धरान : धरान ८ स्थित श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बामा सिठो ल्हाछो अर्थात् शान्तिदेव र क्रोधदेवको चित्र कोरिने भएको छ ।

चित्र निर्माणका लागि लक्ष्मीप्रसाद मोक्तान संयोजक, मणिकुमार मोक्तान कोषाध्यक्ष र सदस्यहरु मैतबहादुर गोले, हर्क गोले, विष्णु मोक्तान, केवी बल र हर्क योन्जन रहेको सात सदस्यीय समिति गठन गरिएको गुम्बाका अध्यक्ष हर्क गोलेले बताए । लामा धर्ममा मानिसको दिमाग, मन, आत्मा र शरीरसंग सम्बन्धित विभिन्न ४२ वटा शान्तिदेव र ५८ वटा क्रोधदेव गरी १ सय वटा देउताहरु हुन्छन् जसलाई लामा भाषामा ‘सिठो ल्हाछो’ भनिन्छ र ती देवताहरुलाई स्वर्गारोहण भएको ३ दिनमा मानिसको दिवंगत आत्मा सपना जस्तोबाट ब्युझिएपछि एक÷एक गरेर देख्दै जाने धार्मिक विश्वास रहिआएको गुम्बाका खेन्पो तेन्जिङ वाइबाले बताए ।

यीनै शान्तिदेव र क्रोधदेवका कारण मानिसको मन, दिल र दिमागमा क्रोध र शान्ति उत्पन्न हुने, विभिन्न सकरात्मक, नकरात्मक विचारहरु छिनछिनमै आउने आदि हुने गरेको खेन्पो वाइबाले बताए । एउटा देउताको चित्र कोर्न करिब दशहजार खर्च हुने अनुमान गरिएकाले कूल दशलाखको लागतमा उक्त चित्र कोरिन लागेको गुम्बाका संरक्षक मैतबहदुर गोले तामाङले बताए । देउताको चित्र निर्माणका लागि समिति गठन भएसंगै पूण्यलाभका लागि विभिन्न दाताहरुबाट दुईलाख संकलन भईसकेको समितिका सदस्य विष्णु मोक्तानले बताए ।