धरान : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफ्नो गाउँपालिकामा कोरोना सङ्क्रमित भएकाहरूको हेरचाह सँगै उपचारमा २४ सै घण्टा खट्ने गरेका छन् ।

उनी गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन्। तर पछिल्लो समय आफ्नो गाउँपालिकामा कोरोना सङ्क्रमित बढ्न थाले पछि गाउँपालिकाको काम सँगै सङ्क्रमितहरूको हेरचाह र सेवामै समय बित्ने गरेको उनी बताउँछन्।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । धेरैको तारिफ पाएका छन् र धेरैले भनेका छन् स्याबास अध्यक्ष ज्यु ... जनप्रतिनिधि हुनु त यस्तो पो हुनु । भाइरल हुनु र स्याबासी पाउनुको मुख्य कारण उनी अहिले आफ्नो गाउँपालिकामा कोरोना सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल तथा आइसोलेसन सम्म लानको लागि आफै बिरामी बोक्छन् अनि आफूले प्रयोग गरेको गाडीमा चढाएर अस्पताल र आइसोलेसन सम्म पुर्याउछन् ।

उनी पिपिई सेट लगाएर समुदाय सम्म पुग्छन् र सङ्क्रमितसँग नजिकै पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गर्दछन्। अनि श्वासप्रश्वासमा समस्या देखिए तुरुन्त बोकेर गाडीमा राखेर उपचारका लागि दौडाइहाल्छन् ।

अध्यक्ष भूपेन्द्र राईको यस्तो उदाहरणीय कामले अहिले सामाजिक सञ्जालमा निकै वहवाही पाएको छ । मुलुकमा महामारीको बेलामा राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमा लागिरहेको बेलामा एउटा गाउँको जनप्रतिनिधिले यसरी एक्लै नमुना काम गरिरहेका छन् ।

अध्यक्ष राईले भने ‘हिजो मलाई मेरो पालिकाका जनताले अमूल्य मत दिए, यो महामारीमा म साथ दिन्छु ।’ विगतमा भोट दिनकालागि मतदातालाई डोकोमा बोकेर मतदानस्थल सम्म ल्याइयो आज कोरोना सङ्क्रमणबाट समस्यामा परिरहेको बेलामा किन सहयोग नगर्ने ? भन्दै उनले भने 'यो मेरो मात्रै होइन आम जनप्रतिनिधिको कर्तव्य हो। सबैले जनताको मतको सम्मान गरौँ ।'

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अहिले सम्म ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित दिनानुदिन बढिरहेका बेलामा पालिका आफैले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा केही स्वास्थ्यमा समस्या देखिएका सङ्क्रमितहरूलाई राखिएको छ । त्यहाँ २५ बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरिएको छ । आइसोलेसनमा एमबिबिएस डाक्टर सहित स्टाफ नर्सहरूले सेवा दिँदै आएका छन् ।

अध्यक्ष राईले प्रयोग गर्ने बा २ झ ३८४९ नम्बरको गाडी आफैँ हाँक्दै स्वास्थ्यकर्मीसँग समन्वय गरी गम्भीर खालका सङ्क्रमितको घर-घरमा पुगेर बिरामीलाई डोर्याउँदै, हिँड्न नसक्नेलाई बोकेर गाडीमा राखेर कोभिड आइसोलेसन पुर्याउछन् ।

होम आइसोलेसनमा बसेकामध्ये अहिलेसम्म दुई जनाको अध्यक्ष आफैले उद्धार गरेका थिए । डाँडा गाउँकी ४८ वर्षीया महिला र याम्खाकी ७४ वर्षीया वृद्धामा श्वासप्रश्वासको समस्या देखिएपछि उद्धार गरिएको उनले बताए। उद्धारमा दुई घण्टा ढिला गरिएको भए निकै ठुलो समस्या पर्ने स्वास्थ्यकर्मीले बताएको अध्यक्ष राईले बताए । अहिले उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

त्यस्ता सङ्क्रमित थपिने क्रम जारी रहेको र त्यसको सामना गर्न आफूहरू तयार रहेको अध्यक्ष राईको भनाइ छ । भाइरल हुनका लागि आफूले यस्तो नगरेको बताउँदै अध्यक्ष राईले भने ‘सङ्कटको घडीमा यो नसोचिदिन आग्रह गर्छु । यो बेला हामीले मोर्चा नसम्हाल्ने हो भने स्वास्थ्यकर्मी, नर्स, कर्मचारी, एम्बुलेन्स चालक, अन्य चालकको मनोबल गिर्छ। यो समय भनेको रिमोर्ट चलाएर बस्ने हैन सबै खट्नुपर्छ भन्ने हो। आफू कोठाभित्र बसेर यो गर, त्यो गर, भन्दै बस्ने हैन आफैँ अग्र मोर्चामा खटिने बेला हो यो ।’

सङ्क्रमितको उद्धार गर्दा नियमित रूपमा स्वास्थ्यमा आफूले ध्यान दिने बताउँछन् । आफू परिवारभन्दा छुट्टै बसेर उद्धार र उपचारमा लागिरहेको बताए । यो बेला को आत्तिएको छैन, को डराएको छैन तथापि, पनि हामी आतिनु हुँदैन भन्ने हो । उनले भने हामी नै आत्तिएपछि त सबै मान्छे आत्तिन्छन् । जुनसुकै लडाइँमा कमान्डरले कमान्ड सम्हालेन भने के अर्थ छ र ? उनी भन्छन् ।

अध्यक्षको यति बेलाको भूमिकालाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले पनि सक्दो साथ र सहयोग गर्दै आएकी छिन् । उनी पनि भन्छिन् ‘यतिबेलानै हो जनसेवा गर्ने । हामी आ-आफ्नो स्थानबाट सक्दो गरिरहेका छौ ।’’

यस्तो महामारीको बेलामा आफूले चुनेको एक जना जनप्रतिनिधिले यसरी काम गरेकोमा पालिकाबासी पनि निकै उत्साहित र खुसी छन्। उनीहरूले पनि आफ्नो मनोबल बढाएका छन्। कोरोना जित्ने अभियानमा एकजुट भएर लागिपरेका छन्।