पथरी : लहरै स-साना झुपडी, झुपडी भित्र पाक्दै हुन्छन् बङ्गुरका परिकार । एउटा झुपडी भित्र मार्बलमाथि बङ्गुरको मासु पोलिरहेको भेटिन्छन् रोहित धिमाल । रोहितको जस्तै एक दर्जन झुप्राहरूमा दैनिकी यसरी नै बित्छ आजकाल उर्लाबारी-२ बासेचौरीमा।

जङ्गलको बिचमा रहेको ठाउँमा मासुका पोलेका परिकार खाने र रमाउनेको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । वैशाख जेठको उखरमाउलो गर्मी होस वा पुस माघको जाडो जुनसुकै समयमा बासेचौरी भरिभराउ हुन थालेको छ ।

ढुङ्गामा पोलेको बङ्गुर र कुखुराको मासु खान आउनेको सङ्ख्या बढ्न थालेसँगै यो क्षेत्रको व्यापार मात्रै बढेको छैन आन्तरिक पर्यटनमा समेत टेवा पुगेको स्थानीय सुनझोडा सामुदायिक बनका अध्यक्ष बलबहादुर धिमाल बताउछ्न ।

शान्त वातावरणमा बसेर पोलेको मासु खाने अनि रमाइलो गर्नेहरूका लागी गतिलो गन्तव्य बन्दै आएको छ बासेचौरी। मोरङको पथरी बजारबाट २ किमी उत्तर लागेपछि पुगिने बासेचौरीमा अहिले मासु खान जानको सङ्ख्या बढेसँगै यहाँको व्यापार पनि बढ्न थालेको स्थानीय व्यावसायीहरु बताउने गरेको छन् ।

दुई वर्ष अघिबाट स्थानीय सुनझोडा सामुदायिक वनले सुनझोडा पर्यटकीय क्षेत्र स्थापना गरे सँगै यो स्थानमा पसल सञ्चालनमा आएका छन् । सुनझोडा खोलाको बगरमा रहेको यो स्थानमा गर्मी मौसममा शीतलता प्रदान गर्ने ठाउँका रूपमा समेत चिनिने गरेको छ ।

हिउँद याममा वनभोज खान आउनेहरूको सङ्ख्या धेरै भए पनि अन्य मौसममा यहाँ आउनेको संंख्या निकै कम हुने गरेको थियो तर पछिल्लो समय यहाँ बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

एक दिनमा कम्तीमा एक देखी दुई वटा बङ्गुर काटिने र पोलेर बिक्री हुने गरेको व्यावसायीहरु बताउँछन् । पहिला पहिला कम मात्रामा मासु बिक्री हुन्थ्यो अहिले मासु पारखीको सङ्ख्या वृद्धि भए सँगै मासुको परिणाम पनि बढेको छ स्थानीय व्यापारी बताउँछन् ।

बङ्गुर काटेर मासु मात्र बेच्ने पसल समेत बढेका छन् । मासु पारखीले केजीमै मासु किन्न सक्ने र पोलेको मात्रै शुल्क बुझाउँदा आवश्यक मात्रामा मासु खान पाउने छन् । एक केजी मासु पोलेपछि ५ सय ५० रुपैयाँ पर्नेछ । त्यो अन्य स्थान भन्दा निक्कै सस्तो भएको उपभोक्ताहरू बताउछ्न ।

यहाँ मार्बल तथा ढुङ्गामा मासु पोलिन्छ, पोलेको मासुमाथि टमाटर र टिमुरको अचार राखेर खादा निक्कै स्वाद आउने मासु पारखीहरू बताउँछन् । यहाँको पोलेको मासु खान नियमित आउने गरेको कानेपोखरीका श्रवण लिम्बु बताउँछन् । साथीहरूसँग यहाँ आउँदा छुट्टै किसिमको रमाइलो महसुस र हुने मन शान्त हुने उनी बताउँछन् ।

बङ्गुर मात्र नभई कुखुराको मासु समेत पोलेर बिक्री गरिने गरेको छ । १५ देखी २५ केजी सम्म कुखुराको मासु पोलेरै बिक्री हुने गरेको छ, मासु र चिसो पदार्थ समेत राम्रो बिक्री हुन थालेको स्थानीय व्यवसायी समेत रहेका रोहित धिमालले बताए ।

यहाँ बसेरै खान पाउने सुविधा छ भने शौचालय र पानीको व्यवस्था समेत वनले उपलब्ध गराएको छ । पोलेको मासुको पारखीका लागी यो स्थान उपयुक्त हुनेछ ।

होटेल तथा रेष्टुरेन्टमा पुगेर सेकुवा खाने पारखीहरूको समेत अहिले बासेचौरीमा पुग्न थालेका छन् ।

सामुदायिक वनले जमघट गर्नेका लागि बिश्रामस्थल समेत बनाइदिएको छ । त्यो बाहेक रुख बिरुवाको शीतलतामा बसेर खाजा खानुको बेग्लै आनन्द हुने मासु पारखीहरू बताउछ्न ।

पछिल्लो समय सेकुवा स्टेसनको रूपमा विकास हुँदै गरेको यस क्षेत्रबाट सामुदायिक वनले वन क्षेत्रमै पसल सञ्चालन गरेर वनको आम्दानीमा समेत वृद्धि गरेको छ ।