धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरियम हल भरिए पछि डाक्टर एसपी रिमाल पोडियममा देखापरे, अनि भन्न थाले,‘जब इर्मेजेन्सीमा काम गरिरहेका हुन्छौं, रगतपच्छे मान्छे आउछन् । हामी उपचारमा जुट्छौ र ज्यान बचाउछौ । त्यतिबेला औधी खुशी हुन्छौ, तर त्यो खुशी कसैलाई भन्न सक्दैनौ,देखाउन सक्दैनौ । अनि, संगीतको धुन निकालेर खुशी व्यक्त गछौं ।’

डाक्टर रिमालले थप अगाडि भने,‘जब ५ मिनटअघिसम्म सबै राम्रो भएको विरामी एक्कासी जटिलताले मर्नपुग्छ, हामी पनि रुन्छौ । अमेरिका, युरोपमा पनि जटिलताले मान्छे मर्छन् । आँखैअघि विरामी मर्दा हामी पनि रुन्छौ, तर जब आफन्तले लापरवाही भएको आरोप लगाउछन्, र भोलीको पत्रिकामा समाचार आउछ, त्यसबेलाको पीडा कसैलाई पोख्न सक्दैनौ,अनि हामी कोही गितार बजाउछौ, कोही तबला, कोही किबोर्ड बजाउछौ र पीडा पोख्छौ । यसरी खुशी, पीडा पोख्दा पोख्दै सांगीति समुह बनिसकेछ ।’ डाक्टर रिजालले यसरी भुमिका बाँधिसक्दा अडिटोरियम हल भावुक बनिसकेको थियो । त्यसपछि ४ जनाको टिमले मधुर संगीतको धुन निकाल्न थाले । हल संगीतमय बनिसकेको थियो ।

aIMG_7254

यो दृष्य शनिबार बिपी प्रतिष्ठानमा आयोजना भएको सिम्पोजियमको चौथो सँस्करणको दोस्रो दिनमा देखिएको हो । प्रतिष्ठानका विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फेयर सोसाईटीले कार्यक्रम आयोजना गरेको हो । जसमा गीत,संगीतको मात्र चर्चा भएन, ‘चिकित्साविज्ञान र मानविकी’ बारेमा भरपुर चर्चा भयो । चिकित्सा र कला, साहित्य, मानवीयता, आध्यामबीचको सम्बन्धकोबारेमा बहस भयो ।

कार्यक्रममा अभिनेता राजेश हमाल, चर्चित गायिका आनी छोईङ डोल्मा, गीतकार दिनेश अधिकारी, साहित्यकार अमर न्यौपाने, अभिवक्ता राधेश्याम अधिकारी लगायत थिए । सबैले आआफ्नो बिषयमा मन्तव्य दिए । आनीले आफ्ना गीतहरुसँगै चिकित्सक, विद्यार्थीहरुलाई मानवीयतामा जोड दिदै करुणा भाव राखेर उपचार गर्न आग्रह गरिन् । पैसा, प्रतिष्ठान भन्दा पनि पुष्य कमाउन आग्रह गरिन ।

aIMG_7308

गीतकार दिनेश अधिकारीले चिकित्सा क्षेत्रमा विश्वास सबै भन्दा महत्वपूर्ण भएको धारणा राखे । मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले किताबी भन्दा पनि खुला विश्वविद्यालय(समाज)बाट अथाह ज्ञान हासिल गर्न सकिने बताए । चिकित्सकको राम्रो व्यवहारले मात्र पनि आधा रोग निको हुने उनले बताए । अभिनेता राजेश हमालले पनि मानवीय पक्षलाई नभुल्न आग्रह गरे । कार्यक्रममा डा.रामेश कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, प्रा.डा.शैलेश अधिकारी लगायतले चिकित्सा र मानविकी बारे बोले ।

कार्यक्रमका संयोजक डा. विष्णु पोख्रेलले अध्ययनमा मात्र केन्द्रीत चिकित्साशास्त्रका विद्यार्थीहरुलाई समाज बुझ्नको लागि शुरु भएको कार्यक्रमलाई निरन्तरता दिइएको बताए । ‘चिकित्सकहरुलाई लापरवाही भएको आरोप आइरहेको छ, कतै हामीले समाजलाई बुझ्न नसकेर हो कि हामीलाई समाजले नबुझेर हो, त्यसैले एकले अर्कालाई बुझ्ने बुझाउने प्रयासमा कार्यक्रम गरिएको हो,’उनले भने ।
aIMG_7265

aIMG_7315

aIMG_7276