विराटनगर : अस्पतालको डिउटी सकेर घर फर्कँदै गर्दा विराटनगरमा प्रहरीबाटै स्वास्थ्यकर्मी कुटिएका छन् । गए राति साढे ९ बजे अस्पतालबाट घर फर्कँदै गर्दा सिनियर अहेब अशोक राजवंशी कुटिएका हुन् ।

मोटरसाइकलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुई जना प्रहरीले कुटपिट गरेको उनले बताए ।

‘ परिचय पत्र भिरेर डिउटीबाट घरजादा प्रहरीले बाटोमा रोक्नु भयो,’ उनले भने,‘ स्वास्थ्यकर्मी हुँ भन्दा भन्दै दुई जना प्रहरीले कुटपिट गरे ।’ प्रहरीले कुटपिट गरेका कारण राजवंशीको खुट्टा र घोडामा नीलडाम छ ।

स्वास्थ्यकर्मीको प्रदर्शन :
सहकर्मी कुटिएपछि विराटनगरमा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । आज कोसी अस्पताल विराटनगर परिसरमा प्लेकार्ड सहित कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले महामारीमा अग्रपङतीमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ज्ञारेन्टी गर्न माग गरे ।

चिकित्सक सङ्घ कोसीका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी कुटिएको विषय बाहिर आएपछि घटनाको छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

‘निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी खटिएका छन्, स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा हामी छानबिन गर्छौ,’ उनले भने,‘ महामारीमा स्वास्थ्यकर्मीको भूमिका उच्च छ ।’

Kutpit-2