धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरूसँग आज प्रतिष्ठानका पदाधिकारीहरूले वार्ता गरेको छ ।

३ घण्टा सम्म चलेको वार्तामा प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, सहित रजिस्टार प्रा.डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा। डा। गौरीशङ्कर साहको उपस्थिति रहेको थियो । यता मेडिकल एन्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा। विष्णु पोखरेल सहित १२ जना वार्तामा उपस्थित थिए ।

अध्यक्ष पोखरेलका अनुसार उनीहरूको प्रदर्शनको प्रमुख एजेन्डा नियमित बढुवा प्रक्रिया हुनुपर्ने रहेको थियो । अढाई वर्षदेखि रोकिएको बढुवाको कारण उनीहरूको करियर ल्याडरमा ग्याप भएको उनीहरूको भनाई थियो । फ्याकल्टी प्रमोसन नहुँदा हाल कतिपय विभागमा प्रोफेसर नरहेको पोखरेलले बताएका थिए । यस्तै, जोखिम भत्ता वितरण र रोकिएको तलब र वृद्धि भएको तलब भुक्तानी गरियोस् भन्ने विषयमा समेत माग राखिएको थियो ।

बढुवा प्रक्रियाको बारेमा प्रतिष्ठानका उपकुलपति गिरीले नियमावली संशोधनका लागी कार्यसमितीलाई आजै पत्र काट्ने बताए । नियमावली संशोधनका लागी आजै कार्यसमितिका लागी एउटा चिठ्ठी काट्ने र भोलि अर्को चिठ्ठी काट्नेछु । उनले भने, यस विषयलाई प्राथमिकता दिएर चाँडो रूपमा बैठक बस्ने माहौल मिलाउने छु ।

रजिस्टार डा. रेग्मीका अनुसार सरकारले पछिल्लो समयमा जोखिम भत्ता लगायत क्वारेनटिन र कर्मचारी व्यवस्थापन भन्ने शीर्षकमा १ करोड २४ लाख रकम आएको बताए । आइसोलेसन वार्ड, फिभर क्लिनिक र कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मात्र रोस्टरको आधारमा जोखिम भत्ता दिनु भनी सरकारको निर्देशन रहेको छ ।

त्यसै अनुसार भत्ता वितरण गरिनेछ । उनले भने, आज बल्ल अस्पताल निर्देशक आइसोलेसनबाट काममा फर्किएका छन् । निर्देशकबाट प्रमाणीकरण भएको रोस्टरको आधारमा चैत्र देखिको भत्ता वितरण हुनेछ ।

स्वास्थकर्मिहरूको लागी कोरोना बिमाको सबै प्रक्रिया समेत मिलिसकेको रेग्मीले बताए । यस्तै,तलब एक दुई दिनमा नै निर्णय गरी दसैँको पेस्की सहित वितरण गरिने उनले बताए । अहिले वृद्धि भएको तलब नै वितरण भइरहेको तर अघिल्लो वर्षको बाँकी बक्यौता रकमको बारेमा तत्काल व्यवस्थापन गर्न समय लाग्ने बताए ।

सोसाइटीले मास्क तथा पञ्जा समेत अभाव भएको बताएका थिए । यसमा भने ओटी र आइसियुका स्वास्थकर्मिहरूलाई वार्षिक रूपमा १५ सय रूपैँया भत्ता दिइने मौखिक सहमति समेत भएको छ । हाल १५ दिनमा १ लाख जोर पन्जा खपत हुने र मास्कको समेत धेरै माग रहेको अस्पताल निर्देशक गौरीशङ्कर साहले बताए । यसको लागी समेत टेन्डर आव्हान गरिएको उनले जानकारी गराए ।

यस्तै, सोसाइटीले प्रतिष्ठानको हरेक महिनाको आय व्ययको जानकारी तथा हरेक ३ महिनाको कार्य योजनाका बारेमा समेत जानकारी गराउन आग्रह गरेका थिए । यसका विषयमा फ्याकल्टी मेम्बरहरू सँग साप्ताहिक रूपमा छलफल बस्दा सहज हुने रेक्टर खनालले सुझाएका थिए ।

सोसाइटीले अस्पतालको फोहोरलाई वैज्ञानिक तरीकाबाट आय हुने गरी व्यवस्थापन गर्न र बिग्रिएको इन्सिनिरेटरको समेत खरिदका लागी आग्रह गरेका थिए । वीपीको फार्मेसी सञ्चालन तथा क्वाटर मर्मत संभारका लागी समेत सोसाइटीले माग राखेका थिए । आज वार्ता भए पनि माग पुरा नभएसम्म आन्दोलन निरन्तर रहने सोसाइटीले बताएको छ ।

सिटी स्क्यान खरिदमा कुनै चलखेल छैन : उपकुलपति

वार्तामा सोसाइटीले सिटी स्क्यानको बारेमा समेत जिज्ञासा राखेका थिए ।

सिटी स्क्यान खरिदमा कुनै पनि विवाद र आर्थिक चलखेल नरहेको उपकुलपति गिरीले विश्वास दिलाएका थिए । हामीले लोएस्ट बिडरबाट नै मेसिन खरिदको प्रक्रिया गरेका छौ । खरिदको प्रक्रियामा कुनै कुरा पनि अड्किएको छैन,आजको मितिसम्ममा कुनै पनि विवाद छैन ।

उनले भने, खरिदको अन्तिम प्रक्रियामा रहेको छ । हाम्रो प्राविधिक टिमले गएर मेसिन हेर्नेछ र सन्तोषजनक भएमा खरिद गरिनेछ । यता नयाँ एमआरआइ मेसिनको खरिदको प्रक्रिया समेत सुरु भइसकेको उनले बताए ।

BP-Andolan