इटहरी : नेपाली राजनीतिका बदनाम खेलाडीको रूपमा चिनिएका विजयकुमार गच्छदार नेपाली काँग्रेस उपसभापतिमा पराजित भएका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार भएका उनी शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङ सँग २ मतले पराजित भएका हुन् ।

पराजित भएसँगै गच्छदारका राजनैतिक शक्ति कमजोर बनेको छ । यसअघि काङ्ग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको अध्यक्ष भएका १३ औँ महाधिवेशन लगत्तै पुनः काँग्रेस प्रवेश गरेका थिए । मनोनीत उपसभापति भएका उनी निर्वाचनमा पराजित भएका हुन् । १४ औँ महाधिवेशन अन्तरगत क्षेत्र र जिल्लाको अधिवेशन देखी नै उनी कमजोर साबित हुँदै गएका थिए । क्षेत्रीय अधिवेशनमा आफ्नो पक्षको उम्मेदवारलाई सर्वसम्मत गराउन लागी परे । १५ दिनसम्म घरमा कार्यकर्ता भेला पारेका उनले अन्ततः दुवै टिमको सहमतिमा निर्वाचन गराए । पछिल्लो समय निक्कै हताश देखिएका गच्छदार पालिका अधिवेशन देखी नै कमजोर अवस्थामा देखिएका उनी केन्द्रीय महाधिवेशनमा आफै पराजित भएका हुन् ।

सधैँ सत्ता राजनीतिमा मरिहत्ते गर्ने उनी जति पटक सरकारमा गए बदनाम मात्रै भए । ललिता निवास प्रकरणमा जोडिएपछि लामो समय हराएका उनी काँग्रेस सरकार आएपछि पुनः बाहिर देखा परेका हुन् । पछिल्लो समय गुन्डा नाइके गणेश लामालाई मुख्य सहयोगी बनाउँदै पार्टीको शक्तिमा फर्कन उनले शेरबहादुर देउवालाई साथ दिँदै आफू उपसभापति र लामालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाए ।

२०६४ को संविधान सभाको निर्वाचनमा आफूले सिफारिस गरेकाहरूले टिकट नपाएपछि उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरम टुक्रा-टुक्रा भएर कमजोर भएपछि उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए। २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछि उनी पुन: काङ्ग्रेसमै फर्किए । २०७४ असोज २९ मा फोरम लोकतान्त्रिक र काँग्रेस बिच एकता भएपछि उनी उपसभापति र संसद्को उपनेता भए ।

सत्तामा माहिर

२०२६ सालदेखि नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी उपप्रधानमन्त्री समेत भए । सुनसरी ३ बाट बारम्बार निर्वाचित भए । २०७४ को निर्वाचनमा निक्कै विवादका बिच एमालेकी उम्मेदवार भगवती चौधरीलाई हराएका थिए ।

२०४८ बाटै निरन्तर सत्तामा रहेका उनी अहिलेसम्म १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भइसकेका छन् । २०४८ मा सञ्चार राज्यमन्त्री, २०५२ निर्माण तथा यातायात मन्त्री, २०५४ निर्माण तथा यातायात मन्त्री, २०५५ निर्माण तथा यातायात मन्त्री, २०५६ पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए ।
२०५६ मा जलस्रोत मन्त्री, २०५८ मा पुन जलस्रोत मन्त्री, २०६५ मा भौतिक योजना तथा निर्माण मन्त्री, २०६६ मा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री, २०६८ मा उपप्रधान तथा गृहमन्त्री, २०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री भएका थिए।