धरान : युवाहरुलाई मिडिया प्रति आकर्षित गर्न पिस मिडिया ग्रुपको आयोजनामा धरान वडा नम्बर १८ का युवा सहित बाल क्लब सञ्जालका पदाधिकारीहरुलाई १ दिने मिडिया उत्प्रेरणा तालिम सम्पन्न गरेको छ ।

विद्यार्थीहरु अवस्था देखिनै मिडिया प्रति आकर्षण बढाउनका लागि वडा नम्बर १८ को आर्थिक सहयोगमा पिस मिडिया ग्रुपले १ दिने मिडिया उत्प्रेरणा तालिम संचालन गरेको हो । शनिबार वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा बाल सञ्जालमा आवद्ध रहेका बाल क्लबका पदाधिकारीहरुको सहित १६ जनाको उपस्थिती रहेको थियो । तालिममा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो । तालिममा औजार दैनिकका कार्यकारी सम्पादक रणध्वोज लोहार र कोशी पत्र दैनिकका कार्यकारी सम्पादक तथा पिस मिडिया ग्रुपका संयोजक दिनेश गजमेरले सहजीकरण गरेका थिए । प्रशिक्षकद्वयले मिडियाको प्रभावकारीता र आवश्यकताका विषयमा सहभागिहरुलाई सहजीकरण गरेका थिए ।

तालिमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले समाजमा चेतना जगाउन मिडियाको मुख्य भुमिका रहेको बताए । राज्यकै चौथो अंगको रुपमा रहेको पत्रकारिताले नागरिकलाई सचेत गराउँदै जिम्मेवारी बनाउन भुमिका खेलेको बताउँदै आफ्नै वडाले पनि मिडिया प्रति विद्यार्थीहरुको आकर्षण बढाउन तालिमको लागि आर्थिक सहयोग गरिएको उनले बताए । पेशागत रुपमै अघि बढाउन वडाका विद्यार्थीहरुलाई थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सभापतित्व वडा नम्बर १८ कि वडा सदस्य तथा महिला तथा बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तानले गरेकि थिईन् ।