इटहरीः इटहरी क्षेत्रमा रहेको तरकारी बजारसँगै मासु व्यवसायसमेत ब्यवस्थित गर्ने उद्देश्यका साथ दुई बर्षअघि स्थापना भएको पशु बधशाला प्रयोगविहिन भएको छ ।

भौतिक पूर्वाधारसहितका सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी निर्माण गरीएको इटहरी हटियालाइनस्थित पशु बधशाला यतिबेला प्रयोगबिहिन बनेको हो । बैज्ञानिक पशु बधशालासँगै ब्यवस्थित तरकारी बजार मासु पसल सञ्चालन गरीने उद्देश्यका साथ पशुपंक्षी महानिर्देशनालय, आवास तथा शहरी विकास विभाग र इटहरी उपमहानगरपालिकाको १ करोड बढी लगानीमा बधशाला स्थापना गरिएको थियो । अहिले बधशाला भवनहरू अहिले लथालिङ्ग अवस्थामा छ ।

माछामासु र तरकारीजन्य बजार ब्यवस्थापन गर्ने उद्देश्यले निर्माण भएको उक्त क्षेत्र हाल दुर्गन्ध फैलाउने थलो बनेपछि स्थानीयहरू अक्रान्त बनेका छन् । मासु काटि सकेपछि नियमित सरसफाइ नहुँदा त्यसबाट फैलिएको दुर्गन्धका कारण स्थानीयहरू मार्कामा परेका छन् भने पैदल यात्रीहरू नाक थुनेर हिडन बाध्य छन । सोही आसपास किराना पसल सञ्चालन गर्दै आएका ब्यवसायीहरू समेत अब सो स्थानमा पशु बधशाला सञ्चालन गर्न नदिने अडानमा छन् । बधशाला ब्यवस्थित नहुदा फालिएको फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै हैजाको संक्रमण फैलिने खतरा बढेको भन्दै स्थानीयहरू आक्रोसित छन् ।

यता तरकारी व्यवसायीहरूको पनि गुनासो उस्तै रहेको छ । आरामले इटहरीको आइतबारेमा पसल सञ्चालन गरिरहेका उनीहरूलाई उपमहानगरले हटिया लाइनमा ल्याएर राखे पछि कुनै समस्या सुन्न नमानेको गुनासो गर्छन् । व्यापार पनि खस्किएको जुट बिकासकी कमला पोख्रेलले गुनासो पोखिन् । उपमहानगरले यत्रतत्र छरिएका इटहरीका तरकारी ब्यापारीहरूलाई एकै स्थानमा ब्यापार गर्न करोडौ खर्च गरी ब्यवस्थित पशु बधशालासँगै तरकारी बजारको स्थान तोकेर आइतबारेबाट हटियालाइनमा सारेको थियो तर उपमहानगरले तोकेको स्थान ब्यवस्थित र भरपर्दाे नभएको भन्दै केही ब्यापारीहरू बिरोध स्वरूप पुरानै ठाउमा फर्केर गएका छन् भने केही अझै पनि सोही स्थानमा तरकारी बिक्री गर्दै आएका छन ।

मासु पसलसँगै तरकारी पसल सञ्चालन गर्न भनि हटीया लाइनमा ४० भन्दा बढी सटरका कोठाहरू बनाइएका छन् । ति सबै प्रयोगबिहीन अवस्थामा छ । केहीले ब्यवसाय सुरू गरे तर दैनिक रूपमा काटिने मासुको दुर्गन्धका कारण पलायन भइसकेका छन् । इटहरी हटियालाइन अगाडि बसोबास गर्दै आएका इन्द्र बहादुर श्रेष्ठले सुरूवाती समयमा सानो किराना पसल सञ्चालन गर्ने एउटा सटर भाडामा लिएका थिए । तर दैनिक रूपमा काटिने मासुको दुर्गन्धका कारण ३ महिना पनि चलाउन नसकेर छोडेको उनले बताए ।

सोही स्थानमा मासु ब्यवसाय गर्दै आएका व्यापारी नगेश राईले भने मासिक रूपमा ७ हजार सटर भाडा तिरेर ब्यवसाय गरेपनि उपमहानगरले दिनुपर्ने सेवा सुविधा नपाएको गुनासो पोखे । हरेक हप्ता सरसफाई शुल्कदेखि हड्डी उठाउने ठेक्का लिएकाहरुलाई समेत शुल्क तिर्दै आएको तर समयमा ठेकेदारले काम नगरेपछि सो स्थान दुर्गन्धित बनेको ती व्यावसायीको भनाई छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसँग सम्पर्क गर्दा उनले सो बिषयमा धेरै गुनासो आएकोले सबै पक्षसँग बसेर छलफल गरी सामधान निकाल्ने बताए । उनले तरकारी ब्यवसायलाई अझ ब्यवस्थित बनाइने पनि बताए ।