मोरङ : गत ज्येष्ठ १७ गते बिहीबारका दिन ब्रेड फर द वर्ल्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जालको प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले अन्तरधार्मिक शान्ति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

समुदायमा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्नमा बाधा पुर्याउने तत्त्वहरू र क्रियाकलापहरू पहिचान गरी एक आपसमा आदान प्रदान गर्ने र भिन्न-भिन्न धर्मका अनुयायीहरू बिच संवादको माध्यमबाट मित्रता, शान्ति, धार्मिक सद्भाव र सहिष्णुता कायम गर्न योगदान पुराउने उद्देश्यले सञ्चालित संवाद कार्यक्रमको अतिथिहरूमा क्रमशः अन्तरधार्मिक शान्ति महासङ्घ नेपालका अध्यक्ष श्री रामभक्त कुरुम्बाङ र अन्तरधार्मिक शान्ति सञ्जाल मोरङका सदस्य श्री हरि प्रसाद काफ्ले थिए । संस्थाका अध्यक्ष श्री रामचन्द्र बुढाथोकीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण विकासका लागि साझेदारी परियोजनाका इन्चार्ज श्री नरबहादुर लिम्बूले गरेका थिए ।

सहरीकरणका क्रममा धार्मिक सहिष्णुताको परिभाषा, महत्त्व, आवश्यकता र धार्मिक सहिष्णुता कायम गर्नमा बाधक तत्त्वहरू बारे प्रकाश पारिएको थियो । विचार प्रस्तुत गर्ने क्रममा नेपाल तामाङ बौद्ध गुम्बा लेटाङ नगर समितिका अध्यक्ष श्री राम प्रसाद ग्याबाले अहङ्कार, घमन्ड, रिस, इष्र्याले धार्मिक सहिष्णुतामा खलल पुराउने बताए । त्यसै गरी हिन्दु धर्मका श्री हरि प्रसाद काफ्लेले धर्मगुरुहरूले अतिवादीको बाटो पहिल्याउँदा समस्या आउने गरेको बताए ।

सबै धर्महरूलाई एउटै बनाउन नभएर धार्मिक द्वन्द्व हुन नदिनका लागि अन्तरधार्मिक शान्ति सञ्जाल गठन भएको पनि चर्चा गरे । इसाईका एल्डर श्री दिल राईले एक धर्मले अर्को धर्मलाई कहिल्यै घृणा गर्न नहुने बताए । इसाई समुदायमा सुरुसुरुमा अरू धर्मावलम्बीकोमा मलामी जाँदा मलामी खाजा नखाने गरेको तर पछि प्रार्थना गरी सो खाजा ग्रहण गर्दा शोकाकुल परिवारजनलाई सहानुभूति मिल्छ भनेपछि खान थालेको चाख लाग्दो कुरा सुनाए । 

एक अर्काको धर्मको सम्मान गर्नु पर्ने र समान व्यवहार गरी धार्मिक सहिष्णुता कायम गर्नु पर्ने इस्लामका मो. रहिम अन्सारीले बताए । त्यसैगरी स्वर्गीय मार्ग छुट्टै धर्म नभएर सर्बधर्म एवम् दर्शन भएको श्री मनकुमारी राईले जानकारी गराए । सबै प्राणीलाई प्रेम गर्नु पर्ने कुरामा उनले जोड दिए ।

अध्यात्म र विज्ञानलाई जोडेर धार्मिक सद्भाव कायम गर्नु पर्ने साथै स्थानीय तहले अन्तरधार्मिक शान्ति प्रवचन कार्यक्रम सञ्चालन गरी समुदायमा धार्मिक सद्भाव र सहिष्णुता जगाउनका लागि वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरेर जानु पर्ने समेत सुझाए ।

कार्यक्रममा इस्लाम, इसाई, किरात, बौद्ध, हिन्दु र स्वर्गीय मार्गका गरी २६ जना धर्मगुरु र अनुयायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सिडिएफ नेपालको हलमा सहभोज समेत आयोजना गरिएको थियो ।

Letang Shanti sambaad Karyakram 2