इटहरी : अविरल वर्षाको कारण पूर्व तराईका जिल्लाहरूमा डुबान र कटानको खतरा बढ्दै गएको छ । नदिको बहाव उच्च हुँदा कटान तीव्र हुन थालेको हो। पूर्वी तराईका मुख्य सहरहरू डुबानको खतरामा परेका छन।

दुई दिन देखीको अविरल वर्षाको कारण इटहरी, बिर्तामोड, दमक, इनरुवा धुलाबारी लगायत सहरहरू डुबानमा परेका छन् । विकासका नाममा जथाभाबी भौतिक संरचना निमार्णको कारण खोला तथा पैनी बन्द हुँदा बर्सेनि डुबान हुने गरेको छ।

बाढी, कटान र डुबानको उच्च जोखिममा रहेको पूर्वी तराइका जिल्लाहरूमा विपत् व्यवस्थापनको तयारी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालयहरूको दाबी छ। जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय पालिका सँगको समन्वयमा तयारी अगाडी बढाएका हुन्। झापा, मोरङ र सुनसरी जिल्लामा विपत् व्यवस्थापन समितिको बैठक बसेर पालिकाहरूलाई सुरक्षा उपकरण तयार पार्न आग्रह गरेका छन्।

झापा जिल्ला विपत् व्यवस्थापनको बैठकले हरेक पालिकालाई उद्धार तथा राहतमा तयारी अगाडी बढाउन भनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

प्रदेश सरकारले उपलब्ध गराएको रबर बोटले काम नगर्ने अवस्थामा मोटर बोट कम्पनी संगपनि समन्वय भइरहेको उनको भनाई छ । बाढी पीडितलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आए सामुदायिक भवन वा विद्यालयमा राख्ने गरी व्यवस्था मिलाइएको तिम्सिनाले बताए।

duban-2

झापामा मेची, कनकाई, बिरिङ, कमल, रतुवा लगायत खोलाले डुबान गर्ने गरेका छन् । झापा, गौरीगञ्ज, बाह्रदसी गाउँपालिका तथा शिवशताक्षी र कनकाई नगरपालिकामा बढी क्षति हुने गरेको छ।

इलामबाट बगेर आउने खोलाहरूले बढी समस्या पर्ने भएकोले पूर्व सूचनाको लागी समन्वयको काम भइरहेको प्रजिअ तिम्सिनाले बताए । यस बिचमा जनताको तटबन्ध कार्यक्रमले कटान केही नियन्त्रणमा आएको भए पनि बजेट अभावको कारण पूर्ण समाधान भने नभएको उनको भनाई छ।

पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकोले सम्भावित सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए । तिन वटै सुरक्षा निकाय सँग समन्वय भइरहेकोले उद्धारमा ढिला हुन नदिने प्रतिबद्धता जनाए ।

झापामा जस्तै प्रत्येक पालिकालाई उद्धार तथा राहतको लागी सामग्री तयारी पार्न आग्रह गरिएको उनको भनाई छ। मोरङमा रतुवा, लोहोन्द्रा, बक्राहा र गछिया खोलाले धेरै क्षति गर्दै आएको छ। नदी किनार आसपास भौतिक संरचना निर्माण भएकाले नदी थुनिएर बढी क्षति हुने गरेको प्रजिअ निरौलाले बताए।

सुनसरीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उद्धार तथा राहतको लागि गोताखोरसहित विशेष टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले सुरक्षा निकायहरू (नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी)ले खोज, उद्धार तथा राहत कार्यको लागि विशेष टोली परिचालन गर्ने निर्णय गरेको हो।

सुनसरीका १२ वटै स्थानीय तहले आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। रबरको बोट एक थान, लाइफ ज्याकेट ५० थान, मेन डोरी ४/५ रोल, क्यारेबेना हुक १० थान, स्ट्रेचर ४ थान र रेस्क्यु ट्युब ५० थान तयारी अवस्थामा राख्न भनिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

पीडितलाई तत्काल आवास उपलब्ध गराउन प्रत्येक स्थानीय तहले कम्तीमा २ वटा अस्थायी आश्रय स्थलको व्यवस्थापन गर्नुपर्ने भएको छ । राहतको लागी स्थानीय सङ्घसंस्था सँग समन्वय गरी अगाडी बढ्न पालिकाहरूलाई निर्देशन दिइएको उनको भनाई छ ।

रेडक्रसलगायत गैरसरकारी संस्थालाई उद्धारमा सहयोग माग्ने र तत्काल राहतको लागि आवश्यक टेन्ट, त्रिपाल, म्याट्रेस, कम्बल, भाँडाकुँडालगायत सामग्री प्रबन्ध गर्ने निर्णय गरिएको उनले सुनाए।

पूर्वी तराईका जिल्लाहरूमा डुबान र कटानको समस्या तीव्र हुने गरेको छ । मनसुन सुरु भएसँगै खोलाको बहाव बढ्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष अत्याधीक मनसुन हुने भएको छ।

Duban
फायल तस्बिर