धरान : नक्कली मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौँ पर्ने जग्गा हडप्ने प्रयासको विरुद्धमा आज धरानमा बृहत् जागरण जुलुस निस्किएको छ ।  

महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिले आयोजना गरेको सो जुलुस क्याम्पस प्राङ्गणबाट सुरु भई छाताचोक, सिंहदेवी चोक हुँदै भानुचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

भानुचौकको विरोधसभालाई सम्बोधन गर्दै महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ  समितिका संयोजक तथा पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाको हातमा पर्न नदिन भुमाफिया विरुद्धको आन्दोलन जारी रहने बताए । धरानमा महेन्द्र बहुमुखी क्याम्पसको जग्गा मात्रै होइन अरू पनि सार्वजनिक जग्गा र सम्पत्तिहरू हडपिएको बताउँदै यस विरुद्धमा धराने जनता सधैँ अघि बढ्नु पर्ने उनले बताए । 

यसै गरी विरोध सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बुले धरानको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाले हडप्न खोज्नु भनेको धरानका केही नेतृत्वहरूको कारणले भएको बताए । क्याम्पसको जग्गा हडप्न नक्कली मोही खडा गरेर दिवा सपना देखेको छ त्यो हामी कदापि पुरा हुन दिँदैनौ भन्दै उनले भने – धरानका राजनीतिक दलहरू र धरानेहरु जागेका छन् । धरानका भुमाफियाहरुको क्रियाकलापलाई निस्तेज पारिनेछ । 

कार्यक्रममा नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति श्याम पोखरेलले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा तत्कालीन कार्यवाहक मेयर र वडाध्यक्षबाट सिफारिस दिने काम भएकाले त्यहीबाट क्याम्पसको जग्गामा गिद्दे नजर लागेको बताए । तत्कालीन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर र वडाध्यक्ष देखि सिंहदरबार सम्मको सेटिङले गर्दा महेन्द्र क्याम्पसको जग्गा हडप्ने प्रयास भएको बताउँदै पोखरेलले भने 'नेपाली काँग्रेस धरानका नकाबधारी भुमाफिया विरुद्ध सधैँ अगाडी रहनेछ ।' 

यसै गरी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपाल सुनसरी अध्यक्ष अमर इजमले धरानमा पछिल्लो समय सार्वजनिक जग्गाहरू मठ मन्दिर र शैक्षिक क्षेत्रहरूमा भुमाफियाले जग्गा हडप्न खोजिरहेको बताउँदै उनले भने -'महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा भुमाफियाले गिद्दे नजर लगाएर गलत ठाउँमा औला लगाएका छन्,माछा सम्झेर हात हाले तर त्यो भित्र गोमन सर्प छ खबरदार !' 

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । मोही परिवारलाई खुसी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालीन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले क्याम्पसलाई पटक पटक बताउँदै आएका छन् । स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भुमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको देखिएको छ ।

मोही घिमिरेको २०५६ सालमा नै निधन भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पतीको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर  मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो । त्यस विरुद्ध क्याम्पस प्रशासनले पुस १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन समेत गरेको छ ।

MMC-Julus