धरान : रोटरी क्लब अफ धरान घोपाले धरान क्षेत्रमा रहेका ४९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्त्व 'भिटामिन डी'को खोप लगाउने भएको छ। 

शनिवार मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेडको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा विशुद्ध सामाजिक सेवा संलग्न क्लबले  धरानका ४९ वटा सामुदायिक विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई निः शुल्क 'भिटामिन डी' को खोप लगाउने कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।

रोटरी क्लब अफ धरान घोपाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका विशेषज्ञ डाक्टरहरूको सहकार्यमा यो कार्यक्रम गर्न लागेको जानकारी दिएको छ। सम्पन्न तथा विपन्न सबै परिवारका सदस्यहरूमा 'भिटामिन डी'को कमी भएको तथ्याङ्क आएको हुनाले धरानका विद्यार्थीलाई 'भिटामिन डी' को इन्जेक्सन दिने कार्यक्रम सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष रोटेरियन तुलसी प्रसाद वस्तीले बताए । 

'धरानमा कक्षा १० सम्ममा लगभग १२ हजार विद्यार्थीहरू छन् सो मध्ये ७५ प्रतिशत विद्यार्थीहरूलाई मात्र पनि ९ हजार डोज भिटामिन आवश्यकता पर्छ, जसको लागत ६ लाख ५० हजार बढी हुन्छ। हामीले क्लबमा पनि सदस्यहरू सँग स्वइच्छाले सहयोग सङ्कलन गरिरहेका छौ, जसमा मितेरी बैङ्कले पनि आर्थिक सहयोग गर्ने छ। सबै विद्यालयलाई पत्र पठाइसकेका छौ। विद्यालयबाट अभिभावक सँग पनि सोधपुछ गर्नुहुन्छ त्यसपछि हामी काम सुरु गर्छौ, १ महिनामा हामी सबै विद्यालयमा भिटामिन डी लगाइसक्छौ' अध्यक्ष भने । 

बिपी प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ प्रा.डा.विक्रम प्रसाद श्रेष्ठ अनुसार विभिन्न समयमा गरिएका अध्ययनले हाल विश्वव्यापी रूपमै 'भिटामिन डी'को अपर्याप्तता र कमी देखाएको र यसको कमीले विभिन्न अङ्गमा पर्ने प्रभावबारे पनि उजागर हुँदै आएको बताए। 'हाल 'भिटामिन डी'को परीक्षण सजिलैसँग गर्न सकिन्छ र कमी देखिएमा यसको उपचार गर्न गाह्रो छैन। यदि, हामी पर्याप्त रूपमा घामबाट भिटामिन ‘डी’  पाउँदैनौँ भने औषधि सेवन गरी वा इन्जेक्सनका माध्यमबाट शरीरमा यसको मात्रा सामान्य अवस्थामा ल्याउन सकिन्छ। परिपूर्ति गरिसकेपछि 'भिटामिन डी'सही भए-नभएको कुरा पुनः जाँच गर्दा थाहा हुन्छ' उनले भने

'भिटामिन डी' जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि लगाउन सक्ने र एक पटक लगाएको डोजले ६ देखी एक वर्ष सम्म काम गर्ने उनले बताए। 'अहिले हामीले ३ हजार भिटामिन डी मगाएका छौ वीरगन्ज आइसकेको छ, जहाँ विद्यार्थीको सङ्ख्या कम हुन्छ त्यही विद्यालयबाट भिटामिन ‘डी’ डोज सुरु गर्छौ। निजी विद्यालय र अन्य शिक्षकहरूले पनि भिटामिन  डिको खोप लगाउन इच्छा भएका १ सय रुपैयाँका दरले लगाइदिन्छौ' श्रेष्ठले भने।

'भिटामिन डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरिक समस्या निम्तिन सक्छ। 'भिटामिन डी'को कमीले बालबालिकाको हातखुट्टा बाङ्गिने समस्या हुन्छ। यसको कमीले विभिन्न किसिमका सङ्क्रामक रोग पनि लाग्न सक्ने भएकाले ६/६ महिनाको अन्तरालमा भिटामिन परीक्षण गरेर  लगाउन र स्वास्थ्यको ख्याल गर्न  श्रेष्ठले आग्रह गरे ।