धरान : पछिल्लो समय मौसम परिवर्तन भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ ।

चाप बढेकै कारण अहिले प्रतिष्ठानमा बिरामीले सहज रूपमा उपचार गर्न कठिनाइ भएको छ । यो मौसम परिवर्तन सँगै सुख्खा याम सुरु भएसँगै पानीमा दूषित पदार्थ बढी हुने, ६० प्रतिशत बिरामी चिसोकै कारण निमोनिया, भाइरल बिरामी भएर उपचारका लागि अस्पताल आउने गरेको पाइएको छ ।

ज्वरो अत्यधिक आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका जोर्नी दुख्ने, कमजोरी हुने, रिङ्गटा लाग्ने कसै कसैलाई वान्ता समेत हुने बिरामीहरू उपचारमा आउने गरेको चिकित्सकहरू बताउँछन् । यो मौसममा घाटी खस खस गर्ने र खोकी ज्यादा लाग्ने लगायतका समस्या बढी हुने गरेको चिकित्सकहरू बताउँछन् ।

गर्मी सकिएर जाडोको मौसम आएसँगै विशेष गरेर बच्चा र बृद्धबृद्धाको चाप अत्यधिक भएको प्रतिष्ठानका चिकित्सक बताउँछन् । चिसोका कारण बच्चामा निमोनिया तथा बृद्धबृद्धामा श्वासप्रश्वासको समस्या देखिने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन ओपिडीमा उपचारार्थ चिकित्सहरुको भनाई छ ।

चिसोकै कारण विगतको तुलनामा अहिले बच्चा वार्डमा धेरै बच्चाहरू निमोनिया, भाइरल ज्वरोका कारण आउने गरेको प्रतिष्ठाका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंह बताउँछन् । यो समयमा बच्चाको स्याहार सुसारमा विशेष ध्यान दिनुपर्ने डा. सिंहको भनाई छ । मौसम परिवर्तनको समयमा बच्चाहरूमा रुघा खोकी, दम, भाइरल ज्वरो, हेपाटाइटिस ए, म्यादी ज्वरो सँगै डेंगु पनि हुन सक्ने भएकोले बालबालिकाको हेरचाहरमा विशेष ध्यान पुर्‍याउनुपर्ने उनको सुझाव छ ।

यति बेला प्रतिष्ठानमा दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर ३ हजारसम्म पुगेको विल काउन्टरमा काम गर्ने कर्मचारीहरू बताउँछन् । यसमा पनि ७० प्रतिशत बिरामी बच्चा र वृद्धा हुने गरेको उनीहरूको भनाई छ । अत्यधिक भीडकै कारण उपचारमा आउनेहरूलाई समस्या हुने गरेको छ ।

गर्मीबाट जाडो प्रवेश गर्ने होस वा जाडोबाट गर्मी प्रवेश गर्ने समय होस् यो मौसममा भाइरल रुघामर्गीका बिरामीहरू बढ्ने गरेका छन् । यो मौसममा विशेष गरेर निमोनिया, रुघा खोकी, श्वासप्रश्वास समस्या बढी हुने गरेको चिकित्सकहरू बताउँछन् । यसबाट बच्च सावधानीबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाई छ ।