धरान : विगतका बर्षहरुमा भव्यरुपमा विविध कार्यक्रम गर्दै मनाईने अन्तराष्ट्रिय नारी दिवस यस पटक भने  धरानका महिला अधिकारकर्मीहरुले जनचेतना फैलाउने पर्चा र पम्प्लेट सर्वसाधरणलाई बाँड्दै  मनाएका छन् ।

विगतका बर्षहरुमा विशाल जुलुस अनि आमसभा गरेर मनाईने अन्तराष्ट्रिय नारी दिवस यसपटक भने धरानमा त्यस्तो चहलपहल देखिएन । तर पनि धरानका महिला अधिकारकर्मीहरु भानुचौकमा भेला भएर कोरोना भाईरस (कोभिड १९ ) को बारेमा जनचेतनामुलक पर्चा बाँड्दै ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाए ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नारी दिवसका अवसरमा यस अघिका बर्षहरुमा सरकारी तवरबाटै कार्यक्रमहरु घोषणा हुने गर्दथे । तर यसपटक कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित भयो ।  धरानमा पनि जनचेतनामुलक कोरोना भाईरसको जोखिमबाट कसरी जोगिने ? के कस्ता सावधानी अपनाउने ? भन्ने बारेमा जानकारी दिने सन्देशमुलक पर्चा बाँडेर धरानमा यसपटक अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाईएको महिला सन्जाल धरानकी अध्यक्ष सविता राईले बताईन् ।

यस भन्दा अघिका बर्षहरुमा निकै भव्यरुपले महिलाको हक अधिकारका मुद्दा उठाएर अन्तराष्ट्रिय नारी दिवस मनाउदै आएकोमा यसपटक सन्देशमुलक पर्चा बाँडेर मनाईएको ल्याक महिला सशक्तिकरणका कार्यक्रम संयोजक मीना पुलामीले बताईन् ।

हप्ता दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाईदै आएको यो दिवसमा बर्षमा एक पटक भए पनि महिलाका हक अधिकारका कुराहरु बुलन्द गर्ने गरिन्थ्यो । तर यसपटक विश्वमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको त्रासले विगत जस्तै मनाउन नपाए पनि राम्रै काम गरेर अन्तराष्ट्रिय नारी दिवस मनाईएको महिला सन्जाल धरानकी पुर्व अध्यक्ष शिला बज्राचार्यले बताईन् । समय र परिस्थितिले ठुलो भेला सभा गरेर अन्तराष्ट्रिय नारी दिवस नमनाईए पनि कोरोनाको जोखिम र यसबाट जोगिन के गर्नुपर्छ भन्ने सन्देश दिदै ११० औं अन्तराष्ट्रिय नारी दिवस धरानका अधिकारकर्मी महिलाहरुले मनाए । 

श्रमिक महिला दिवस कहिले देखि मनाउन थालियो ?

सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तराष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिको हो ।