धरान : नेवार समुदायको सांस्कृतिक संस्कार स्वरूप आफन्तजन गुमाएका समुदायका परिवारहरूले सामाजिक रूपमा एक आपसमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज बिहीबार सापारु गाईजात्रा पर्व मनाएका छन् ।

सिद्धि नेवा: परिषद्बाट निस्किएको सामूहिक गाईजात्रा सापारु छाताचोक हुँदै नेपाल टेलिकम देखि पुरानो बजार हुँदै भानुचोक देखि पुन: सिद्धि नेवा: परिषद् भवनमा पुगेर औपचारिक रूपमा समापन गरिएको हो ।

दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको रूपमा सिँगारेर परिक्रमा गराउने चलन नै गाईजात्रा हो । गाईजात्रा पर्वले एक वर्ष भित्र दिवंगत भएका व्यक्तिहरू वैतरणी पार गर्ने जनविश्वास रही आएको सिद्धि नेवा: परिषद्का महासचिव मोहन श्रेष्ठले बताए ।

गाईजात्रा पर्वको औपचारिक समारोहमा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघा, कोशी प्रदेशका साम्सद रमेश बस्नेत लगायत सहभागी थिए ।

गाईजात्राको कक्षा अनुसार पुत्रशोकले विह्वल भएकी रानीलाई अरूले पनि यस्तै शोक व्यहोर्नु परेको भनेर देखाउनको लागि राजा प्रताप मल्लले मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएका थिए ।

सोही अनुसार सामूहिक रूपमा यो पर्व मनाउन सुरु भएको मानिन्छ । यसो गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि राजाले विभिन्न ब्यंगात्मक कार्यक्रम गर्न आदेश दिएपछि हाँस्य ब्यंगको चलन सुरु भएको मानिन्छ ।

नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठका अनुसार गाईजात्रा शुभकामना आदान प्रदान गर्ने पर्व भने होइन । नेवार समुदायको संस्कृति अनुसार मनाइँदै आएको गाईजात्रा शुभकामना प्रकट गर्ने पर्व होइन, समवेदना श्रद्धाञ्जली दिने दिन चैँ हो ।

उनका अनुसार सापारु अर्थात् गाईजात्रा आफन्तजन गुमाएका नेवार समुदायका परिवारले सामाजिक रूपमा एक आपसमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन हो । आजको यसै सन्दर्भमा आफ्ना प्रिय तथा आफन्तजन गुमाएका सम्पूर्ण शोकाकुल परिवारहरूमा समवेदना एवं मृतकहरूको आत्मालाई शान्ति मिलोस् भनी प्रकट गर्ने दिन हो ।

gaijatra 3

gaijatra 4

gaijatra 5

gaijatra 6 1

gaijatra 7 1

gaijatra front