धरान : महाविस्फोट पछि सृष्टि भएको संसारमा मानव उत्पत्तिका वैज्ञानिक र वहुधार्मिक कथाहरू धेरै छन् । सृष्टिकालीन कथामा मानव जीवनका बारे लिम्बु समुदायको मुन्धुममा छुट्टै रोचक वर्णनहरू छन् ।
मुन्धुम अध्ययन केन्द्रद्वारा शुक्रवार आयोजित मुन्धुम बारे दोस्रो प्रवचन कार्यक्रममा मुन्धुमका व्याख्याता तुम्याङ लक्ष्मण मेन्याङबोले ‘युमाङ र यक्वा’ विषयमा प्रवचन दिदैं दुईवटा सूर्य मध्ये एउटा नष्ट गरिएको रोचक कथा सुनाए ।
लिम्बु समुदायले अन्नबाली लगाउने याममा यक्वा पूजा गर्दछन् । लगाइएको बाली अनिष्ट किट, वस्तुले नष्ट नगरुन्, वर्षा समयमा होस, प्रकृतिमा विद्यमान युमाङ शक्तिको पुकारा गर्दै यक्वा पूजा गरिन्छ ।
युमाङ शक्ति मुन्धुम अनुसार सृष्टिको कथा सँग जोडिएको छ । व्याख्याता मेन्याङबोका अनुसार संसारको सृष्टि अघि महाविस्फोट भएको र त्यसबाट सूर्य, पृथ्वी बनेको प्रसङ्ग मुन्धुममा उल्लेख छ ।
सोही समय श्रृष्टिकता तागेरानिँवाफुमाङ प्रकट भएको र उनैबाट उत्पत्ति गराइएका पोरोक्मी याम्फोमी ले जलले भरिएको पृथ्वीमा धरतीको बनाएको प्रवचनका क्रममा रोचक ढङ्गमा उनले बताए ।
त्यस बेला दुई वटा सूर्य थियो । त्यसको अत्यधिक तापले वनस्पति, प्राणी जगत् सङ्कटमा पर्‍यो । मुन्धुम अनुसार पोरोक्मी याम्फोमीको उपायले दुई सूर्य मध्ये एउटा नष्ट गरियो ।
मुन्धुमको रोचक वर्णन अनुसार, बाँसलाई सूर्य सम्म पुग्ने गरी जोडियो । बाँसका आँखाहरू मुसा पसाएर  छेड्न लगाइयो । त्यसरी बनेको बाटोबाट दुम्सी गएर वाण (सिमातोङ) हानेर सूर्य नष्ट गरियो ।
अझ रोचक कुरा, सूर्य विस्फोट हुँदा त्यसका टुक्राहरू रगतको फाल्सा भएर धरतीमा झर्‍यो । त्यसबाट धरतीमा अनिष्ट आत्माहरू शक्तिको रूपमा प्रकट भए ।
प्राणी जगत् फेरी सङ्कटमा परे । प्राणी जगतको हितका लागि त्यसै बेला परोकमी याम्फोमीले युमा पठाए । युमाङले अनिष्ट शक्तिहरूलाई उत्तरी र दक्षिणी ध्रुवमा लखेट्न ठुलठुला पूजा अनुष्ठान लगाए ।
अहिले लिम्बु समुदायले अन्नबाली लगाउने बेलामा गर्ने यक्वा पूजा र अन्नबाली पाकेपछि गर्ने चासोक पूजा त्यसैको निरन्तरता हो ।
तुम्याङ लक्ष्मण मेन्याङले भने ‘मुन्धुममा वर्णन गरिएका श्रष्टिको कथामा लिम्बु समुदायका सांस्कृतिक पर्वहरू तथा धार्मिक संस्कारहरू आधारित रहेका छन् ।’
पछिल्लो कालखण्डमा मुन्धुमका प्रसङ्गहरूमा विसङ्गति बढेको छ । सांस्कृतिक, धार्मिक पर्व संस्कारहरूमा एकरूपता नदेखिनुमा मुन्धुमलाई भिन्न भिन्नै अर्थमा बुझ्नुका कारण पनि मुख्य रहेको उनको भनाई छ ।
अध्ययन केन्द्रका नेत्रप्रसाद साउदेनका अनुसार केन्द्रले लिम्बु समुदायले मान्दै आएका संस्कार, पर्वहरूको मौलिकताका बारेमा व्याख्याताहरूबाट छुट्टा छुट्टै प्रवचन, प्रशिक्षण कार्यक्रमको सुरुआत गरेको छ । यो दोस्रो हो । तेश्रो प्रवचन ‘नाहेन’ (आँखी डाही छेक्ने) अनुष्ठानको विषयमा हुँदैछ ।
प्रवचन कार्यक्रमको सभापतित्व सहप्राध्यापक हर्क सुब्बा इजमले गरेका थिए । उनले लिम्बु समुदायमा प्रचलनमा रहेका धार्मिक, सांस्कृतिक अनुष्ठान, पर्वहरू सबै सृष्टि कथा सँग जोडिएका छन् । पछिल्लो समय विसङ्गतिहरू आउन थालेकाले मुन्धुमको प्रवचन कार्यक्रम सुरु गरिएको हो ।