विराटनगर : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकासित बनाउने अभियानमा लागेको महानगरले माछा-मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ ।

पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपंक्षीलाई वध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल्ला रूपमा माछा–मासु बिक्री गर्ने गरेको पाइएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको छ ।

प्रदेशको राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको सुनाए ।

“विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो,” मेयर कोइरालाले भने, “महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि विराटनगरवासीबाट साथ र सहयोग अवश्य प्राप्त हुनेछ ।”

महानगरले हाल सरसफाई, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङ लगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बद्ध गर्न निषेध गरिएको बताए ।

विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लास्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रूपमा माछामासु बिक्री गर्ने गरिएको छ ।“अबदेखि खुल्ला रूपमा माछामासु बिक्री गर्न पाइने छैन,” कोइरालाले भने, “ऐनले नै अव्यवस्थित र खुल्ला रूपमा पशुपंक्षीको बद्ध गर्न र बिक्रीवितरण गर्न निषेध गरेको छ ।”

पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिक रूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपंक्षी बद्ध गरेको पाइएमा कडा कारबाही गरिने यादवले बताए ।