धरान : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा धरानका नगर गौरवका आयोजनाहरू निकै प्रभावित भएका छन् ।

योजनाहरू तोकिएको मितिमा सम्पन्न नहुने भएका छन् । बहुवर्षीय योजनाहरूलाई भने खासै असर नपर्ने देखिन्छ तर चालू आर्थिक वर्षभित्र सक्नुपर्ने विकास निर्माणका कामहरू भने म्याद थप नगरी सम्पन्न नहुने देखिएको छ ।

धरान–१४ को विजयपुर चोकदेखि बुढासुब्बा मन्दिरसम्म पाँच सय मिटर लामो सडक निर्माणमा कोरोनाकै कारण समस्या देखिएको छ । यो सडकको निर्माण चालू आर्थिक वर्षमा सकिनुपर्ने हो ।

सडकको मापदण्डमा स्थानीयसँग विवाद भएपछि केही समय निर्माण रोकिएको हो । कोरोना महामारीले मजदुर नपाउँदा सो सडकको निर्माण कार्य चालू आर्थिक वर्षमा नसकिने भएको हो ।

स्थानीय अम्बिका श्रेष्ठको जग्गा हुँदै जाने सो सडक जग्गाधनीले मापदण्डअनुसार निर्माण हुन नदिएपछि निर्माण रोकिएको थियो तर अहिले विवाद मिलिसकेको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

जग्गाधनीसँग विवाद मिले पनि अहिले मजदुर नपाइएको आशीर्वाद निर्माण सेवा प्रालिका तीलविक्रम योङ्हाङले बताए ।

सो सडक निर्माणका लागि अढाई करोड रुपैयाँमा ठेक्का लागेको हो । तोकिएको समयमा सडक निर्माण सम्पन्न नहुने लगभग पक्का भएपछि म्याद थप गरेर निर्माणलाई निरन्तरता दिइने धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।

कोरोना महामारीमा पनि नगर गौरवका आयोजनाहरू बन्द भएनन्, जसोतसो सञ्चालन भइरहे । चालू आर्थिक वर्षमा सकिने योजनाहरूलाई महामारीले असर गरे पनि बहुवर्षीय योजनाहरूलाई भने खासै असर नगरेको इन्जिनियर श्रेष्ठको भनाइ छ ।

नगर गौरवका आयोजनाहरू 
नगर गौरवका धेरैजसो आयोजनाहरू बहुवर्षीय छन् । मजदुर व्यवस्थापन गर्न नसक्दा मध्यम खालका बहुवर्षीय योजनामा थोरै असर भए पनि ठुला आयोजनामा भने खासै असर देखिएन ।

गौरवका आयोजनामध्ये खहरे कोरिडोरको काम धमाधम चलिरहेको छ । सो आयोजनामा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले जनाए । अर्को आर्थिक वर्षसम्ममा निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौताअनुसार धरान–१६, ८ र १९ नम्बर वडामा काम भइरहेको उनले बताए ।

Nagar-Gaurab-aayojana-3

करिब ५ करोड रुपैयाँमा ठेक्का लागेको सो कोरिडोरको काम यही अवस्थामा अघि बढे समयभन्दा अघि नै सकिने वरिष्ठ इन्जिनियर श्रेष्ठको दाबी छ ।

चतरा लाइन सडक पनि नगर गौरवको आयोजना हो । अहिले चतरा लाइनको स्वस्तिका चोकदेखि मङ्गलवारेसम्म धमाधम काम भइरहेको छ । करिब १३ सय मिटर लम्बाइको सो सडक ६ करोड ३५ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

यो आयोजना ढिलो गरी ठेक्का लागेकोले आगामी आर्थिक वर्षसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ५० फिट चौडाइ हुने सो सडकमा अहिले धमाधम ड्रेन निर्माण भइरहेको छ ।

नगर गौरवको अर्को आयोजना धरान–३ को चिनियाँ चोकदेखि सदन स्कुल मास्तिरसम्मकोे चार सय मिटर लामो सडक पनि हो । सो सडक अ२ करोड ३१ लाख रुपैयाँमा ठेक्का लागेको छ ।

यो सडकको पनि लगभग ३० प्रतिशत काम सम्पन्न भइसकेको भूमि स्वामी नारायण जेभिका महेन्द्र प्रधानले बताए । सो सडकमा ड्रेन खन्ने काम एकातिरको सकिएको छ थप निर्माण कार्य भइरहेको छ । यो आयोजनाको म्याद पनि आगामी आर्थिक वर्षसम्मको रहेको छ ।

यस्तै, नगर गौरवकै अर्को आयोजना धरान–१५ र धरान–४ जोड्ने सेउती खोलाको पुल पनि हो । २ करोड २५ लाख रुपैयाँमा ठेक्का लागेको पुलको निर्माण कार्य पनि ८० प्रतिशत पूरा भएको इन्जिनियर श्रेष्ठले बताए ।

यो पुल खाम्पाछे निर्माण सेवाले ठेक्का लिएको हो । अर्को आर्थिक वर्ष सम्ममा सकेर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । तर पुल चाडैनै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको इन्जिनियर श्रेष्ठले बताए ।

निर्माण सामग्री ढुवानी र खरिदमा समस्या 
विभिन्न आयोजनाका लागि चाहिने सामग्री खरिद र ढुवानीमा कोरोना महामारीका कारण समस्या भएको निर्माण व्यवसायीहरूको गुनासो छ ।

सरकारले विकास आयोजनाका सवारी साधन र मजदुरहरूलाई निर्बाध आउजाउ गर्न दिने जनाए पनि स्थानीय स्तरमा प्रशासनले अवरोध गर्दा मजदुर अभाव हुने गरेको आशीर्वाद निर्माण सेवा प्रालिका तीलविक्रम योङहाङ बताउँछन् ।

Nagar-Gaurab-aayojana-2

यति मात्र होइन, निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ । निर्माण सामग्री बोकेका सवारी साधनहरू निर्बाध रूपमा चल्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । ‘यसले गर्दा निर्माण कार्यमा ढिलाइ हुने समस्या सिर्जना भएको छ ।’ योङहाङले भने ।

यसै गरी निर्माण सामग्री खरिदमा पनि समस्या भएको छ । महामारी नियन्त्रणका लागि प्रशासनद्वारा जारी निषेधाज्ञाका कारण हार्डवेयर पसलहरू खुल्ला नहुनु र पसलहरूमा आवश्यक मात्रामा सिमेन्ट र छड नपाइनुले पनि निर्माणमा समस्या हुने गरेको भूमि स्वामी नारायण जेभिका महेन्द्र प्रधानको भनाई छ ।

सामान पसलमा नपाइँदा प्रतिकेजी ७१ रुपैयाँमा पाइने छड प्रतिकेजी सय रुपैयाँमा समेत नपाइएको र पाइए पनि महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको प्रधानले भने ।

कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेको बेलामा नगर गौरवका आयोजनाहरूलाई निर्बाध रूपमा सञ्चालन गर्न र गराउन स्थानीय तहहरूले प्रशासनसँग समन्वय गर्नुपर्ने देखिन्छ ।

निर्माण मजदुरहरूको आउजाउमा समस्या नहुने गरी परिचयपत्रको व्यवस्था तथा प्रहरी–प्रशासनसँग समन्वय गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विकास निर्माणमा निरन्तरता दिनुपर्ने देखिन्छ । यसो हुन सके बन्दाबन्दी र निषेधाज्ञा भए पनि यस्ता आयोजनाहरू सहजै सम्पन्न हुनेछन् ।

Nagar-Gaurab-aayojana-1