• रश्मि प्रधान 

धरान : पब्लिक हाई स्कुल मैदानमा जतिबेला पाँचौँ पुष्प प्रदर्शनी व्यापार मेला सुरु भइरहेको थियो, त्यति बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सर्दु जलाधारमा सयपत्री रोप्दै थिए । अहिले फुलको आयात प्रतिस्थापन गर्न नेपालमै नर्सरी र फूल उत्पादन व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बहस चलेको छ । यस्तो बेला स्थानीय सरकारबाट नर्सरी व्यवसायलाई उत्साहित गर्नुपर्ने थियो । तर नगरमै पाँच दिन चलेको पुष्प प्रदर्शनी व्यापार मेलामा स्थानीय सरकार प्रमुख साम्पाङ एक दिन अवलोकन गर्न पनि पुगेनन् ।

स्थानीय सरकारबाट निराश फ्लोरीकल्चर एसोसिएसनका पदाधिकारीहरूले औपचारिक कार्यक्रम समेत नगरी आइतबार साँझ मेलाको समापन गरे । मेला संयोजक रामकुमार राईले भने ‘देश विदेशमा भाइरल बनेका मेयर साबले व्यवसाय प्रवर्द्धनमा सहयोग गरिदिनु हुने आशा गरेका थियौँ, तर सोचे जस्तो भएन, मन परेको केटी चैँ सासू परेको जस्तो भो ।’ 

मेला उद्घाटनको बेला मेयर साम्पाङले सर्दुमा गरेको सयपत्री फुलको कार्यक्रम फ्लोरीकल्चर एसोसिएसनकै पहलमा बनेको कार्यक्रम भएको बताए । मेयरलाई सघाउन एसोसिएसनले स्पोटका लागि शिवधारा देखि भेडेटार सम्म मौसम अनुसारका बिरुवालाई फ्लावरिङ प्लानटेन्स गर्ने योजना र श्रमसस्कृती पार्कमा बगैँचा निर्माण गर्ने योजना बनाएको थियो । तर अन्तिम सम्म ढोका ढकढक्क्याउदा समेत एशोसिएशनलाई बेवास्ता गरी मेयरले आफ्नै तरिका अपनाएको उनले बताए ।

संयोजक राईले भने ‘मेयर साबले पुष्प व्यवसायिहरुलाई बेवास्ता गरेका कारण प्रदेश स्तरीय पुष्प व्यापार मेला औपचारिक समापन कार्यक्रम गर्न पनि सकिएन ।’ एशोसिएनको आयोजनामा पाँचौँ पुष्प प्रदर्शनी माघ २४ सुरु भई २९ गते सकिदा पाँच दिनमा मेयर साम्पाङ एक पट्क पनि अवलोकन गर्न नआएकोमा उनले चित्त दुःखेको बताए । 

समाजसेवी नर्सरी व्यवसायी शिव बान्तवाले ग्रिन सिटीको अवधारणा बोकेका स्थानीय सरकारका मेयर साम्पाङले फ्लोरिकचर एसोसिएसनको प्रतिष्ठालाई उपेक्षा गरेको बताइन् । उनका अनुसार एसोसिएसनले शिवधारा-भेडेटार सडकमा सयपत्री रोपण, श्रम संस्कृति पार्कमा बगैँचा निर्माणको १० लाख रुपयाको विस्तृत प्रस्ताव पेस गरेको थियो । मेयर साम्पाङले त्यसलाई लत्याएर ५० हजार रूपमा सीमित गरेको बताउँदै उनले स्थानीय सरकारले पुष्प व्यावसायिहरु प्रवर्द्धन गर्नुपर्नेमा हतोत्साहित गरेकोमा आक्रोश व्यक्त गरिन्। 

एसोसिएसनकी कोषाध्यक्ष कल्पना लिम्बुले पुष्प व्यापार मेलाले व्यवसाय प्रवर्द्धन भई फुलमा मुलुकलाई आत्मनिर्भर बनाउँदै व्यवसायीक प्रतिस्पर्धा सिर्जना गर्ने कुरालाई स्थानीय सरकारले बुझ्न नसकेको बताइन् । भनिन् ‘यसरी नै फुलको खेतीमा नयाँ किसान उत्पादन हुन्छ ।’ राज्यले लगानी गरेर प्रोत्साहन दिनुपर्ने ठाउँमा नर्सरी व्यवसायलाई साथ र समर्थन समेत स्थानीय सरकारले नदिएको उनको भनाई छ ।  

कोषाध्यक्ष लिम्बुका अनुसार मेलामा एउटा स्टल राख्दा ५० हजार देखि ६० हजार सम्म व्यवस्थापन  खर्च लागेको छ । ५ दिने पुष्प व्यापार मेलामा आयोजना गर्दा अनुमानित खर्च १० लाख भएको छ । स्टलहरूबाट आम्दानी १ लाख ६६ हजार र प्रदेश सरकार २ लाख गरी ३ लाख ६६ हजार भएको छ ।

मेलामा प्रत्येक स्टलमा ३५० प्रजातीका फूलहरू राखिएका थिए । प्रदेश १ स्तरीय भनिए पनि सुनसरी जिल्लाका नर्सरीहरूको सहभागिता थियो । मेलामा ४० हजारले अवलोकन गर्नुको साथै फुल बिक्रीबाट नर्सरी व्यवसायीहरूले १९लाख रुपया बराबरको कारोबार गरेको बताइएको छ ।

Puspa-mela-4