अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ। अधिकमासमा भगवान नारायणको पूजा एवम् पुरुषोत्तम माहात्म्य वा कथा सुन्ने परम्परा रहेको छ । यस मासमा श्रद्धा भक्तिपुर्वक भगवान पुरूषोत्तमको उपासना आराधना गरे सम्पुर्ण पाप मकैका दाना सरि भुटीने धार्मिक मान्यता रहेको छ । अधिक मासमा सम्पूर्ण शुभ कार्य तथा शुभ साईतहरू गर्न वर्जित गरिएको छ । तर नित्य पुजा पाठ गर्नलाई कुनै नियमहरूले वर्जित गरेको छैन।

सनातन वैदिक परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न हुँदैन । त्यसैगरी मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ तर दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । मलमासका अवधिमा गृहस्थ जीवन शुरु गर्न हुँदैन, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र प्राण प्रतिष्ठा कर्म गर्न हुँदैन । मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु यस मलमासका अवधि भर वर्जित गरिएको छ । यस्तो समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएत , गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ र विशेष उद्देश्यले गरिने सम्पूर्ण शुभ कार्यहरू असफल एवम् फलविहिन हुने विश्वास गरिन्छ।

मलमास हरेक तीन वर्षमा आउने हुँदा यस अवधिमा मरेका पितृहरूको श्राद्ध कहिले गर्ने त भन्ने प्रश्न आउँछ? यसको समाधानका लागि अधिकमास शुक्लपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष त्यही महिनाको शुक्लपक्षमा गर्नुपर्छ भने अधिक कृष्णपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्षको एकमहिना पछिको कृष्णपक्षको तिथि मा गर्नुपर्दछ । त्यसैगरी अधिकमास लाग्नुअघि नगएका तीर्थमा पहिलो पटक जान हुँदैन र दर्शन नगरेका देवताको दर्शन गर्न पनि शास्त्रीय रुपमा वर्जित गरिएको छ ।

पौराणिक कथन अनुसार स्वामी विहिन अधिकमास दुःखी भएर भगवान् विष्णुको सरणमा पुग्यो र आफ्नाे दुःख बिसायो । भक्तवत्सल दयासागर श्रीविष्णुले उसलाई सान्त्वना दिँदै भन्नुभयो "अबदेखि म तिम्रो स्वामी भएँ र मेरा सबै दिव्य गुण तिमीमा प्रविष्ट हुनेछन् । यस ब्रह्माण्डमा पुरुषेत्तमका नामले जसरि म प्रसिद्ध छु त्यसैगरी आजदेखि तिमी पनि पुरुषोत्तम नामले प्रसिद्ध हुनेछौ। आजदेखि तिमी मलमास , अधिकमास नभएर पुरुषोत्तम मासका नामले प्रख्यात हुनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक मेरो आराधना गर्छ त्यसको जन्मजन्मान्तरका पाप भुटिएर जान्छन् ।" यसरी परमात्मा पुरूषोत्तमले अधिक वा मलमासलाई पुरुषोत्तम मासको उपाधि दिएर धर्मकर्मको लागि उपयोगी बनाइदिशुभकामना भयो । यस्तो दुर्लभ महिनामा जसले स्नानादि पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम्।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ॥

श्रवण ,कीर्तन ,स्मरण ,पादसेवा ,अर्चन ,वन्दन ,दास्य, सख्य आत्मनिवेदन को अर्थ हुन्छ विष्णु कै नाम सुन्ने, भजन गर्ने, सम्झिरहने, विष्णु कै चरणमा समर्पित हुने, : मन, वचन र कर्मले पुरूषोत्तमको पुजा गर्ने, षाष्टाङ्ग दण्डवत् गरी,भगवानको दास भएर पुरूषोत्तमलाई परम् प्रिय मित्र सम्झने र आफुले आँफैलाई सदाको लागि भगवानमा समर्पित गरिदिने। यसरी नवधा भक्ति सूत्रद्वारा पुरूषोत्तम मास भरी भगवान पुरूषोत्तमको भक्ति गर्नु पर्छ।

त्यसैले सनातन वैदिक परम्परामा अधिक मासलाई अत्यन्तै पवित्र मानिएको छ । भगवान् विष्णुको महिना भएकाले यस महिनामा गरिने व्रत पारायण तथा भगवान पुरूषोत्तम स्मरण, किर्तन र सेवा गरे सार्है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ । त्यस कारणले मल वा अधिकमास त्यस्तो कुनै भयङ्कर अशुभ समय होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछन् । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।