धरान: नगर प्रमुख हर्क साम्पाङले बजेटको प्रक्रिया पुरा नगरी नगर सभाको मिति तोक्न आज आइतबार बोलाएको बैठक बस्न २८ जना कार्यपालिका सदस्यहरूले असहमति जनाए पछि  कार्यपालिका बैठक  स्थगित भएको छ ।
प्रमुख साम्पाङसंग कार्यपालिका सदस्यहरूले बजेट तर्जुमा सम्बन्धी कानुनी प्रक्रिया र औचित्य पुरा गरेर मात्र कार्यपालिका बैठक डाक्न लिखित रूपमा माग गर्दै आजको बैठक बस्न नसक्ने जानकारी पत्र बुझाएका हुन । 
बैठकको सुरुमै नगरप्रमुख उपप्रमुख अईन्द्र विक्रम बेघाले २८ जना कार्यपालिका सदस्यहरूको हस्ताक्षर सहितको माग पत्र प्रमुख साम्पाङ लाई बुझाएका थिए ।
पत्र बुझदै नगरप्रमुख साम्पाङले भने ‘त्यसो भए नगर सभा नहुने भो तँ, तयारी पुगेन भन्ने लिखित पत्र नै आयो, लिखित पत्र नै प्राप्त भए पछि प्रक्रिया नपुगेको र तयारी नपुगेको नै त होला नि, खै अव के भन्ने ? बैठक स्थगित भयो’ भन्दै बैठक कक्षबाट बाहिरिए ।  
पत्रमा प्रमुख साम्पाङले बजेट तथा कार्यक्रम तर्जुमा समितिसँग छलफल बैठक नगरी पूर्व तयारी विना कार्यपालिकाको बैठक राखेको उल्लेख छ ।  
उनीहरूले बजेट तथा कार्यक्रम तर्जुमा समितिको छलफल गरी कानुनी प्रक्रिया र औचित्य पुरा गरेपछि मात्र कार्यपालिका बैठक राख्न आग्रह गरेका छन् ।
उपप्रमुख बेघाले सिलिङ बजेट पूर्ण नभएको बताउँदै भने ‘श्रोत अनुमान तथा सीमा निर्धारण समिती नगर प्रमुखको संयोजकत्वमा हुन्छ तर उहाँको नेतृत्वमा बैठक बसेको छैन ।’
श्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेपछि मात्र बजेट तथा कार्यक्रम तर्जुमा समितिको छलफल हुनै अनि मात्र कार्यपालिका बैठक बस्ने प्रावधान भएको उनले बताउँदै भने ‘छ तर यहाँ केही भएको छैन ।’
नगर प्रमुख साम्पाङले पहिलो एजेण्डा नगर सभा राखेका थिए । राजस्व परामर्श समितिको बैठक बसेर समितिले ले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट हुनुपर्छ वैशाख ३१ गते प्रतिवेदन बुझाइ सकेको बताउँदै उपप्रमुख बेघाले भने ‘तर नगर प्रमुखबाट केही प्रगति वा छलफल नभई एक्कासी कार्यपालिका बैठकको सूचना आयो हामी छक्क पर्यौे ।’ 
उनले कानुन र विधि सम्वत जानु पर्नेमा कानुन र विधिको ठाउँमा प्रमुख साम्पाङ एकोहोरो आफ्नै ढिपीमा रहेको बताउँदै भने ‘अनि कसरी बैठक बस्छ ?’
नगर प्रमुखलाई हस्तान्तरण गरेको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को उपदफा ६ को १ बमोजिम स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा वैशाख १५ गते भित्र विषयगत महाशाखा÷शाखा  तथा वडाहरूलाई उपलब्ध गराई सक्नुपर्ने प्रावधान रहेको उल्लेख छ ।
तोकिएको सीमा भित्र रहेर बजेट तथा कार्यक्रम  तर्जुमा समितिले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी असार १० गते अगावै कार्यपालिका बाट अनुमोदन गराई असार १० गते स्थानीय तहको सभामा पेश गर्ने प्रावधान रहेता पनि कुनै तयारी विना नै कार्यपालिकाको बैठक बस्न नसक्ने पत्रमा उल्लेख छ ।
patra