धरान : एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग डेंगु ज्वरोको विरामी धरानमा फेला परेको छ ।
भोजपुर जिल्ला स्थायी घर भएपनि धरान १० धर्मपथमा डेरा गरी बस्ने एक ३० बर्षीय युवामा डेंगु रोग भेटिएको हो । उनको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको छ । कार्तिक १४ गते ज्वरो आएर उपचारको लागि भर्ना भएका ती युवाको परिक्षण पश्चात १५ गते डेंगु भएको पत्ता लागेको अस्पताल निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनले भने,‘घर भोजपुर भएपनि यहाँ डेरा गरेर बस्दै आएका रहेछन् । बाहिर कतै जानुभएको थियो भनेर पनि सोधेँ, होइन भन्यो । उनलाई डेंगु भएको पुष्टि भइसेको छ ।’


डेंगुको विरामी भेटिएको खबर पुगेपछि आज सोमबार बिहान कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा स्वास्थ्य सम्बनिध आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले तत्काल औषधीसहित ग्याँस स्प्रे गर्ने, तिहारपछि लार्भा नष्ट गर्ने कार्य गर्ने निर्णय गरेको उपमहानगरको स्वास्थ्य संयोजक घनश्याम सिग्देलले जानकारी दिए । उनले भने,‘बीपी प्रतिष्ठानसँग समन्वय गरेर विरामी कहाँका हुन् रु कसरी उनलाई डेंगु भयो भनेर सर्वेक्षण गर्ने निर्णय भएको छ ।’ उक्त बैठकले विरामी बसोबास गर्ने क्षेत्रमा ज्वरोको अवस्था पनि हेर्ने निर्णय भएको उनले बताए ।
डेंगु रोगको अध्ययन गरिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एडिस्नल प्रोफेसर डा।नारायण भटराईका अनुसार एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ । त्यसैले दिउँसो लामखुट्टेबाट टोकिनबाट मानिस जोगिनुपर्छ । यसको लागि लामो बाहुला भएको कपडा लगाउने, म लामखुट्टेले नटोक्ने क्रिम दल्ने लगायत उपाय गर्नुपर्छ । ‘यो लामखुट्टे जमेको तर सफा पानीमा बस्छ, त्यसैले आफु बस्ने वरीपरी फलेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरुमा पनि पानी जम्न दिनुहुदैन,’डा। भटराईले भने,‘बीपी डेंगुको रिफरल सेन्टर हो, यहाँ राम्रो उपचार हुन्छ ।’


डेंगु ज्वरोको मुख्य लक्षणहरु
डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोको साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा विमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने पनि हुन्छ ।
चिकित्सकहरुका अनुसार ज्वरो आउनुका साथै २ भन्दा बढी लक्षणहरु देखापरेमा डेंगु ज्वरो भएको हुनसक्छ । यसबाहेक वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का९निलडाम० देखापर्ने, बेहोस हुने लगायत लक्षणहरु पनि देखापर्न सक्छ ।
डेंगु ज्वरोको उपचार
डेंगु ज्वरो भाइरसको कारणबाट हुने भएकोले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार हुन्छ । ज्वरो घटाउन चिकित्सकको सल्लाह अनुसार सिटामोल र प्रशस्त झोल पदार्थ खानुपर्छ । डेंगु लागेको शंका भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जानुपर्छ ।