान गर्ने कार्यक्रम छ,’उनले भने ।

धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा एमालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।