इटहरी : कोरोना महामारीको यो बेला सरकारी तथा सामुदायिक अस्पतालको महत्त्व छर्लङ्ग पार्‍यो । निजी मेडिकल कलेज सेवामुखी भन्दा बढी नाफामुखी भएको स्पष्ट भयो ।

यस बिचमै धेरै निजी मेडिकल कलेजले अत्यावश्यक उपचार सेवा बन्द नै गरे । निजी अस्पतालले कोरोना सङ्क्रमित क्षेत्रका बिरामीलाई उपचार नै गर्न मानेनन् ।

जे जस्तो भए पनि सरकारी अस्पतालकै भर पर्नुपर्ने अवस्था सृजना भयो । उता सरकारी तथा सामुदायिक अस्पतालको अवस्था पनि मजबुत देखिएन ।

कोरोनाको महामारी नियन्त्रणको हिसाबमा अन्य प्रदेश भन्दा प्रदेश १ केही अगाडी देखियो । सबैभन्दा अगाडी विराटनगरमा कोभिड-१९ विशेष अस्पताल निमार्ण गर्‍यो । हाल प्रदेश १ भरीको कोरोना सङ्क्रमितको उपचार सोही अस्पतालमा भइरहेको छ ।

विराटनगरमा कोरोना सङ्क्रमितको उपचार गराउने भएपछि विराटनगरबासीले विरोध जनाए । उता धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सय बेडको आइसोलेसन तयारी अवस्थामा छ ।

धरानका जनप्रतिनिधीलेनै कोरोना सङ्क्रमितलाई धरानमा उपचार नगराउन सचेत गराए । बिपी प्रतिष्ठानको कारण धरान जोखिममा परेको भन्दै विरोध भयो ।

Purwanchal-University

यिनै घटनाले गर्दा मेडिकल कलेज वा रिसर्च सेन्टर मानव बस्ती भन्दा केही टाढा हुनुपर्ने सङ्केत गरेको छ । यसैक्रममा पर्याप्त भौतिक संरचना र उपयुक्त स्थान भनेको मोरङ गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालय देखिएको छ ।

पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद विश्वविद्यालय हालसम्म व्यवस्थित हुन सकेको छैन । अत्याधुनिक ८ वटा भवन, प्रयोगशाला कक्ष उपयोग विहीन भइरहेका छन् । त्यही अनुपातमा नयाँ भवनहरू बन्ने क्रम पनि जारी छ ।

८०५ बिघा क्षेत्रमा फैलिएको विश्वविद्यालय मानवबस्ती देखी केही दुरी टाढा जङ्गलको छेउमा पर्छ । विराटनगरमा केन्द्रीय कार्यालय हुँदा उपकुलपतिको निगरानी बाहिर विश्वविद्यालय रहेकोले चलायमान हुन नसकेको गुनासो भइरहेको थियो । तर हाल केन्द्रीय कार्यालय समेत गोठगाउँमै सारीएको छ ।

विश्वविद्यालय मेडिकल कलेज सञ्चालन गर्ने बारे लामो समय देखी बहस सुरु भइरहेको छ । तर पछिल्लो कोरोना महामारीले त्यसको आवश्यकता महसुस गराएको छ ।

सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल विगतमा कुन पार्टीले जस पाउने भन्ने मनोविज्ञानले सञ्चालन हुन नसकेको मेडिकल कलेज कोरोना पछि सञ्चालनमा आउने विश्वास व्यक्त गर्छन् ।

पर्याप्त पूर्वाधार र संरचना भए पनि प्रयोग विहीन भएको अवस्थामा अब त्यसको उपयोग बढाउनुपर्ने उनको तर्क छ । प्रदेश १ कै एक मात्र सरकारी मेडिकल कलेज बन्ने सुवर्ण अवसर गुमाउन नहुने उनले बताए । विराटनगरको कोसी अस्पतालसँग समन्वय गरी काम गर्ने प्रक्रिया अगाडी बढी सकेको ढकालको भनाइ छ ।

त्यस्तै विश्वविद्यालय उपकुलपति यादव कोइरालाले अब कुनै पनि हालतमा मेडिकल कलेज सञ्चालन हुने बताए । यति धेरै पूर्वाधार र क्षमता हुँदाहुँदै यस अघि नै सरकारी मेडिकल कलेज सञ्चालन हुन नसकेकोमा उनले आश्चर्य व्यक्त गरे ।

उनले भने, ‘कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएपछि हामी सङ्घीय र प्रदेश सरकार सँग कुरा गरेर मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउँछौ । यो मेडिकल कलेज देशकै नमुना कलेज बन्न सक्छ । सरकारले सञ्चालन गर्ने पूर्ण क्षमताको मेडिकल कलेज तथा रिसर्च सेन्टर बन्ने सम्भावना देखेको छु ।’

गोठ गाउँमा केन्द्रीय कार्यालय सरेपछि उनि नै पहिलो उपकुलपति हुन् । अहिले पनि कोरोना विश्वविद्यालयमै कोरोना परीक्षण गर्ने गरी तयारी थालिएको उनले बताए । विश्वविद्यालय अवसरको खानी भएकोले धेरै काम गर्न सकिने उनको भनाई छ ।

आफू भर्खर आएकोले गम्भीर अनुसन्धान गरिरहेको उनले बताए । कोइरालाका अनुसार हाल विश्वविद्यालयमा १६० बेडको क्वारेनटाइन निमार्ण गरिएको छ । हाल १७ जना शङ्कास्पद लाई सोही स्थानमा राखिएको छ ।

हाल स्नातकोत्तर शैक्षिक कार्यक्रमहरू सञ्चालनकालागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आंगिक क्याम्पसहरूको सञ्चालन गरी उक्त आंगिक क्याम्पसहरू मार्फत कृषि शैक्षिक कार्यक्रमको सञ्चालनमा आएका छन् । भेटेरेनरी, कृषि तथा बन विज्ञानका विषयको अध्ययन भइरहेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य संस्थालाई थप गुणस्तरीय र प्रभावकारी बनाइने उल्लेख गरीएको छ । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज तथा रिसर्च सेन्टरको रूपमा विकास भए प्रदेश १ को मात्र हैन छिमेकी मुलुक भारतका बिरामीको समेत उपचार केन्द्र बन्न सक्छ ।