सायद, मह (मदनकृष्ण–हरिवंश) जोडीको टेलिफिल्म ‘सुर बेसुर’ हुनुपर्छ, पात्र हरिवंश आचार्यले आफू जहिले पनि दौडमा पहिलो भएको बताउँदै कारण दिएका छन्–‘छिमेकीको कुखुरा बोकेर (?) एक्लै कुदेको । छिमेकीहरुले पछाडिबाट लखेटेको ।’ पञ्चायतकालको एकदलीय चरित्रलाई व्यङ्ग्य गरिएको त्यसबेलाको उदाहरण आज पनि उस्तै देखिएको छ । जबकि नेपालको राजनीतिमा आफ्नो अस्तित्वकोलागि सहकार्यमात्र होइन आवश्यकताअनुसार एकीकरणको समेत उदाहरण सार्वजनिक भइसकेको छ । तर, स्थान विशेष वा प्रादेशिक भूगोलको राजनीति गर्ने राजनीतिक दलहरु एक्लै कुदेर प्रथम हुने चिन्तनबाट मुक्त हुन सकेको देखिन्न । जो मूलरुपले पहिचानवादी शक्तिको नाममा जडसुत्रवादी चिन्तनमात्रै हो । नेपालको केन्द्रीय राजनीतिमा आधारभूत दर्शन वा विचार मिल्ने शक्तिहरु एकीकरण वा विलयको प्रक्रियामा आएर नयाँ मोड ल्याइसकेको छ । केन्द्रीय राजनीतिको यो अवस्थालाई विश्लेषण गर्दै प्रदेश–१ को पहिचानी नामको लागि अब प्रादेशिक शक्तिहरुले एक्लै कुदेर प्रथम हुनेभन्दा पनि सँगै हिँडेर सँगै प्रथम हुने चिन्तन बोक्नै पर्ने देखिएको छ ।

यसबेला प्रदेश–१ को नामकरण के हुने भन्ने सवाल गम्भिररुपमा उठिरहेको बेला प्रादेशिक भूगोलमा रहेका पहिचानवादी शक्तिहरु क्रान्तिकारी हुने वा बनिने नाममा एक्लै कुदिरहेका छन् । यसले व्यक्तिको महत्वकांक्षालाई त पुरा गर्ला तर अधिकार प्राप्तिको सवालमा फेरि पनि हात लाग्यो शुन्यमा झर्नु पर्ने देखिन्छ । प्रदेश नामाकरणको महत्वपूर्ण घडीमा आधारभूत दर्शन वा विचार मिल्ने शक्तिहरु एक ठाउँमा केन्द्रित हुनु पर्ने बेला केही शक्तिहरु च्याब्रुङ बजाउँदै आफ्नै लय हालिरहेका छन् । तर, आफ्नै सुरका ती लयहरु मुख्य लय वा धारभन्दा कोशौंपर र फरक कोणमा उभिएका छन् । अर्थात, पहिचानसहितको संघीयताको विपक्षमा देखिएको केन्द्रीय शक्तिको मनोविज्ञान र चाहनालाई आफैले मलजल गरिरहेको छ । हामी च्याब्रुङ बजाउनेहरु आप्mनै लय वा धारलाई अन्तिम सत्य मानिरहेका छौं । आफैलाई मात्र अन्तिम सत्य मान्ने प्रादेशिक राजनीति गर्ने शक्तिको यस्तो मनोविज्ञानले प्रदेश–१ लाई पहिचानी नाम नदिन केन्द्रीय शक्तिलाई थप बल पुगेको छ । खासमा अहिले आफ्नै लयको च्याब्रुङ बजाउनु छोडेर न्युन क्षतिमा अधिकतम् प्राप्तीको तयारी गर्नु पर्ने बेला हो ।

पहिचानसहितको प्रदेशको नामकरणको सवालमा आधारभूत दर्शन वा विचार मिल्ने शक्ति एक ठाउँ नआइ सुखै छैन । एकले अर्काेलाई निषेध गर्दा निषेधले ल्याउन सक्ने प्रतिफलको पनि आङ्कलन गर्न जरुरी छ । मुख्यतयः प्रदेश–१ को पहिचानी नाम ‘किरात प्रदेश’ लाई आधारभूत रुपमा स्वीकार गरेर जानसके जनदवाव सिर्जना गर्न सक्ने देखिन्छ । ‘किरात’ नाम वैदिक कालदेखिको निरन्तरता वा इतिहासमा उल्लेखित भएको हुनाले पनि अन्य प्रचारमा आएको नामजस्तो साम्प्रदायिक पनि देखिन्न । प्रा.डा. टङ्क न्यौपाने, प्रा.डा. युवराज सङ्ग्रौला, प्रा.डा.जगमान गुरुङ, विश्लेषक तथा पत्रकार भवानी बराल (थाहा खबर अनलाईनको लेख–लिम्बूहरु किरात हुन् ?) विद्वान कमल तिगेला लिम्बू(कमल तिगेलाको संघीय प्रस्ताव, पुस्तक–‘यस्तो हुनुपर्छ राज्यको संरचना’ ) जस्ता विद्वत वर्गले ‘किरात’ नामलाई अस्वीकार गर्न सकेका छैनन् । किरात नामले सम्पूर्णतालाई सम्बोधन गर्ने भएकोले पनि प्रदेश–१ को नाम ‘किरात’ शिरोपर गरेर एकीकृत शक्ति निर्माण गर्न सके हामीले खोजिरहेको प्रदेशको पहिचानी नाम पाउन सक्छौं । यो बेला एकले अर्काेलाई अस्वीकार गरेर सानो साधन टेम्पोको चालक हुनुभन्दा पनि आधारभूत दर्शन वा विचार मिल्ने अर्काे शक्तिलाई स्वीकार गरेर जेट विमानको पाइलट हुनु नै बुद्धिमानी ठहर्छ । यद्यपि, प्रदेश–१ को पहिचानी नामकोलागि एक ठाउँ भेला हुन नसक्नु आफ्नै च्याब्रुङको धुनमात्र सुरिलो र ठूलो लाग्ने हुनु हो । पहिचानवादी शक्तिहरु यस्तोखाले भ्रम र मनोविज्ञानबाट मुक्त हुन जरुरी छ, जसरी तत्कालिन नेकपा(माओवादी)ले हतियारको राजनीतिले मात्र राजनीतिक परिवर्तन सम्भव देखेन र अर्काे रणनैतिक बाटो अख्तियार गरेका थिए । जुन, बाटोका कारण आज हामी प्रदेश पहिचानी नामको बहस गरिरहेका छौं ।

पहिचानवादी शक्ति एकले अर्काेलाई समर्थन गरेको अहिलेको ज्वलन्त उदाहरण हेर्ने होभने स्पेनको क्याटालन आन्दोलनलाई लिन सकिन्छ । राजनीतिकरुपले सन् १९२२ देखि स्वतन्त्र क्याटालन देशको माग गर्दै आएको स्पेनको क्याटालोन क्षेत्रभित्र जातीय वा भाषिकहिसाबले ४ समुदायको वर्चश्व छ । क्याटालन (Catalan) कास्तिललानो (Castillano) बास्क (Basques ) र गालिसिका (Gallicica) यी चार समुदायले क्याटलन स्वतन्त्रता आन्दोलनलाई भरपुर सहयोग गरिरहेको छ । उनीहरुको बुझाई छ, क्याटालन त्यहाँ बसोबास गर्ने ऐतिहासिक जाति क्याटालोनियनहरुको हो । त्यसैले स्पेनबाट छुट्टिएर क्याटालोन देश निर्माणकोलागि सबै प्रकारको सहयोग गरेको छ । यहाँसम्म कि क्याटोलन क्षेत्र स्पेनमा रहने कि अलग रहने भन्ने विषयमा मतदान (सन् २०१७ अक्टोबर १)हुँदा सबैले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । रमाइलो कुरा त के भने क्याटालन क्षेत्रमा रहेका बास्क जाति जो स्पेन र फ्रान्समा फैलिएर रहेको छ (जसले बास्क स्वतन्त्र राष्ट्रकोलागि सन् १९५९ देखि सन् २०११ सम्म हतियार उठाएको थियो । )ले क्याटालन स्वतन्त्रताको पक्षमा मतदान वा आवाज उठाइरहेको छ । ETA Movement भनेर चिनिने बास्क जातिको आन्दोलनले राम्रो गरि बुझेको कुरा के हो भने क्याटालन स्वतन्त्र नभइ हामी स्वतन्त्र हुन सक्दैनौं । त्यसैले उनीहरुबीच एकापसलाई सहयोग वा समर्थन गरिरहेका छन् । बास्क जातिले कहिले पनि ‘हामी हतियार उठाएको आएको’ भन्ने दम्भ पालेको देखिन्न । बास्क जातिले स्पेनी सत्ताको चरित्रलाई राम्रोसँग बुझेको कारणले नै आधारभूत दर्शन वा विचार मिल्ने शक्तिहरुबीच कार्यगत एकता गरेर आप्mनो भविष्य पनि सुनिश्चित गर्न खोजिरहेको छ । एकले अर्काेलाई सम्मान र सहकार्य गरेकै कारणले स्पेनको फुटबल क्लब बार्सिलोनाले फुटबलमात्र खेलिरहेको छैन, आफ्नो मैदान अल क्लासिकोमा स्वतन्त्र क्याटलनको झण्डा पनि फर्फराउने गरेको छ । अर्थात, खेलमार्फत पनि स्वतन्त्र क्याटालन आन्दोलनलाई उचालिरहेको छ । प्रदेश–१ को पहिचानी नामकरणको सवालमा एउटै समाजिक, सांस्कृतिक र मनोविज्ञानको पृष्ठभूमिबाट आएका पहिचानवादी शक्ति एक कित्तामा उभिनै पर्छ । एक्लै दौडेर ‘सुर बेसुर’ टेलिफिल्मको पात्रको चरित्रलाई पुनरावृत्ति गर्नु भन्दा हातेमालो गरेर सहकार्यको राजनीतिलाई सम्मान गर्न सक्नुपर्छ । आन्दोलनलाई निर्णायक बनाउने सोच गर्ने हो भने आफ्नो भूमिका वा मुद्दा कमजोर हुने आशंका पाल्नु हुन्न । एउटा राजनीतिज्ञ त्यो मनोदशाभन्दा माथि उठ्न सक्नुपर्छ ।

आफूलाई केन्द्रमा राख्ने आत्मकेन्द्री विचारको मनोविज्ञान बोकेकाहरुले जर्मनीको इतिहास हेरे हुन्छ । दुई फरक देश पूर्वी जर्मनी र पश्चिम जर्मनी पनि मिलेर एउटै देश जर्मनी बनेको छ । दोस्रो विश्वयुद्ध समाप्तिसँगै निर्माण भएको पूर्वी जर्मनी र पश्चिम जर्मनी देशभित्र भूगोल अनुकुल सम्भावित नेतृत्वहरु थुप्रै जन्मिएका थिए । तर, पनि बर्लिनको पर्खाल (सन् १९८९ नोभेम्बर ९) भत्काउँदै दुवै देशका नेताहरुले आफ्नो अहङ्कार र महत्वकाङ्क्षा त्यागेर एउटै जर्मनी देश बनाए । एउटै जर्मनी देश बनाउनकोलागि पूर्वी जर्मनीका प्रधानमन्त्री हान्स मोड्रो र पश्चिम जर्मनीका चान्सलर हेल्मुट कोलले सकारात्मक भूमिका नखेलेको भए जर्मनीको पुनः एकीकरण सम्भव थिएन । तत्कालिन नेताहरुले आफ्नो राजनीतिक भविष्य जर्मनी समृद्धिसँग जोडेर हेरेकोले नयाँ र शक्तिशाली जर्मनी देशको उदय भयो । जर्मनीको यो इतिहासले हामीलाई नेताको नायकत्वलाई स्थापित गराउने महत्वकाङ्क्षा राख्नुभन्दा पनि भविष्यको पुस्तालाई कता लाने वा के योगदान दिने ? भन्ने सकारात्मक पाठ दिएको छ । जर्मनी एकीकरणपछि नेतृत्वमा हान्स मोड्रो आएनन् तथापि उनको योगदानले आधुनिक जर्मनी स्थापना गर्न मद्दत गर्यो । प्रदेश–१ को पहिचानी नामको सवालमा पनि पहिचानवादी शक्तिहरुले प्रदेशलाई साझा पहिचानी नाम दिलाउनकोलागि पहल गर्नु आवश्यक छ । साझा पहिचानी नाम छोडेर ‘मेरो–तेरो पहिचान’ मा मुद्दा केन्द्रित भयो भने पहिचानी नाम दिने ऐतिहासिक अवसरबाट समग्रमा पहिचानवादी शक्तिहरुको हार हुनेछ । मुद्दालाई ‘तेरो–मेरो’ मा केन्द्रित गर्ने हो भने अल्पकाललाई केही नेतृत्वहरु स्थापित हुन सक्छन् वा उनीहरु देवत्वको रुपमा पुजिएलान् । या, उनीहरुको व्यक्तिगत श्रीवृद्धि वा नायकत्व स्थापित होला, समग्र मुद्दाको अवस्था बेवारिसे हुन्छ ।

नेतृत्वले आफ्नो अहङ्कार वा महत्वकाङ्क्षलाई त्यागे दुई जर्मनी पनि एक हुन सक्छ भने प्रदेश–१ को पहिचानी नाम ‘किरात’ राख्नमा त्यति ठूलो सकस हुने केही तर्क देखिन्न । प्रदेश–१ को पहिचानी नाम ‘किरात प्रदेश’ हुने आधारहरुमा इतिहास मिल्छ, संस्कृति मिल्छ, भूगोल मिल्छ, मनोविज्ञान मिल्छ, नृवंश शास्त्र मिल्छ, ऐतिहासिक निरन्तरता मिल्छ तर नमिलेको के त ? स्पष्ट छ–अहङ्कार र महत्वकाङ्क्षा । माथि नै पनि भनियो, स्पेनको क्याटालन स्वतन्त्र आन्दोलनमा अर्काे स्वतन्त्र आन्दोलन चलाइरहेको बास्क जातिले पनि समर्थन गरिरहेको छ । अर्थात, एउटा शक्तिले अर्काे आधारभूत दर्शन मिल्ने शक्तिलाई सहयोग गरिरहेको छ । तसर्थ, नेतृत्वले लामो दृष्टिकोण दिन सके प्रदेश–१ लाई साझा पहिचानी नाम ‘किरात प्रदेश’ बनाएर पछिल्लो चरणमा किरात प्रदेशभित्रबाट अर्काे पहिचानी संघीय प्रदेश खोज्न सजिलो हुन्छ । आधारभूत कुरा मिलेर पनि नेतृत्व खुम्चिएर आफ्नै च्याब्रुङ बजाउनु आफूलाई देवत्वकरण गर्ने र आन्दोलनको नेता भइरहने सुअवसरमात्र हो, परिणाम केही दिन सक्दैन । हामी परिणाममुखी बन्ने होभने अहिलेलाई ‘किरात’ स्वीकार गरेर भविष्यमा ‘किरात’ बाट अर्काे विकल्प खोज्न सकिने दीर्घकालिन सोच तयार गर्न आवश्यक छ । 

[email protected]

(यो लेख लेखकका निजी विचार हो )