चतरा : सुनसरीको वराहक्षेत्र धाममा माघ एक गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी सुरु भएको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी सुरु गरिएको हो । 

वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्र धाम तयार रहेको बताए । व्यापार, व्यवस्थापन, सुरक्षा लगायत व्यवस्थापन भइरहेको घिमिरेले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले बताए । 

पौष मसान्तको रात र माघ एक गते लाग्ने मेलाका लागि सरसफाइ र रङ रोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन गर्न कार्य भई रहेको घिमिरेले बताए ।

 मेलामा एक लाख तिर्थालु आउने अनुमान गरिएको छ ।  माघ एक गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । बराह पुराणका अनुसार माघ  एक गतेबाट उत्तारण सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन् । सोही दिन देखि सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा पुण्य प्राप्ति हुने पण्डित योगेश भण्डारी बताउँछन् ।

वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने उनको भनाइ छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुन जनविश्वास र किंमदन्ति समेत रहेको छ । उक्त दिन मेला भर्न मकर स्नान गर्न नेपाल बाहिरबाट पनि त्रितालुहरू आउने गर्दछन् । माघे मेलामा कोका कौशिकीको संगमस्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।

कोका-कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन् । सनातन कालदेखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मकर स्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला नागबेली, सुर्यकुण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने गर्दछ ।