इटहरी : कृषि अनुसन्धानलाई प्रोत्साहन गर्ने र जुटका बिउ उत्पादन गर्ने हेतुले सुरु भएको जुटबिकाशमा अहिले भुमाफीयाले आँखा लगाउन थालेका छन् । इटहरी चोक छेवैमा रहेको फराकिलो जग्गा अहिले घेराबन्दीमा पर्न थालेको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगत जुट बाली अनुसन्धान कार्यक्रमको नाममा रहेको ५२ बिगाहा जग्गामा भुमाफीया देखी सरकारी कार्यालयले समेत आँखा लगाइरहेका छन् ।

सुरुमा रेसम खेती प्रशोधनको नाममा २० बिगाहा जग्गा भोग चलनको लागी दिइएको छ । हाल रेसम खेती प्रशोधनको काम पनि हुन सकेको छैन । रेसम खेतीको नाममा छुट्टिएको जग्गा बाझो देखिन थालेपछि बाहिरी पक्षबाट आक्रमण सुरु भएको हो ।

जुटबिकाशको पश्चिम दक्षिणको ७ बिगाहा जग्गामा इटहरी रङ्गशाला बनेको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको लागी १ बिगाहा ५ कट्ठा जग्गा मन्त्रीपरिषद् बाटै निर्णय भएरै छुटाइएको छ । बाकी रहेको जग्गामा हाल जुट तथा गहुँको बिउ उत्पादनको काम भइरहेको छ ।

तर इलाका प्रहरी कार्यालय इटहरीको भवन बन्नको लागी उपयुक्त जग्गा नभएको कारण जुटबिकाशकै जग्गा उपयोग गर्ने चर्चा सुरु भएको छ । सरकारी जग्गा भए पनि मन्त्रीपरिषद् निर्णय बिना जग्गा हस्तान्तरण हुन नसक्ने भएपछि प्रहरी कार्यालय निमार्णको विषयमा अलमलमा परेको हो ।

त्यस बाहेक मोहियानी छ भन्दै धेरै माफियाहरू जुट विकास कार्यालय पुग्ने गरेको कार्यालयका पूर्व प्रमुख गोविन्द प्रसाद तिम्सिना बताउँछन् । आफू ३ वर्ष कार्यरत रहँदा मन्त्रीले समेत माफियाको पक्षमा काम लगाउने गरेको उनले बताए । पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले फोन गरेर हस्ताक्षर गर्न भनेको तर आफूले माफियाको पक्षमा हस्ताक्षर नगरेको उनको भनाइ छ ।

Itahari-Jut-Bikash

“कतिपय त कस्तो भने डाइरेक्टर पैसा दिन्छु हस्ताक्षर मात्र गर्दिनु भन्नेहरू पनि आए । उनले भने, त्यही पैसा लिने ग्रुपको विषयमा गृह मन्त्रालय बाट भन्दै एक जनाले फोन गरेका थिए । जसरी पनि काम गर्दीनुपर्यो भने । मैले हुँदैन कृषि फारमको जग्गा जोगाउने र उत्पादन बढाउने जिम्मेवारीका साथ आएको छु म दायाँबायाँ गर्दिन भन्दिए ।”

अहिले बिउँ उत्पादनको हिसाबमा धेरै सुधार भएको उनले सुनाए । पहिला ७ टन मात्र गहुँको बिउ उत्पादन हुने ठाउँमा यस पटक ३० टन भन्दा बढी बिउ उत्पादन भएको छ । त्यससँगै जुटको बिउको पनि उत्पादन बढेको छ ।

३ वर्ष अघि १५ लाख राजस्व सङ्कलन हुने जुटबिकाश बाट पछिल्लो आर्थिक वर्षमा ५० लाख पुगेको तिम्सिनाले बताए । उनका अनुसार सुरुमा २० जनाले ५ महिना मात्र काम गर्ने ठाउँमा अहिले ३० जना मान्छे ३ सय ६५ दिन नै काम गर्ने अवस्था सृजना भएको छ । एक धुर पनि जग्गा बाझो हुन नदिने योजनाको साथ काम भइरहेको उनले सुनाए ।

हाल तिम्सिना कृषि विकास कार्यालय पाख्रीबासमा कार्यरत छन् । यहीँ पौष महिना देखी तीर्थ रिजालले जुटबिकाशको नेतृत्व सम्हालिरहेका छन् ।