काठमाडौं : सिन्धुपाल्चोक कठरीका मञ्जु-भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे । उनीहरूका तीन छोरामध्ये दुई थिए-रामकुमार र बालकृष्ण । उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए । खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए । घटना १० वर्षअघिको हो ।

उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो । बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन । उल्टै ज्यानको धम्की आउन थाल्यो । बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले ती बालकको खोजी गर्यो । पत्ता लाग्यो-नेपालबाट हराएका ती बालक इटाली पुर्याइएका रहेछन् । घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्याइएको पाइयो । सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो ।’ घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र-पुत्री बनाएर विदेश पुर्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र-धर्मपुत्री बनाएर लगिएको छ । तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ। अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ । -अन्नपूर्ण पोष्टबाट