आज कार्तिक कृष्ण द्वादशी अर्थात् गोवत्स द्वादशी । आज गाई र बाछाहरूको पूजा र सेवा गरि यस पर्व मनाउने गरिन्छ। आजको दिनको विशेष गरि गाई र बहरको विधिवत् पुजा गरिन्छ।

सहरी क्षेत्रमा सबैका घरमा गाई नभए पनि, गौशाला अथवा गाई र बहरको प्रतिमा बनाई पुजा गर्ने चलन पनि रहेको छ। गोवत्स द्वादशीको व्रत बस्ने व्रतालुहरूले गाईको दूधबाट निर्माण हुने खाद्यपदार्थको उपयोग गर्नु हुदैन । आज गाई र बाछालाई श्रृङ्गार गरेर पुजागरी कालो दाल अर्थात् मास मिसीएको अन्न चामल खान दिनु पर्दछ । यसरी गौमाता र बहरको पुजा गरेपछि गोवत्स द्वादशीको काथा श्रवण गर्नु पर्दछ ।

गोवत्स द्वादशीको कथा

प्राचीन समयमा देवदानी नामका राजा थिए। ती राजाका सीता र गीता नाम गरेका दुईवटी रानी थिए। सीताको प्यारो एवम् साथी भनेको एउटा भैंसी थियो। त्यस्तै गीता भने गाई र त्यसको बाछोलाई यसरी नै माया गर्दथिन् । एक दिन भैंसीले आफ्नी मालिक्नी सीतालाई तपाईंको सौता गीताको गाईको बाछोसमेत छ तर मेरो चै छैन भनेर इर्ष्या प्रकट गर्यो।भैंसीका यस्ता गुनासाले सीताको मनमा कुबुद्धि जाग्यो र आफ्नो प्यारो भैंसीलाई खुसी पार्नका लागि , गीताले छोरोसरह माया गर्ने बाछोलाई काटेर गहुँको थुप्रोभित्र छोपिन् ।

यस पछि जब दिउँसो भोजनादि ग्रहण गर्ने बेलामा राजा भोजन गर्न बसे, तब अचानक खानामाथि मासु र रगतको वर्षा हुन थाल्यो र दरबारमा चारैतिर रक्त तथा मांस देखिन थाल्यो, राजाकै भोजनपात्रमा मलमूत्र बर्सियो । यस्तो घटनाले राजा असाध्यै डराए र उनलाई ठूलो चिन्ता पर्यो र यसै समयमा आकाशवाणी भयो "हे राजन्! तिम्री रानी सीताले गाईको बाछोलाई काटेर गँहुको थुप्रोभित्र लुकाएकी छन् । त्यसै अनिष्टका कारण यी घटना घटेका हुन् । संयोगले भोलि गोवत्स द्वादशीको पुण्य दिन परेको छ, त्यसैले भोलिका र गाई र मृत बाछालाई विधिपूर्वक पूजा गर । भोलि तिमीले गाईको दूध र हतियारले काटेर पकाइने फलफूल र तरकारी नखाउ र यस कार्य लाई सम्पन्न गरेपछि तिम्रा र तिम्री रानी सीताका समस्त पाप नष्ट हुनेछन् र बाछो पनि बाँच्नेछ । " राजाले आकाशवाणीबाट व्यक्त भएका सबै कुरा निष्ठापूर्वक पालना गरे र यसका प्रभावले आकाश वाणी सत्य भयो त्यस पुण्य बाट राजाले अझ धेरै वर्षसम्म पृथ्वीतलमा शासन गरी सपरिवार मृत्यु पर्यन्त पनि गोलोकधाममा स्थान पाए।