राष्ट्रिय राजनीतिको पहुँचमा रहेको भोजपुर सामाजिक क्रान्तिको समेत उर्वर भूमि हो । तथापि भौतिक विकासको हिसाबले पछाडि परेको भोजपुर पछिल्लो समय तङ्ग्रिँदै गएको छ । त्यसमा पनि भोजपुरको पौवादुम्मा गाउँपालिकाले खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली लगायत अत्यावश्यक पूर्वाधारको अभाव झेलिरहेको छ । गाउँपालिकाले ३ वर्षमा के कस्ता काम गर्‍यो रु घोषणापत्र कार्यान्वयन कति बाकी छ रु रोजगारी तथा आन्तरिक आम्दानी वृद्धिमा गाउँपालिकाको आगामी रणनीतिको विषयमा पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राई सँग विनय बाह्रकोटीले गरेको कुराकानी । 

गाउँपालिका अध्यक्षको तिन बर्से कार्यकाललाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
तिन बर्से कार्यकाल साधारण रहेन । यसलाई सामान्य भन्न मिल्दैन । प्रदेश सरकार वा सङ्घीय सरकार भन्दा पनि स्थानीय सरकार लाई जनताले नजिकबाट महसुस गर्न पाए । म तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएको हुँ । मैले चुनावी दौरानमै धेरै महत्त्वाकाङ्क्षी कुरा बाचा नगरेकोले घोषणापत्रमा उल्लेख गरेकोले सबै पुरा गरेको छु ।

प्रदेश र सङ्घीय सरकार जनताबाट टाढा भए पनि हामी खेतको आली र बारीको कान्लामै भएकोले जनताले अनुभूति हुने गरी काम गरेका छौ । एउटा सामान्य बिरामी हुँदा औषधि खान नसक्ने मान्छेले औषधि पाएको छ । मिर्गौला रोगी देखी ठुला रोगीहरूको उपचारमा १ लाख सम्म छुट हुने गरी काम गरेका छौ । अर्थात् धेरै सिक्ने र गर्ने मौका मिल्यो ।

जनताले अनुभूति हुने गरी तपाई आफूलाई पनि गर्व गर्न लायक के काम भएका छन् ?
त्यस्तो धेरै वटा छ । हाम्रो पालिका खानेपानीकोलागी अत्यन्तै बिकट ठाउँ हो । अहिले धेरै ठाउँमा पानी पुर्याउने काम गरिरहेका छौ । अहिले जनप्रतिनिधिहरुले पनि गर्व गर्न लायक काम भएको छ । पहिला यो गाउँमा पनि गाडी पुग्छ र ? भन्ने अवस्था थियो । तर अहिले दशमी र पञ्चमी बजार लाग्ने ठाउँमा गाडी पुगेको छ । त्यसबाट जनताहरू लाभान्वित हुनुहुन्छ ।

अहिले नै भन्न हतारो होला तर अब केही समयमै हरेक घरमा बिजुली पुर्याउने गरी काम गरिरहेका छौ । जनयुद्धताका भत्किएका भवनहरू मर्मत गरी पुनर्संरचना गर्ने काम भइरहेको छ । गाउँ गाउँमा क्लिनिक र स्वास्थ्य कार्यालय बनाउने काम भएको छ । भन्नु उसो हैन तर जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । गाउँपालिकाको बिरामीलाई स्वास्थ्य कार्यालय ल्याउने र पुर्याउने काम गरिरहेका छौ ।

हिजो जनप्रतिनिधि निर्वाचित हुँदा कहाँबाट काम गर्ने भन्ने अन्योल थियो । तर अहिले हामीले त्यसको व्यवस्थापन गरिरहेका छौ । संविधानमा मौलिक हकहरू उल्लेख भएर मात्र भएन नि त्यसको कार्यान्वयनका लागी काम पनि गर्नुपर्ने रै छ । त्यही मौलिक हकहरू कुण्ठित नहुन भनेर काम गरिरहेका छौ । अब हामी माने डाँडामा अस्पताल बनाउने काम सुरु गर्दै छौ । 

Kiran-Rai-Paudumma

गाउँमा सुविधा नभएर धेरै मानिस बसाई सर्ने गर्छन् । त्यसको नियन्त्रणकोलागी के गर्दै हुनुहुन्छ ?
यो चाहिँ कस्तो हो भने यसको लागी स्थानीय तहले भन्दा पनि प्रदेश वा सङ्घीय सरकार लेनै पहल गर्नुपर्छ । त्यसको लागी गुणस्तरीय शिक्षा र श्वास्थ्यको पहुँच जनतामाझ पुग्नुपर्छ । शिक्षालाई र स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे योजना बनाउनुपर्छ । पहाडी जिल्लामा सुविधा दियो भने जनता तराई झर्ने काम आफै बन्द हुन्छ ।

भोजपुरमा एउटा अस्पताल बनाइयो भने त्यहाँ लामो समय डाक्टर बस्ने अवस्था छैन । त्यसको लागी डाक्टरको सेवा सुविधा बढाउनु पर्‍यो अनि जनताले पनि सेवा पाउँछन् । कतिपय नीतिगत झन्झटको कारण जनताले सास्ती भोगी रहेका छन् र हामीले पनि खुलेर काम गर्ने अवस्था छैन । 

रोजगारी तथा आन्तरिक आम्दानी वृद्धिको लागी के पहल गरिरहनु भएको छ ? 
हाम्रो माटो सुहाउँदो रोजगारी भनेको कृषि नै हो । अहिले गाउँमा तराईबाट गएको चामल खान किन बाध्य भए भन्दा खेरी उत्पादन नगरेर हो नि त ! अब हामीले नुन बाहेक कुनै पनि खानेकुरा बाहिरबाट नल्याउने गरी योजना बनाएका छौ । खेतीलाई आत्मनिर्भर हुँदै आम्दानीको श्रोत सँग जोड्ने काम भइरहेको छ ।

एउटा किसानलाई १ लाख सम्म अनुदान दिएर कृषि उपज उत्पादनमा लगाएका छौ । युवाहरूको हकमा गाउँपालिकाले गर्ने विकास निर्माणमा युवाहरूको सहभागितामा गराउँदै छौ । तर सबैभन्दा पहिला युवाहरू आफै तयारी भएर आउनुपर्‍यो । स्वरोजगारको क्षेत्रमा गाउँपालिका सहयोग गर्न तयार छ । 

सांस्कृतीको संरक्षणमा के गरिरहनु भएको छ ? 
हामीले गरिरहेका छौ । सांस्कृतीक रूपमा पहिला देखी नै चल्दै आएको हुर्रा नाच, साकेला, पञ्चेबाजा संरक्षण गर्ने कुरामा हामी अगाडी लागी रहेका छौ । दुम्बा राईको भाषाको संरक्षणकोलागी कक्षा ३ सम्म दुम्बा भाषामा पढाउने कुरा गरिरहेका छौ । त्यस्तै आआफ्नो संस्कार र संस्कृति संरक्षणको लागी विभिन्न जातीहरूलाई हौसला र सहयोग प्रदान गरिरहेका छौ ।