धरान : दुर्गम पहाडी क्षेत्रमा मज्जाले मोबाइल फोन चल्छ तर धरानमै मोबाइल राम्रोसँग चल्दैन टावर टिप्ने ठाउँ खोज्दै हिँड्नुपर्छ भन्दा जो कोहीलाई सहजै विश्वास लाग्दैन । तर वास्तविकता यही हो ।

धरान-१४ विजयपुरमा मोबाइलमा नेटवर्क नटिप्नाले विजयपुरबासी मोबाइलमा कुरा गर्नका लागि घर बाहिर निस्किनुपर्ने र टावर खोज्नुपर्ने बाध्यता रहेको छ । धरान-१४ को विजयपुरको उच्च डाँडामै मोबाइल फोन राम्रो सँग चल्दैन ।

यो समस्या भर्खरैको होइन यो समस्या मोबाइल सेवा विस्तारसंगैको हो । विजयपुरको मण्डप चौक, डाडागाउँ चौक, दन्तकाली मन्दिर, पिण्डेश्वर, बुढासुब्बा मन्दिर आसपासका क्षेत्रमा यस्तो समस्या छ। अझ कहिले काहीँ विद्युत अवरुद्ध हुँदा त मोबाइलमा टावरको सिग्नलनै हुँदैन ।

यसले गर्दा मोबाइल प्रयोगकर्ता विजयपुरबासी नेपाल टेलिकमको सेवाबाट वञ्चित जस्तै छन् । मोबाइल नटिप्ने समय भएपछि विजयपुरबासीले पटक-पटक नेपाल टेलिकममा निवेदन दिएको भए पनि अहिले सम्म मोबाइलको एउटा टावर समेत राखिएको छैन ।

त्यसो त विजयपुरमा नेपाल टेलिकमको टावर नभएको होइन। विजयपुर चौकमा एउटा घरको छतमा राखिएको छ । तर त्यो होचो ठाउँमा भएकोले विजयपुरको डाडागाउँ मण्डप चौक क्षेत्रमा मोबाइल फोनमा नेटवर्क नटिप्ने समस्या छ ।

यसरी मोबाइल नटिपेपछि टावर निर्माण गर्न पटक पटक निवेदन दिँदा पनि टेलिकमले बेवास्ता गरेको डाडागाउँबासीको भनाई छ। डाडाँगाउमा मोबाइलको टावर राख्नका लागि डा. राजेन्द्र शर्माले आफ्नो घर अगाडी जग्गा उपलब्ध गराएको भए पनि सो जग्गामा अनेक बाहाना बनाउँदै करिब डेढ वर्ष बित्दा पनि टावर बन्न सकेन ।

धरान-१४ मण्डप चौक निवासी पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण कोइराला भन्छन् कुनै जरुरी काम परेर घर भित्रबाट मोबाइलमा कुरा गर्न खोजे घर भित्रबाट सहजै कुरा गर्न सकिँदैन । टावर टिप्ने ठाउँ उच्च ठाउँ खोज्दै हिँड्नुपर्ने भएकोले नेपाल टेलिकमको सेवामा भरपर्दा दुःख पाउने गरेको कोइराला बताउँछन् ।

भानुचोकको टावर टिप्ने तिर वा यताउता निस्कनु पर्ने विजयपुरको डाडागाउँबासी मोबाइल प्रयोगकर्ताको अवस्था छ । पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि टेलिकम सेवाग्राहीप्रति उत्तरदायी नभएको कोइरालाको भनाई छ ।

विजयपुरबासी टेलिकमका प्रयोगकर्ता प्रा. डा. राजेन्द्र शर्मा भन्छन्-धरानको चर्चित ठाउँ विजयपुरमा मोबाइल सेवा अबरुद्ध हुन्छ भन्दा अचम्म लाग्छ। तर, यर्थाथ हो। धरानका ४,५, ६, र २० वडामा पनि टेलिकमको सिग्नलमा ठुलो समस्या छ ।

सबै टावरको प्रतीक्षामा छन् । मोबाइलको सिग्नल नआउने एरियामा तत्काल नेपाल टेलिकमले सेवा बिस्तार नगर्ने हो भने नेपाल टेलिकमका सेवाग्राही एनसेल को सेवामा सर्ने बाध्यता आउने उनले बताए ।

यसैगरी विद्यार्थी जानुका राईले भनिन विद्यालयले अनलाइन कक्ष सुरु गर्‍यो । तर, गाउँमा नेपाल टेलिकमको टावर समस्या थियो । त्यसैले अनलाइन कक्षाका लागि साथीको घर जानु परेको बताइन् ।

नेपाल टेलिकम धरानका प्रमुख विनोद यादवले यस विषयमा कुरा गर्दा उनले भने टावर निर्माण गर्न पटक पटक क्षेत्रीय कार्यालयलाई भनेका उनी बताउँछन् । यादवले भने धरान कार्यालयबाट विद्युत मर्मत सम्भार कार्यको मात्र काम हुन्छ । क्षेत्रीय कार्यालयले भने टावर राख्न जग्गाको खोजी भइरहेको बताएको छ ।

प्रविधिको विकाससँगै सहरी क्षेत्रमा पनि फोन सबैले सबै ठाउँमा चलाउन सक्ने गरी सेवा नदिने र निवेदन दिँदा पनि कुनै चासो नदेखाउनु गैर जिम्मेवारी पन नेपाल टेलिकमको देखिएको छ ।

सरकारी स्वामित्वको संस्था हो भनेर यहाँ कार्यरत कर्मचारीले आएका गुनासोहरूलाई बेवास्ता गर्दा सेवा प्रवाहको गुणस्तरीयतामा कमी हुँदा नेपाल टेलिकमको सेवा लिने उपभोक्ता पनि निजी क्षेत्रको फोन सेवा प्रवाहमा आर्कर्षित भएर सेवाग्राही सर्ने क्रम बढेको छ ।

निजी क्षेत्रको प्रतिस्पर्धा झन् तीव्र भएको छ । लेनलाइनमा सेवामा सेवाग्राही सन्तोषजनक भए पनि फोन वाइफाईको सेवा प्रवाहमा सन्तोषजनक सेवा नपाएको गुनासो सेवाग्राहीको छ ।

सेल्स शाखामा गएर नेपाल टेलिकमको सेवा बारे बुझ्दा सेवाग्राहीलाई राम्रो सँग बुझाउन नसक्ने, झर्किने, फर्किने जस्ता व्यवहारहरू सेवाग्राहीले खेप्दै आएका छन् ।

यसले गर्दा नेपाल टेलिकमले जति नै सेवा विस्तार गरे पनि यसको गुणस्तर उपभोक्ताले सहजै उपभोग गर्न पाइरहेका छैनन् । त्यसैले यसबारेमा पनि सम्बन्धित निकायको ध्यान जान अत्यन्तै जरुरी छ ।