दमक : ठेक्का लिएर नदी तटबन्धको काम अघि नबढाउने निर्माण व्यवसायीलाई तत्काल काम अघि बढाउन लगाउन माग गर्दै दमक नगरपालिकाको टोली जलस्रोत तथा सिँचाइ विभाग पुगेको छ । रतुवा तथा मावा नदीमा तटबन्धका लागि ठेक्का लागे पनि काम अघि नबढेको भन्दै टोली गुनासो बोकेर विभाग पुगेको हो । 
दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, नेकपा माओवादी नेता गगन पुरी, रवि बस्नेतसहितको टोलीले विभागका आयोजना निर्देशक रूक्मागत खनाललाई भेटेर गुनासो गरेको हो । एसियाली विकास बैङ्कको अनुदान सहयोगमा दमक, कमल, गौरादह, उर्लाबारीलगायतको पालिकामा पर्ने गरी रतुवा र मावामा विभिन्न ठाउँमा करिब १२ किलोमिटर तटबन्ध गर्न ०७८ जेठमा ठेक्का लागेको थियो । 
७० करोड ४६ लाखमामा एचजेडएमसी-मैनाचुली-रोशन जेभीले निर्माण सम्झौता गरेका थिए । स्थानीय भएका कारण यसो निर्माणको जिम्मा मैनाचुलीले लिएको छ । यसका निर्माण व्यवसायी मदन अधिकारी हुन् । उनी दमक नगरपालिकाकी पूर्वउपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । शक्ति र सत्तासँग नजिक भएकै कारण उनी काममा अटेरी गर्दै आएका थिए । 
उक्त निर्माण कम्पनीले मोबिलाइजेसन खर्च भनेर ३ करोड रकम पनि लगिसकेको छ । तर, काम भने हालसम्म सन्तोषजनक छैन । समयमा काम नगर्दा नदी बस्तीतिर पसिरहेको दमक नगरपालिकाका प्रमुख राम थापाले बताए । ’ठेक्का लिने काम, नगर्ने प्रवृत्तिले जनता आक्रान्त छन् । तटबन्धको ठेक्का लागे पनि काम नहुँदा बस्तीमा नदी पसेको छ । घरभरि पानी पसेको छ,’ उनले भने ,’हामीले बाँसको अस्थायी बाँधमा करोडौँ खर्च गरेका छौँ तर यो दिगो भएन ।’ थापाले विभागसँग तत्काल काम अघि बढाइदिन निर्माण व्यवसायीलाई आग्रह गरिदिन विभागसँग अनुरोध गरे । 
उपप्रमुख भट्टराईले जनताको नजिकको सरकारका प्रतिनिधि भएकाले जनताका गुनासा आफूहरूसम्म आइपुग्ने गरेको बताइन । निर्माण व्यवसायीले काम नगर्दा बस्ती डुबिरहेको उनको भनाइ छ । माओवादी नेता पुरीले समयमा तटबन्ध नभए नदी कटानका कारण ठुलो क्षति हुने बताए । 
विभागका आयोजना प्रमुख खनालले गत आर्थिक वर्षमा एडिबीको उक्त प्रोजेक्टका लागि ४० लाख छुटिए पनि काम हुन नसकेको जानकारी दिए । उनले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि सन्तोषजनक काम नभएको बताए । उनले चाँडै नै फिल्डमै निर्माण व्यवसायी, स्थानीय र जनप्रतिनिधिसहितको बैठक राख्ने प्रतिबद्धता जनाए । 
निर्माण व्यवसायीले काम नगर्दा एडिबी पनि खुसी नभएको उनको भनाइ थियो । ०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कागजात मिलाउनै माघसम्म लगाएको उनको भनाइ थियो । यसअघि निर्माण व्यवसायसँग छलफल गर्दा गल्ती भएको र अब काम सुरु गर्ने बताएको खनालले जानकारी दिए । तर, त्यसपछि पनि काम हुन नसकेको उनको भनाइ छ ।