धरान : स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा सुरु भए देखिनै देशैभर राजनीतिक चहलपहल सुरु भइसकेको थियो ।

वैशाख ३० गते निर्वाचनको मिति सरकारले तोकेपछि राजनीतिक दल आफूले जित निकाल्ने उम्मेदवार चुन्न छलफल र बहस गर्न थाले । मनोनयनको समय गुज्रिन लाग्दा सम्म पनि उम्मेदवारको टुङ्गो लगाउन नसकी रहेको राजनीतिक दलहरूलाई एक जना मान्छेले एक्लै चुनौती दिइरहेका थिए । धरानका विभिन्न चौक र गल्ली अनि बस्तीमा एक्लै हेण्ड माइक बोकेर एउटा ट्याम्पोमा साउन्ड सिस्टम बोकेर एक्लै भाषण गर्दै गरेका हुन्थे ।

धेरैले के अडकल गर्थे भने यिनको मेयर बन्ने रहर भन्दै खिसी टिउरी पनि गर्थे । आफूलाई राजनीतिक विश्लेषक भन्नेहरूले २,४ सय भोट ल्याउला भन्ने विश्लेषण गर्थे । तर उनले धरानमा अन्ततः मेयरमा धराने जनताको अभिमत जिते र भारी मतान्तरले विजयी बन्न सफल भए स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ । 

निर्वाचन पूर्व आफूलाई ठुलो दल ठान्ने राजनीतिक दलहरूले निकै गज्जबको तामझामका साथ सभा सम्मेलन गर्दै मानव सागर ओराल्ने होडबाजी गर्दै चुनाव प्रचार प्रसार गरे । तर हर्क साम्पाङले एक दुई जना आफ्नो समर्थकका साथ आफै प्रतिबद्धता पत्र बाँड्दै आफू पुग्न सकेका स्थानहरूमा पुगेर मत मागे । वैशाख ३० गतेको मतदान पछि पनि हर्कलाई राजनीतिक दलहरूले थोरै पनि पत्याएका थिएनन् ।

अन्तिममा नपत्याउने खोलाले बगाउँछ भन्ने कुराको अहानलाई हर्कले चरितार्थ सिद्ध गरे । देशकै शक्तिशाली ठुलो दल भनिएको नेकपा एमालेका मञ्जु भण्डारी भन्दा बढी मत प्राप्त गरेर निकै चर्चा पाए । मतगणनाको मध्यतिर आइपुग्दा हर्क साम्पाङ पहिलो स्थानमा पुगेपछि भने कमजोर सम्झिने राजनीतिक दलिरुनै हर्क साम्पाङसंग झस्किए ।

अन्तिम परिणाम सम्म आई पुग्दा २०८२१ मत प्राप्त गरेर धरानको निर्वाचित मेयरमा आफ्नो नाम दर्ज गर्न सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी ४ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले १६०६९ मत मात्रै प्राप्त गरे भने उनी भन्दा ४७६२ मतान्तरले साम्पाङ विजयी बने । उता नेकपा एमालेकी मेयरका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले भने १२८२५ मत मात्रै प्राप्त गरिन् । 

उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले पनि २०५१० मत प्राप्त गरेर विजयी बने । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम इस्बो लिम्बुलाई २९०४ मतले पछि पारे । लिम्बुले १७६०६ मत मात्र प्राप्त गर्न सफल भए । 

धरानमा यस पटक राजनीतिक दलहरूले निकै राम्रो मुद्दा समेटिएका मोटा र धेरै पन्ना भएका घोषणा तथा प्रतिबद्धता पत्रहरू सार्वजनिक गरे । तर हर्क साम्पाङले ४ पन्नाको १७ बुँदे अपिल तथा प्रतिबद्धता पत्र सार्वजनिक गरे । धराने जनताले त्यही प्रतिबद्धता पत्रलाई विश्वास गरे र धराने जनताले हर्क साम्पाङलाई रोजे । 

हर्क साम्पाङको अपिल तथा प्रतिबद्धता पत्रमा धराने जनताको समस्या र मुद्दालाई यसरी समेटिएको थियो । 

हर्क साम्पाङको अपिल तथा प्रतिबद्धता पत्र :  

Harka-Pratibaddata-1Harka-Pratibaddata-2

Harka-Pratibaddata-3Harka-Pratibaddata-4