धरान : आदिवासी लिम्बु मुन्धुममा चाँपको फुल फुल्ने यामलाई कक्फेक्वा भनिन्छ । उनीहरू कृषि युगमा प्रवेश गरेपछि ऋतु परिवर्तन महत्त्वपूर्ण बन्यो । कक्फेक्वा माघे सङ्क्रान्ति ऋतु परिवर्तनको पहिलो दिन त्यस बेला नयाँ संवत् मानिन्थ्यो ।

इतिहासका कालखण्डमा बनेका संवत्हरू मध्ये येले संवत् यसपालि ५०८४ नयाँ वर्षको पहिलो दिन मनाइएको छ । माघे सङ्क्रान्तिको रूपमा पनि मनाइने कक्फेक्वा तङनाम सोमवार धरानमा लिम्बु सांस्कृतिक परिषद् सुनसरीको आयोजनामा मनाइएको हो ।

चुम्लुङ हिममा च्याब्रुङ नाच, धान नाच, लिम्बु गीत साम्लो गायनका बिच लिम्बु जातिका परिकारहरू खानपिन सहित कक्फेक्वा तङनाम आयोजना गरिएका थियो । उक्त अवसरमा परिषद्का केन्द्रीय उपाध्यक्ष कुमार हुक्पाचोङबाङले भने, ‘कक्फेक्वा तङनाम येले तङबे (संवत्) नयाँ वर्षको पहिलो दिन हो ।’

उनले नयाँ संवत् सँगै परिषद् सांस्कृतिक आन्दोलनको तयारीमा लागेको बताए । धरानमा भर्खरै भएको परिषद्को चौथो महाधिवेशनले महत्त्वपूर्ण निर्णयहरू गरेको बताउँदै भने, ‘कोसी नाम खारेज पूनःनामांकन आन्दोलनलाई सांस्कृतिक आन्दोलनका रूपमा अघि बढाउने जिम्मेदारी परिषद्को काँधमा आएको छ ।’

राष्ट्रिय चुम्लुङ सदस्य नरेश इङवारमले सांस्कृतिक रूपमा सम्पन्न लिम्बु समुदायले राजनीति आन्दोलनलाई बलियो बनाउन सांस्कृतिक आन्दोलन सशक्त बनाउनु पर्नेमा जोड दिए । केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले सांस्कृतिक पुनर्जागरण पहिचानको आन्दोलनमा जरुरी भएको बताए ।

चुम्लुङ केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बुले लिम्बु जातिको धर्म संस्कृति र संस्कार प्रकृतिसँग अन्यानोश्रीत रहेको बताउँदै कक्फेक्वा तङनाम चाँप फुल्ने याममा आधारित नयाँ संवत् नयाँ वर्षको रूपमा मनाइँदै आएको बताए । औपचारिक कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष यज्ञ फावेनको सभापतित्वमा भएको थियो ।

Maghe Sankranti tangnam 2

Maghe Sankranti tangnam 3