धरान : लामो समय देखि आर्थिक सङ्कटका कारण बन्द भएको बराह ग्रुप अफ कम्पनी तथा बराह सहकारी सञ्चालनमा आएको छ ।  बराह सहकारीका सञ्चालक पक्ष र आन्दोलनरत पक्षबिच १६ बुँदे सहमतिको खाकामा सहमति जुटेको छ । शनिवार संर्घष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहमति नजिक पुगेको बताएको हो । सहमति जुटे पनि सहकारी पक्ष र संर्घष समिति हस्ताक्षर भने गरेको छैन । तर धरान उपमहानगरपालिकामा दुवै पक्षले १६ बुँदामा भएको सम्झौता गर्न तयार भएको जानकारी दिएको छ।  
पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका संयोजक श्याम प्रसाद ढकालले सहमति बिना कुनै पनि कार्य अघि बढ्न नसक्ने भएकाले सहमतिमा आएको बताए । उनले बराह ग्रुप अफ कम्पनी र बराह सहकारी डुब्दा बचतकर्ता तथा सेयर सदस्यको करोडौँ रकम डुब्ने भएकाले रोक्का रहेको सम्पत्ति सहित बराह ग्रुपका सबै सेवाहरू सुचारु गर्न दिइएको उनले बताए ।
यस्तो छ दुवै पक्ष सहमतिको १६ बुँदाहरू :
१. बराह बचत तथा ऋण सहकारी र बराह ग्रुप अफ कम्पनीका सञ्चालकहरू, विभागीय प्रमुखहरू, उपसमितिहरूका प्रमुखहरूले सम्पूर्ण बचतकर्ताहरूको रकम फिर्ता गर्ने दायित्व द्वितीय पक्षको हुने भएकोले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने वा बैंकिङ्ग स्वाइप गर्ने भएमा वा भौतिक सम्पत्ति बेचबिखन गर्ने भएमा सो सम्पूर्ण रकम बराह ग्रुप अफ कम्पनीबाट २ जना बराह सङ्घर्ष समितिबाट २ जना र धरान उपमहानगरका प्रतिनिधिहरू १ जना समेत ५ जनाको नाममा रहेको त्रिपक्षीय खातामा निजहरूको हस्ताक्षर समावेश गरी तुरुन्त रकम जम्मा गर्ने र ५ जनामध्ये प्रत्येक निकायबाट ३ जनाको अनिवार्य दस्तखतबाट मात्र कारोबार गर्नुपर्नेछ र जम्मा भएको रकम १० दिनभित्र बचतकर्ताहरूलाई आवश्यकता र प्राथमिकताको आधारमा कानुन बमोजिम वितरण गर्नेछ । बचतकर्ताहरूलाई रकम वितरण गर्नको लागि यस करार सम्झौता भएको मितिले १५ दिन देखि नगद काउन्टर सञ्चालन गरी १ महिना भित्रमा नगद वितरण गरिनुका साथै बराहको व्यापार व्यवसाय सञ्चालनमा आएपछि बराहका बचत तथा लगानीकर्तालाई बस्तुको खरिदमा, खरिद मूल्यको २५ प्रतिशत सपिङ भौचरको व्यवस्था गरिने छ । २५ प्रतिशत सपिङ भौचरको भुक्तानी बचत तथा लगानीकर्ताको बचतबाट समायोजन गरिने छ भन्ने कुरामा हामी सहमत छौँ  र वितरण गर्दा निष्पक्ष त्रिपक्षीय रकम वितरण उप–समिति गठन गरी वितरण गरिनेछ र वडा संयोजकहरू र धरान बाहिरका संयोजकहरूले तयार गरेको बचतकर्ताहरूको विवरणलाई पहिलो प्राथमिकता दिइनेछ र रकम वितरण गर्दा निर्देशिका विपरीत, अपारदर्शी र विभेद प्रकारले रकम वितरण गरिएको ठहरिएमा उक्त उप–समितिका व्यक्तिहरूको घर घरानाबाट असुल उपर गरिनेछ र त्यस प्रकारको नगद वितरणलाई कोषबाट वितरण भएको मानिने छैन भन्ने विषयमा पनि हामी सहमत छौँ ।
२. बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी लगायत अध्यक्ष, सञ्चालकहरू, विभागीय प्रमुख, पूर्व सञ्चालकहरू, व्यवस्थापकहरू निजका परिवारहरू, मुख्य शेयर धनी सञ्चालकहरू समेतको नाममा रहेको सबै चल अचल सम्पत्तिहरूको विवरण तयार गरी आवश्यकता अनुसार १ एक महिना भित्रमा बेचबिखनको लागि राख्नेछ । विभिन्न श्रोतबाट जम्मा भएको कोषको रकमलाई बचतकर्ताहरूलाई भुक्तानी गर्दा निर्देशिका बनाई कानुन बमोजिमको आवश्यकता र प्राथमिकतालाई आधार मानी भुक्तानी गर्दै जानेछ र सङ्घर्ष समितिले रोक्का गर्नुभन्दा अघि वा पछि सम्बन्धित निकायमा मुद्दा परी रोक्का भएका वा मुद्दामा नगएका जग्गा जमिन र गरिएका लिखतहरू, जारी भएका तर सटही हुन नसकेका चेकहरूको विवरण उपलब्ध गर्न लगाई द्वितीय पक्षले उल्लेखित व्यक्तिहरूलाई व्यवस्थापन गर्नेछ भन्ने तथ्यमा हामी सहमत छौँ ।
३. बराह ग्रुप अफ कम्पनी र सो सँग सम्बन्धित व्यवसायहरूलाई सञ्चालन, प्रवर्द्धन र विकास गर्ने प्रयोजनार्थ बराह पीडित सङ्घर्ष समिति, बराह ग्रुप अफ कम्पनी सहित अन्य सम्बन्धित निकायहरूको ७ सदस्यीय एक विज्ञ छानबिन समिति बनाई बराह ग्रुप अफ कम्पनी, बराह बचत तथा ऋण सहकारी र सो सँग सम्बन्धित सम्पूर्ण व्यावसायिक निकायहरूको सहकारी स्थापना भए देखिएका हिसाब– किताब आय–व्ययको वास्तविक चित्रण तथा विवरण प्राप्तिको लागि सङ्घर्ष समितिले इच्छाइएको चार्टड एकाउन्टेन्टलाई नियुक्ति गरी २ महिना सम्मको म्याद दिई प्रतिवेदन तयार गर्ने र त्यसलाई सम्पूर्ण बचतकर्ताहरू लगायत सम्बन्धित निकायहरूमा सार्वजनिकिकरण गर्ने, विज्ञ समितिलाई कानुन बमोजिमको पारिश्रमिकको व्यवस्था गरिनेछ । उक्त सहकारी र बराह ग्रुपसँग सम्बन्धित कुनै पनि पूर्व सञ्चालक, पूर्व विभागीय प्रमुखहरू, कर्मचारीहरू, बहालवाला सञ्चालक, विभागीय प्रमुखहरू, उपसमिति प्रमुख, उपप्रमुखहरू समेतले उक्त संस्थाहरूको चल अचल सम्पत्तिहरू अपचलन हिनामिना गरेको ठहरिएमा जसले अपचलन गरेको छ सम्बन्धित व्यक्तिहरूको तीन पुस्ते परिवारमा रहेको र बराह सहकारीको सम्पत्तिबाट अन्य व्यक्तिहरूको नाउँमा लुकाइएको भएता पनि कानुन बमोजिम घर घरानाबाट असुल उपर गरी सो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय हुनेछ । तथापि छानबिन समिति गठन भएको ७ दिन भित्र लुकाइएका सम्पत्तिहरूको विवरण लुकाइएका व्यक्तिहरूले प्रकाश पारेमा वा छानबिन समितिलाई सहयोग गरेमा निजलाई दण्ड जरिवाना सजायबाट मिनाहा दिइनेछ  भन्ने तथ्यमा हामी सहमत छौँ ।
४. बराह पीडित सङ्घर्ष समिति, बराह ग्रुप अफ कम्पनी र धरान उप–महानगरपालिका समेतको सबै पक्षको प्रतिनिधिहरूको सहमतिमा मात्र बिक्री गर्नुपर्ने सम्पत्तिहरू मात्र फुकुवा गर्दै लैजाने र बिक्री गर्नेछ, तर कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा धितो नरहेको बराह ग्रुप र बराह सहकारी र उक्त संस्थाका सञ्चालकहरू, विभागीय प्रमुखहरू, पूर्व सञ्चालकहरू, कानुनी सल्लाहकारहरू, लेखा परीक्षकहरू, उपसमितिहरूका प्रमुखहरूको नाममा रहेको जग्गाहरू तत्काल फुकुवा गरिने छैन । तर निजहरूले छानबिन समितिको छानबिनबाट अपचलन र हिनामिनामा संलग्नता रहेको नठहरिएमा फुकुवा गरिनेछ भन्ने तथ्यमा हामी सहमत छौँ ।
५. बराह ग्रुपका व्यावसायिक निकायहरूको क्रियाकलापहरूलाई कुशलतापूर्वक सञ्चालन गर्न त्रिपक्षीय उच्चस्तरीय ११ सदस्यीय व्यवस्थापन समिति गठन गरी दैनिक कारोबारको विवरणको अनुगमन निरीक्षण गर्न बराह पीडित सङ्घर्ष समितिको ७० प्रतिशत बराह ग्रुप अफ कम्पनीबाट ३० प्रतिशत र धरान उपमहानगरपालिकाबाट १ जना सम्मको प्रतिनिधिहरूको निगरानीमा सञ्चालन गर्नेछ । बराह पीडित सङ्घर्ष समिति,बराह ग्रुपका सञ्चालक सहितको द्विपक्षीय कार्यसम्पादन समिति बनाई कर्जा असुली तथा ऋण उप-समिति,निक्षेप रकमको विवरण सङ्कलन उप-समिति, चल अचल सम्पत्तिको विवरण तयारी उप-समिति, बेचबिखन गर्ने सम्पत्तिको मूल्याङ्कन उप-समिति, बिक्रिवितरण उप-समिति, दैनिक कारोबार निरीक्षण उप-समिति बनाई कार्य सम्पादन गरी गर्नेछ र उक्त उपसमितिमा बढीमा ७ जना सम्मको उपसमिति गठन गरिनेछ । तर बराह ग्रुप अफ कम्पनीको लागि लगानी ल्याउने वा भित्र्याउने जिम्मा द्वितीय पक्षको नै हुनेछ र उक्त लगानीमा कुनै प्रकारको गैर कानुनी लगानी प्रवेश गराएमा सो को कानुनी दायित्व द्वितीय पक्षको नै हुनेछ र व्यवसाय सञ्चालन र लगानीको सुरक्षाको लागि प्रथम पक्षको तर्फबाट व्यवस्था गरिनेछ भन्ने कुरामा हामी सहमत छौँ ।
६. नयाँ व्यवस्थापन समिति गठन गर्दा सङ्घर्ष समितिका प्रतिनिधिहरूले बराह ग्रुप अफ कम्पनी,बराह बचत तथा ऋण सहकारीको दायित्वमा कुनै प्रकारको ऋण र निक्षेपको उत्तरदायित्व बहन गर्ने छैन । सो को चुक्ता भुक्तान गर्नुपर्ने दायित्व बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारीका पूर्व सञ्चालकहरू र बहालवाला सञ्चालकहरू सहित द्वितीय पक्षको पूर्ण रूपमा चुक्ता भुक्तान नहुन्जेल संस्थागत र व्यक्तिगत रूपमा रही रहनेछ भन्ने तथ्यमा हामी सहमत छौँ ।
७. बराह बचत सहकारी र बराह ग्रुप अफ कम्पनीले सम्पूर्ण बचतकर्ताहरूको रकम भुक्तानी गर्ने विश्वसनीय प्रमाणको लागि उक्त सहकारी र बराह ग्रुप अफ कम्पनीका सबै सञ्चालकहरू, विभागीय प्रमुखहरू, विभिन्न उप-समितिहरूका प्रमुखहरूको एकाघरका श्रीमान् वा श्रीमती सहित तीन पुस्ते खुल्ने फारमको विवरण सम्झौता हुनुभन्दा अघि तयार गरी तत्काल भर्न लगाई हस्ताक्षर गरी बुझाउन लगाउनेछ भन्ने तथ्यमा हामीहरू सहमत छौँ ।
८. बराह बचत तथा ऋण सहकारी लि.का शेयर रहित बचतकर्ताहरूलाई शेयर सदस्यको रूपमा कानुन बमोजिम बचतकर्ताहरूको सावाँ रकमबाट न्यूनतम रूपमा कट्टा हुने गरी बचतकर्ताहरूका स्वेच्छाअनुसार साधारण शेयर सदस्यको तुरुन्तै रूपान्तरण गर्नेछ भन्ने विषयमा हामी सहमत छौँ । यस बराह बचत तथा ऋण सहकारी संस्था लि.हाल सङ्कटकालीन अवस्थामा रहेकोले मिति २०७९ वैशाख महिनादेखिको ब्याजलाई कानुन बमोजिम सहकारी ऐन नियम अन्तर्गत न्यूनतम ब्याज निर्धारण गरी बचतकर्ताहरूलाई भुक्तानी दिइने विषयमा हामी सहमत छौँ ।
९. यस सम्झौता पश्चात् सङ्घर्ष समिति स्वतः पूर्ण अधिकार प्राप्त अनुगमन समितिको रूपमा परिणत हुनेछ र अनुगमन समितिमा दैनिक रूपमा बढीमा ७ जना सम्मको समूहले दैनिक रूपमा बराहका सम्पूर्ण व्यावसायिक निकायहरूको निरीक्षण,अनुगमन गरी सो को विवरण ठिक छ भनी ३ प्रतिमा हस्ताक्षर गरी ,एक प्रति सम्बन्धित संस्थाको कार्यालयमा एक प्रति धरान उपमहानगरपालिका र एक प्रति अनुगमन समितिको सचिवालयमा सुरक्षित रूपमा राख्नेछ । बराह अनुगमन समितिको सचिवालयको कार्यालय तत्कालै स्थापना गर्नेछ र अनुगमन तथा निरीक्षण समितिलाई यातायात, खाजा र टेलिफोन खर्चको व्यवस्था गरिनेछ र धरान बाहिर जानुपर्ने अवस्था रहेमा न्यूनतम रूपमा खान र बस्ने खर्चको व्यवस्था हुनेछ भन्ने कुरामा हामीहरू सहमत छौँ ।
१०. बराह ग्रुप अफ कम्पनीका व्यावसायिक गतिविधि निर्धारित योजना बमोजिम कुशलता पूर्वक सञ्चालन भए नभएको, भुक्तानी प्रक्रिया तोकिए बमोजिम भए नभएको बचत तथा लगानीकर्ताको मन्जुरीले बचत तथा लगानीकर्ताद्वारा छनोट गरिएको नेतृत्वलाई समावेश गरेर बराह अनुगमन समिति गठन गर्ने र बराहको ब्यासायिक क्रियाकलापको अनुगमन गरी कुनै समस्या देखिएमा सुधारको सुझाव सहित प्रतिवेदन तयार गरी सम्बन्धित अधिकार सम्पन्न मूल व्यवस्थापन समितिमा पेस गरी आवश्यकता अनुसार अभिलेख गर्ने परिपाटी कायम गर्ने कुरामा हामी सहमत छौँ ।
११. बराह बचत सहकारी, बराह ग्रुप र सङ्घर्ष समितिका पदाधिकारीहरू बिच असमझदारी भई विवाद भएको कुरामा सम्पूर्ण अडअदालतमा जाँदा आउँदा लागेका वा लाग्ने खर्चहरू उक्त बराह सहकारी र बराह ग्रुप अफ कम्पनीले व्यहोर्ने छ ।
१२. बराह बचत सहकारी,बराह ग्रुप अफ कम्पनीका सञ्चालकहरू, विभागीय प्रमुखहरू, उपप्रमुखहरू, पूर्व सञ्चालकहरू समेतले बचतकर्ताहरूको रकम भुक्तानी नहुन्जेल तथा व्यवसाय असल रूपमा सञ्चालन नभएसम्म नेपाल भन्दा बाहिर जान पाउने छैन र यदि अत्यावश्यक रूपमा जानुपर्ने अवस्था भएमा प्रथम पक्षको सहमतिमा मात्र जान सक्नेछ भन्ने कुरामा हामीहरू सहमत छौँ ।
१३. यसैको प्रकरण नं ३ बमोजिमको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाए पछि प्रतिवेदनले निर्देश गरेका कुरा कार्यान्वयन गर्दै बराह बचत तथा ऋण सहकारी संस्थाको लेखा परीक्षण प्रतिवेदन तयार गरी विशेष साधारण सभा वा वार्षिक साधारण सभा गरी सहकारीमा नयाँ नेतृत्व कायम गरेर सहज सञ्चालन हुने तथा बचत कर्ताको बचतको सुरक्षाको प्रत्याभूति सहित फिर्ता गर्न सक्ने सहज अवस्था सृजना गर्नु पर्छ भन्ने कुरामा हामी सहमत छौँ ।
१४. बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी धरान अन्तर्गतका व्यावसायिक प्रतिष्ठानहरू र सो अन्तर्गतका सञ्चालकहरू,पूर्व सञ्चालकहरू, विभागीय प्रमुखहरू, कर्मचारीहरू,पूर्व कर्मचारीहरूको नाममा रहेको चल अचल सम्पत्तिबाट प्राप्त कर्जा, बिक्री वितरणबाट प्राप्त नगद संयुक्त त्रिपक्षीय कोषमा जम्मा भए पश्चात् उक्त रकमहरू बराह बचत तथा ऋण सहकारी लि. मार्फत  बराह ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताअनुसार पूर्ण अधिकार प्राप्त व्यवस्थापन समितिको लिखित सहमतिमा मात्र लगानी गर्नुपर्ने र अनावश्यक फजुल खर्चहरू गर्न नपाउने, बराह सहकारी र बराह ग्रुप अन्तर्गतका कर्मचारीहरूको हकमा विगतमा यस प्रतिष्ठानमा काम गरेका अनुभवी र इमानदार कर्मचारीहरू छनौट गरी अति नै आवश्यकी सङ्ख्यामा मात्र राख्ने र सम्झौता हुनुभन्दा अघि काम गरेका कर्मचारीहरूको यथार्थ विवरण तयार गरी निजहरूलाई दिनुपर्ने पारिश्रमिक बाँकी रहेको भएमा कोषमा रकम जम्मा भएपछि निजहरूलाई सङ्कटकालीन अवस्थाको बारेमा जानकारी गराई व्यवसाय पूर्ण रूपमा सञ्चालन भए पश्चात् नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भुक्तानी दिने कुरामा सहमत छौँ र आगामी दिनहरूमा आवश्यकता भन्दा बढी कर्मचारीहरूलाई स-सम्मान बिदा गरिदिने भन्ने विषयमा हामी सहमत छौँ ।  
१५. यस करारनामाको अवधि सम्पूर्ण बचतकर्ताहरूको रकम चुक्ता नहुन्जेल यस करारको मितिले अन्तिम अवधि ३ वर्ष सम्म रहिरहनेछ तर यी माथि प्रकरण नं.१ मा उल्लेखित सर्त बमोजिम १५ दिनभित्र द्वितीय पक्षले नगद  काउन्टर सञ्चालनका साथै १ महिना भित्रमा नगद वितरण कार्य सुचारु र ३ महिना भित्रमा अन्य व्यावसायिक कारोबार सञ्चालन नगरेमा वा गर्न नसकेमा करारको सर्त उलघंन भएको ठहरिनेछ र पुनः साबिकै अवस्था बमोजिम सम्पूर्ण द्वितीय पक्ष  बराह बचत तथा ऋण सहकारी लि. र बराह ग्रुप अफ कम्पनी लगायत सञ्चालक, पूर्व सञ्चालक, विभागीय प्रमुख, उप-प्रमुख,कर्मचारीहरू, लेखा परीक्षक, कानुनी सल्लाहकार लगायतको चल अचल सम्पत्तिहरू सम्बन्धित निकायहरूबाट स्वतः रोक्का गरिदिनेछ वा हुनेछ भन्ने कुरामा हामी द्वितीय पक्ष सहमत छौँ साथै कानुन बमोजिम कुनै पनि क्षतिपूर्ति, कार्यवाही सहन वा भोग्न द्वितीय पक्ष तयार हुने कुरामा हामीहरू सहमत छौँ ।
१६. यी माथि उल्लेखित सम्पूर्ण करारमा उल्लेखित सहमति भएका बुँदाहरुहरुलाई अक्षरशः पालन गर्न गराउनका साथै बराह ग्रुप अप कम्पनी र बराह बचत तथा ऋण सहकारीलाई सहजरुपले सञ्चालन गर्नको निम्ति  १ एक हप्ताभित्र बराह व्यावसायिक प्रतिष्ठान सञ्चालन निर्देशिका तयार गरी प्रथम पक्ष र द्वितीय पक्षको हस्ताक्षर सहित सम्पन्न गरी सो निर्देशिकालाई धरान उपमहानगरपालिका कार्यालयमा दर्ता गरी सोही बमोजिम कार्य गर्ने विषयमा हामी सहमत छौँ ।