इटहरी :  घामको किरण भुईँमा झर्नै नपाई सडकमा धुलो उड्न सुरु हुन्छ । झुल्के घाम सँगै धुलाम्मे सडकमा निलो बर्दीका प्रहरी देखिन थाल्छन् ।
प्रहरी जवान विकास कार्कीको दैनिकी पनि झुल्के घाम सँगै सुरु हुन्छ । बिहानको ७ बजेदेखी धुलो र धुवाँको बिचबाट । इटहरी भत्किएको सडक र त्यसमाथि थुपारिएको बालुवाले धुलाम्मे भएको छ । खाल्डाखुल्डीले गर्दा सधैँ जसो सवारी जाम हुन्छ । उनको ड्युटी पनि त्यही धुलो र खाल्डाको किनारमा हुन्छ ।

ठुला गाडीको तीव्र गतिले उडाएको धुलोले उनी नुहाउँछन् । धुलो आयो भनेर उनी पछाडि हट्न पनि सक्दैनन् । बरु हातले हल्लाएर धुलो रोक्न खोज्छन् । उनको निलो कपडा दुई घण्टा पछि बादल लागेको आकाश जस्तो हुन्छ । उनको अनुहार पनि धुलाम्मे हुन्छ ।
त्यत्तिकैमा १० बज्छ । अर्को साथीले उनलाई पालो दिन्छन् । दिनभरि साथीको हालत पनि त्यस्तै हुन्छ । दिउसो ३ बजे पुन: उनी सडकको धुलो सँग हाजिर हुन्छन् । उठेदेखि सुत्ने बेला सम्म धुलो र गाडीबाट निस्कने पिरो धुवा खाएर उनी मुस्कान सहितको सेवा दिइरहेका छन् ।

'प्रहरी मेरो साथी’ र 'मुस्कान सहितको सेवा’ नेपाल प्रहरीका मुख्य नारा हुन् । सवारी आवागमन सहज बनाउनु, दुर्घटना न्यूनीकरण गर्नु र सम्भावित दुर्घटनाबाट बचाउनु नै ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी हो । आफ्नो जिम्मेवारीमा बफादार हुनु उनीहरूको कर्तव्य पनि हो ।  बिहान देखी राती सम्म चर्को घाम, झरी, बतास नभनी उनीहरू सडकमा हुन्छन् । दिनभर उभिएर सेवामा खटिएका उनीहरू मुस्कान सहितको सेवा भन्ने नारा सम्झी रहेका हुन्छन् ।

धुलो र धुवाँले सुख्खा भएको मुख भिजाउने पानी हुँदैन । खानेपानीको व्यवस्था नहुँदा दैनिक पानी किनेरै खानुपर्छ । पानी पाए पनि शौचालय हुँदैन । शौच गर्न नपाउँदा धेरैजसो समय पिसाब च्यापेरै बस्नुपर्ने हुन्छ ।  केही समय अगाडीको अनुभव सुनाउँदै कार्की भन्छन्, ‘एउटा अफिसमा पिसाब फेर्न गएको थिए । गार्डले पिसाब फेर्न मिल्दैन भनेर फर्काइदियो । त्यही बेला बाटोमा जाम भयो । धुलो धुवाँको त कुरै छाडौँ । पिसाब लागेर समस्या भइसकेको थियो । गाडीको हर्नले झनै तनाव दिइरहेको थियो । करिब १ घण्टा पछि जाम खुल्यो । पछि होटेलमा चिया खाने निउमा गएर पिसाब फेर्नुपर्‍यो ।’

कार्कीको जस्तो घटना हरेक ट्राफिक प्रहरीको दैनिकी हो । राजमार्ग आसपासका रुख काटिएपछि गर्मी मौसमका झनै समस्या हुन्छ । पानी झरीको बेला को कुरै नगरौँ ।
दैनिक धुलो धुवाँ खाने तर पानी खान नपाउने ट्राफिक प्रहरीमा आँखा देखी श्वासप्रश्वासको रोग देखिने गरेको छ । केमिकल युक्त धुलो आँखामा छिरेपछि आँखा पोल्ने र बिस्तारै धमिलो हुँदै जाने गरेको धेरै ट्राफिक प्रहरीको गुनासो छ ।

वीरेन्द्र प्रहरी अस्पताल महारजगंजका कन्सल्टेन्ट फिजीसीयन डाक्टर सुरेन्द्र प्रताप शाहका अनुसार अहिले धेरै ट्राफिक प्रहरीमा फोक्सो र घाटीको समस्या देखिन थालेको छ । प्रहरी अस्पतालमा जाँच गराउन गरेका अधिकांश ट्राफिक प्रहरीमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको उनको भनाई छ । सुरुमा श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि फोक्सो सानो हुँदो जाने र फोक्सोको क्यान्सर समेत हुने सम्भावना देखिन्छ । उनी भन्छन्, सडक किनारामा बालिने प्लाष्टीकजन्य फोहोर र गाडीको धुवाँको कारण अत्याधीक मात्रमा पिनास र निमोनियाको सम्भावना हुन्छ ।

अहिले पनि ट्राफिक प्रहरीमा दमको रोगीको सङ्ख्या बढ्दै गएको उनले बताए । बढ्दो प्रदूषण नियन्त्रण र गुणस्तरीय मास्कको प्रयोगले केही हदमा यस्ता समस्या समाधान गर्न सकिने उनको सुझाव छ ।