धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुबीचमा मिलाप नहुदा प्रतिष्ठान अपेक्षा अनुरुप अघि बढ्न सकिरहेको छैन । एक पछि अर्को विवादमा प्रतिष्ठान फसिरहेको छ । प्रतिष्ठानको मुख्य चार पदाधिकारीहरु अहिले दुई गुटमा बाडिएका छन् । उपकुलपति डा. राजकुमार रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साह एकातर्फ छन् रेक्टर डा.गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ अर्को पक्षमा छन् । प्रतिष्ठानका पदाधिकारीहरुबीचको वेमेल र शक्ति संघर्षले प्रतिष्ठान आफ्नो लक्ष्य र उद्देश्यअनुसार अघि बढ्न नसकेको भन्दै कर्मचारी र धरानबासीहरु भने चिन्तित छन् ।

सरकार परिवर्तन भएपछि राजनीतिक नेतृत्व आफ्नो स्वार्थ अनुरुप आफ्नालाई नियुक्ती दिलाउने खेलले प्रतिष्ठानको सेवाहरु पनि प्रभावित छ । उपकुलपति रौनियारलाई हटाउने खेलमा रजिष्ट्रार र रेक्टर लागिपरेका छन् । उपकुलपतिमा डा.रौनियार आएलगत्तैदेखि राजिष्ट्रार र उनीबीच विवाद शुरु भएको थियो । कर्मचारीहरु पदाधिकारीबीचको द्धन्दले प्रतिष्ठान धरासायी हुदै गएकोमा चिन्ता प्रकट गर्छन् । नाम नखुलाउने सर्तमा एक कर्मचारी भन्छन्,‘यो तरिकाले त प्रतिष्ठान अघि बढ्नै सक्दैन, धरासायी हुदै जान्छ । एकले अर्काेलाई हटाउन उनीहरु उद्दत छन् ।’ प्रतिष्ठानमा करिब डेढ बर्षअघिदेखि ठुला परियोजनाहरु अघि बढ्न सकेको छैन । निर्माणाधिन ४ सय बेडको मातृशिशु भवन अलपत्र छ भने २ सय बेडको अंकोलोजी र २ सय बेडकै कार्डियोलोजी भवन निर्माण योजना पनि अघि बढ्न सकेको छैन । यी महत्वपुर्ण योजनाहरु अघि बढ्न नसक्नुमा पदाधिकारीबीचकै वेमेल र द्धन्द मुख्य कारक भएको कर्मचारीहरुको भनाई छ । रेक्टर डा. गुरु खनाल पदाधिकारीबीचमा बेमेल भएको स्वीकार गर्दै आफु नियुक्ती भएदेखि नै पदाधिकारीहरुबीचमा छलफल हुनुपर्छ भनेर निरन्तर पहल गरिरहेको बताउँछन् ।

IMG_1052 1

‘प्रतिष्ठानको अवस्था बिग्रदै गएको छ, पदाधिकारीबीचमा छलफल भएको छैन,’उनी भन्छन् । पछिल्लो समय प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि यहाँका पदाधिकारीबीचको द्धन्द उत्र्कषमा पुगेको हो । समिति सदस्यमा प्रतिष्ठानकै रेक्टर डा.खनाल र रजिष्ट्रार श्रेष्ठ छन् । कांग्रेस निकट उपकुलपति डा.रौनियार स्वास्थ्यमन्त्री गगन थापा हुदा नियक्ती भएका हुन् । रजिष्ट्रार श्रेष्ठ पुर्वएमाले र रेक्टर डा.खनाल पुर्वमाओमावादी(हाल दुवै नेकपा) निकट हुन् ।

वाम गठबन्धनको सरकार बनेसँगै यहाँका पुर्वएमाले(ओली गुट) उपकुलपति रौनियारलाई हटाउन सक्रिय छ । त्यसमा वर्तमान स्वास्थ्यमन्त्री यादवको पनि स्वार्थ गाँसिएको छ । रौनियारलाई हटाउन पाए सहकुलपति(स्वास्थ्यमन्त्री)को संयोजकत्वमा गठित समितिले सिफारिश गरेको व्यक्ति उपकुलपतिमा नियुक्ती हुन्छन । पदाधिकारीमा अपारदर्शी नियुक्ती प्रक्रिया र सत्ता स्वार्थको यही द्धन्दले पनि समस्या निम्तिएको यहाँका बुद्धिजिविहरु बताउँछन् । धरानका बुद्धिजिवि एवं महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा.राजेन्द्र शर्मा पनि पदाधिकारी र सत्ताको स्वार्थको टकरावले प्रतिष्ठान समस्याग्रस्त बनेको बताउँछन् । ‘स्वार्थ बाझेर बीपी अधोगतितिर गएको हो । जे भइरहेको छ, त्यो सबै पदाधिकारीमा र सत्तामा स्वार्थको टकरावले निम्तिभएको हो,’डा.शर्मा भन्छन्,‘जबसम्म नियुक्ती पारदर्शी हुदैन, पैसाको चलखेल बन्द हुदैन र नैतिकवान मान्छे आउदैनन्, तबसम्म अनैतिक काम भइनै रहन्छ ।’

उपकुलपतिलाई हटाउन चलखेल
स्वास्थ्यमन्त्रीको संयोजकत्वकमा गठित छानबिन समितिले उपकुलपति डा.रौनियारलाई स्पष्टीकरण सोधेको छ । ‘उपकुलपतिलाई संयोजक ज्युबाट स्पष्टीकरण सोधिएको हो, छानबिनको सबै बिषय समेटेर सोधिएको छ,’रेक्टरसमेत रहेका छानबिन सदस्य खनालले भने,‘अभिभावकले सबै जवाफ दिनुपर्छ ।’ उपकुलपति डा.रौनियार भने आफ्नो पालामा नभएको अनियमितताबारे आफुलाई नियतवश फसाउने खेल भइरहेको बताउछन् । ‘अनियमितताबारे छानबिन भइरहेको मेरो पालाको होइन, पहिलाकै पालाको हो । त्यसमा रजिष्ट्रार, रेक्टर पनि कार्यकारिणी समितिमा थिए,’उनी भन्छन् ।  उपकुलपतिलाई स्पष्टीकरण सोधिएपछि उनलाई हटाउने खेल शुरु भएको आशंका गरिएको छ ।

प्रतिष्ठानको ऐन २०४९ दफा ११ घ वमोजिम सहकुलपतिको अध्यक्षतामा गठन गरिएको हुनाले उपकुलपतिलाई पदमुक्त गर्न बनाइएको बताइएको छ । ऐनको दफा ११ घ मा प्रतिष्ठानको उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक(चार पदाधिकारी)लाई पद अनुसारको दायित्व पुरा नगरे कुलपतिले सहकुलपतिको अध्यक्षतामा २ सिनेट सदस्यसहितको छानबिन समिति गठन गरेर सिनेटको बहुमत सदस्य संख्याबाट हटाउन सक्ने व्यवस्था छ ।  यद्यपी, पदाधिकारी आफै छानबिन समितिमा बसेर गरिने छानबिन निष्पक्ष नहुने टिप्पणी पनि भइरहेको छ । ‘आफै निर्णय प्रक्रियामा बस्ने अनि आफै छानबिन गर्ने पनि छानबिन हुन्छ ? यो छानबिनले निष्पक्ष छानबिन गर्छ भन्ने हैसियत नै राख्दैन । यसको क्षमता, निष्पक्षतामाथि त प्रश्न उठिसकेको छ,’ प्रध्यापक डा.शर्माले भने । छानबिन समितिका सदस्य एवं रेक्टर डा. खनाल भने समितिले आफुहरुमाथि पनि छानबिन गरेको बताए । ‘हामीलाई कुलपतिबाट जे जिम्मा दिएको हो, पुरा गरेका छौं । मैले गरेको गल्ती छ र इभिडेन्स भेटियो भने पनि त्यसमा छानबिन हुन्छ । कसैलाई काखा र पाखा हुदैन,’उनले भने ।

Rajistar Tulbdr sth 2