धरान : उत्पीडित जनसमुदायसम्मको पहुँचमा हाम्रो सुदृढ पत्रकारिता भन्ने मूल नाराका साथ व्यावहारिक अभ्यास सहित प्रभावकारी पत्रकारिता तालिम धरानमा सुरु भएको छ ।

प्रबोध साप्ताहिक पत्रीका र चिसेफायु मिडियाको संयुक्त आयोजनामा शुक्रवार देखी धरान ३ स्थित चौबीसे समाजको भवनमा सुरु भएको छ । तालिममा १८ वर्ष उमेर देखि ५६ वर्ष उमेरका धरान १७ का गणेशकुमारी राईको पनि सहभागिता रहेको छ ।

तालिममा १५ जना सहभागी रहेका छन् । तालिममा धरान भित्र रहेका विभिन्न जातीय संस्थाबाट सहभागी रहेका छन् । जसमा याक्खा,देवान,मगर,सुनुवार,शिङ्सा,शेर्पा,दलित (शिल्पी),राई लगायत सामुदायिक संस्थाबाट सहभागी रहेका छन् ।

उत्पीडित जनसमुदायमा पत्रकारिता सिकाउने उद्देश्यले गरिएको उक्त तालिमको पहिलो दिनको प्रशिक्षकको रूपमा ब्लाष्ट टाईम्स दैनिकका पत्रकार भोजराज श्रेष्ठले प्रशिक्षण दिएका थिए । शनिवार अग्रज पत्रकार हर्ष सुब्बाबाट प्रशिक्षण दिइने छ । आइतबार उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिनेछन् । त्यसै गरी आइतबार चौथो दिन प्रबोध साप्ताहिकका सम्पादक लम्जेल सङ्घर्षशीलले प्रशिक्षण दिनेछन् ।

सैद्धान्तिक प्रशिक्षण पछि व्यावहारिक रूपमा सैद्धान्तिक कक्षा लिएका आधारमा फिल्डमा खटाई समाचार सङ्कलनमा खटाइनेछ । व्यावहारिक अभ्यास पछि २१ गते शनिवार औपचारिक रूपमा तालिम समापन हुनेछ ।

कक्षा सञ्चालन अघि एक कार्यक्रममको आयोजना गरी तालिमको विधिवत् उद्घाटन गरिएको थियो । प्रबोध साप्ताहिक पत्रीकाका प्रधान सम्पादक प्रकाशक जमुना श्रेष्ठको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष जङ्ग पुत्लुहाङ देवान, किरात देवान समाज केन्द्रीय अध्यक्ष गणेशकुमार देवान, नेपाल मगर सङ्घ धरानका अध्यक्ष चित्रराज थापामगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षणको क्रममा पत्रकारिता अनुभव आदानप्रदान अन्तर्गत डब्ल्यु डब्ल्यु जे सुनसरी अध्यक्ष तथा दिव्य रोशनी साप्ताहिकका सम्पादक प्रकाशक मनिता चाम्लिङले आफ्नो अनुभव बाँडेका थिए ।