झापा : कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा पनि देखिएपछि नागरिकमा त्रास थपिएको छ । कोभिड महामारीका कारण त्राहिमाम बनेका नेपालीले जेनेतेने कोभिड विरुद्धको भ्याक्सिन लगाएर सुरक्षित रहन सकिन्छ भन्ने आशा गरेका थिए ।

तर कोभिडको नयाँ भेरियन्ट देखिएपछि नागरिकमा थप त्रास बेढेको छ। लामो समय कोभिडका कारण शिथिल बनेको नागरिकको दैनिकी बिस्तारै सहजता तर्फ उन्मुख थियो। कोभिडको सङ्क्रमण कम हुँदै गएपछि नागरिकको दैनिकी पुरानै लयमा फर्कँदै गएको थियो । तर, पुनः नयाँ सङ्क्रमण देखिएपछि आम नागरिक त्राहिमाम् अवस्थामा पुगेका छन् ।

अहिले पनि कोरोनाको जोखिम उत्तिकै छ। कोरोना सङ्क्रमणको सम्भावना हटिसक्यो भन्दै निस्फिक्री ढङ्गले हिँड्न सक्ने अवस्था बनिसकेको छैन। कोरोनाको जोखिमबाट बच्न अधिकांशले मास्क लगाएको देखिन्छ । तर सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले गर्ने मापसे चेकको बेलामा मास्क खोलेर ब्रेथलाइजरमा फुक्नु साह्रै जोखिमपूर्ण हुन सक्ने बताइएको छ।

सवारी चालकलाई चेक गरिने ब्रेथलाइजरलाई कुन बेला निर्मलीकरण गर्न भ्याइएला ? अनि कहिले र कसरी गरिएको छ भन्ने प्रश्न उठ्न थालेको छ। अहिले त्यही प्रश्न सवारी चालकहरूलाई पिरोलेको हो । त्यसै कारण कोरोनाको जोखिम पनि यसबाट उच्च हुने चालकहरूको भनाइ छ।

मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर जाँच गर्ने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीको भनाइ छ। मापसे चेक गर्ने क्रममा ट्राफिक प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ। ब्रेथलाइजरमा सामान्य दूरीबाट चालकलाई फुक्न लगाएर मापसे चेक गरिन्छ।

मापसे गरे वा नगरेको सडकमा छुट्याउने अन्य विधि नभएकाले ब्रेथलाइजरको प्रयोग गर्नुपरेको ट्राफिक प्रहरीले बताएको छ। ब्रेथलाइजर प्रयोग गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दाबी ट्राफिक प्रहरीको छ।

ट्राफिक प्रहरीका अनुसार ब्रेथलाइजरलाई निर्मलीकरण गरेमा मदिरा सेवन गरेको वास्तविक अवस्था देखिँदैन। त्यसैले ब्रेथलाइजरको पाइप निकालेर फाल्ने गरिएको ट्राफिक प्रहरीको दाबी छ।