धरान : नेवार समुदायको परम्परागत पर्व गाई जात्रा पछि मनाइने रोपाई जात्रापछि खड्गी सेवा समाजले आज शनिवार पहिलो पटक धरानमा बाघ जात्रा प्रदर्शन गरेको छ ।
नेपाल खड्गी समाजका अध्यक्ष मनिष खड्गीका अनुसार धरानमा आर्थिक समस्याका कारण बन्द भएका जात्राहरू मध्ये प्रमुख ‘बाघ जात्रा’ धरानमा पहिलो पटक प्रदर्शन गरिएको हो ।
हिजो शुक्रवार बिहान देखी दिनभर अबेर साँझ सम्म रोपाई जात्रामा समाजले धरान बजार भरी घुमेर सर्वसाधारणलाई हँसाउने रोचक प्रदर्शनहरू गरेका थिए । आज शनिवार गरिएको बाघ जात्रा खड्गी सेवा समाजको कार्यालय देखि पुरानो बजारबाट सिंहदेवी चोकमा व्यङ्ग्यात्मक सडक नाटक प्रदर्शन गरिएको थियो । जात्रा छाताचोक हुँदै धरान उपमहानगरपालिकाको मुलगेटमा सडक नाटक देखाउन पुग्यो । पुनः छाताचोक हुँदै भानु चोकमा बाघ जात्रा प्रदर्शन गरियो । 
प्रदर्शनमा जात्राका कलाकारहरूले समसामयिक राजनैतिक घट्नाहरुलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका थिए । ललिता निवास काण्ड, १०० केजी सुन काण्ड, मुर्रा भैँसी, रकेट काण्ड, सिसिटिभी काण्ड ,लडाकु शिविर घोटाला, सेक्युरिटी प्रिन्टिङ प्रेस, ओमनी, यति काण्ड, नक्कली शरणार्थी काण्ड, आयल निगम लगायतका कार्टुन बनाएर पनि जात्रामा प्रदर्शन गरिएको थियो ।
जात्राका संयोजक श्याम खड्गीका अनुसार परापुर्वकालमा राजाहरू सिकार खेल्न जाँदा जङ्गलमा बाघलाई घाइते बनाएको कथनबाट बाघ जात्रा सुरु भएको हो । उनले भने ‘घाइते बाघलाई बचाउन उपचार गर्ने क्रममा बाघ मरेको घट्नालाई सडकमा देखाइएको हो ।’
अध्यक्ष मनिष खड्गीका अनुसार भक्तपुर धुलिखेलबाट धरान बसाइँ सराई गरी आएका खड्गीहरू भेला भई धरानमा २०१९ साल गुठीको अवधारणा ल्याए । तर गुठी स्थापना हुन नसकेपछि संस्कार संस्कृति बचाउका लागि उनीहरूले सामूहिक प्रयास सुरु गरे । त्यसैको परिणाम स्वरूप गाईजात्रा, हिले जात्रा ,घोडे जात्रा, रोपाई जात्रा सुरु भएको हो । उनले भने ‘पछिल्लो समय खड्गी समाज स्थापना भएपछि जात्राहरूलाई समाजले निरन्तरता दिदैं आएको छ ।’  
उनका अनुसार उहिले जात्राहरू धरानको विजयपुर हात्तीसारबाट निकालिने गरिएको थियो । त्यसबेला यहाँ नेवार समुदाय बिच नै विभेद थियो । उनले भने 'तामाछे नृत्य चैँ नेवार भित्रको जातीय द्वन्द्वका कारण बन्द भएको हो । नेवार बिचको जातीय द्वन्द्वलाई अन्त्य गर्न नेवार समुदाय संस्कार संस्कृतिलाई जीवन्त बनाउन जात्राहरू निकालिने गरेको छ ।
उनका अनुसार नेवार बिचको विभेद अन्त्य गर्न पनि जात्राहरूलाई खड्गी समाजले निरन्तरता दिदैं आएका हो । खड्गी समुदाय पनि नेवारकै सांस्कृतिक धरोहर भएकोले उनीहरूद्वारा प्रदर्शन गरिँदै आएको कला संस्कार संस्कृति कालान्तरमा सबैले स्वीकार गरेका अवस्था आएको उनले बताए ।
अध्यक्ष खड्गीले भने ‘पछिल्लो समय आर्थिक समस्याका कारण धेरै जात्राहरू प्रदर्शन गर्न नसक्दा बन्द गर्न बाध्य भयो ।’ यसरी बन्द भएका जात्राहरू मध्ये मयुर जात्रा हाल सम्म पनि गर्न सकिएको छैन । 
धरानमा १०० घरपरिवार खड्गी समुदायको रहेको छ । समुदाय बिच नै आर्थिक सङ्कलन गरेर जात्राहरू देखाउने गरेको र जात्रा देखाउन आर्थिक सङ्कट आएपछि जात्राहरू देखाउन बन्द भएको थियो । 
अध्यक्ष खड्गीका अनुसार बन्द भएको जात्रालाई हाल स्थानिय धरान ३ वडा कार्यालयले संरक्षकत्व प्रदान गर्दै धरान उपमहानगरपालिकाले जात्रालाई प्रवर्द्धन गरी आर्थिक सहयोग प्राप्त हुन थालेकाले जात्रा देखाउन सुरु गरिएको हो । उनका अनुसार नेपालमा काठमाडौँ बाहिर धरान र धनकुटामा मात्र जात्राहरू देखाउने गरिन्छ ।
Bagh jatra 2