इटहरी : इटहरी उपमहानगरपालिकाले नगर तथा वडा स्तरीय आयोजना सुरु गर्न सकेको छैन । बजेट नीति तथा कार्यक्रमलाई धमाधम कार्यान्वयन गर्नुपर्ने बेला रकम अभावको कारण एउटा पनि योजना सुरु हुन नसकेको हो ।
आर्थिक वर्ष २०८०/०८१ कै भुक्तानी धेरै बाँकी रहेकाले नयाँ योजना सुरु गर्न नसक्ने अवस्थामा उपमहानगर पुगेको छ । दैनिक जसो भुक्तानीको लागि आउने निर्माण व्यवसायी र उपभोक्ता समितिको भिडभाडले लेखा शाखामा भिड नै लाग्छ । भौतिक पूर्वाधार बाहेक अन्य सामाजिक गतिविधिको तोक आदेशमा दिइएका योजनाको भुक्तानीले उपमहानगरलाई झनै समस्यामा पारेको हो ।
उपमहानगरपालिकाले खरिद गरेको रोड वासरको ६५ लाख हाराहारी रकम समेत भुक्तानी हुन सकेको छैन । भुक्तानी वा जवाफ माग गर्दै गत असोजमा विक्रेता कम्पनी स्पार्क अटोमोटीभ्सले निवेदन दिएको थियो । कम्पनीले दिएको निवेदन लेखा शाखामा पुगेर थन्किएको छ । त्यस बाहेक अन्य विक्रेता वा निर्माण कम्पनीले समेत भुक्तानी पाएका छैनन् ।
गत आर्थिक वर्षमा ३४ करोड ८३ लाख ८७ हजार आन्तरिक आम्दानी गरेको उपमहानगरले यस पटक झण्डै तीनसय प्रतिशत बढी अनुमान गरेको छ । अनुमानकै आधारमा नगर स्तरीय योजना छनौट गरे पनि सुरुवात हुन सकेको छैन । गत वर्षको मङ्सिर मसान्त सम्ममा १३ करोड ३७ लाख सङ्कलन गरेको उपमहानगरले यस पटक भने बढाएर १५ करोड ३ लाख पुर्याएको छ । तथापि लक्ष्य अनुसारको सङ्कलन हुने छाटकाट देखिएको छैन ।
आर्थिक वर्ष २०८१/८२ को लागि पारित बजेट नीति तथा कार्यक्रमको कार्यान्वयन भन्दा पनि अघिल्लो आर्थिक वर्षकै दायित्व भुक्तानीमा उपमहानगर लागि परेको छ । योजना शाखा प्रमुख माया राईका अनुसार सङ्घीय र प्रदेश स्तरका योजनाहरूको काम भइरहेका छन् । नगर स्तरका योजना कार्यान्वयनको लागि आदेश नआएको हुँदा कहिले र कसरी सञ्चालन गर्ने अन्योल रहेको उनको भनाइ छ । तत्काल सुरु गर्न अनुमति नपाएको र माघदेखि योजना सुरु हुनसक्ने उनको अनुमान छ ।
इटहरी उपमहानगरपालिकाको आर्थिक ऐनमा भने जेठ मसान्त भित्र योजना पुरा गर्नै पर्ने प्रावधान समेटिएको छ । जेठ पछि नयाँ आर्थिक वर्षको योजना तर्जुमा गर्नुपर्ने भएकाले जेठ अगावै योजना सक्नुपर्ने उपमहानगरको नीति छ । उपमहानगरको आर्थिक नीति र गतिविधि बिच तारतम्य नमिल्दा योजनाहरू प्रभावित हुने सम्भावना बढ्दै गएको छ ।
अघिल्लो आर्थिक वर्षको मात्र ४७ करोड १० लाख ३६ हजार भुक्तानी यस आर्थिक वर्षमा सरेको उपमहानगरको बजेट पुस्तीकामा उल्लेख छ । मेयर कोष मार्फत खर्च भएको २ करोड ५० लाख भुक्तानी बाँकी रहेको छ । त्यस्तै मिस गिट्टी खरिदको एक करोड, खुल्ला व्यायामशाला निर्माणको २० लाख, निःसहाय बाल आश्रम निर्माण २० लाख र चतरा धाम कुम्भमेलाको अनुदान सहयोग १० लाख भुक्तानी सरेर आएको छ । यस बिचमा केही भुक्तानी भएपछि अधिकांश बाँकी छन् ।
५२ वडा सडक कालोपत्रे गर्न जम्मा १ करोड बजेट !
उपमहानगरपालिकाको रातो किताबमा कतिपय झुलाउने खालका योजना छन् । ५२ वटा विभिन्न सडक कालोपत्रे गर्नको लागि जम्मा १ करोड बजेट विनियोजन भएको छ । ६ वटा कालोपत्रे मर्मतमा पनि १ करोड नै छुट्टाइएको छ । १८ ठाउँमा निर्माण हुने इन्टरनल ब्लकको लागि सोही अनुपातमा एक करोड राखिएको हो ।
पुँजीगत तर्फ विनियोजन भएको २ अर्ब २६ करोड ६३ लाख ८८ हजार बजेट कार्यान्वयनको चरणमा प्रवेश गर्न नपाई नयाँ आर्थिक वर्षको योजना छनौट हुने अवस्था सृजना भएको छ । वडा स्तरीय योजना सुरु हुनु अगावै नगर सभाको तयारी भइरहेको छ । नगर सभाबाट योजना संशोधन गरेपछि मात्र कार्यान्वयनमा जान सक्ने कार्यपालिका सदस्यहरू बताउँछन् ।