झापा: बुद्धशान्ति गाउँपालिका २ जयपुरकी २८ वर्षिया पुष्पा पोर्तेल यति बेला न्यायको पर्खाइमा छिन् । विश्वमा लैंगिक तथा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ, यता पुष्पा भने हिंसामै बाँधिएकी छिन ।

उनको गुहार सुनिदिने कोही छैन । नेपालको संविधान २०७२ ले व्यक्तिको मौलिक हकअन्तर्गत समानताको अधिकारमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने व्यवस्था गरेको छ । तर, यो कुरा व्यवहारमा लागू हुन सकेको छैन । कानुनको प्रभावकारी कार्यान्वयनको फितलोपनको फाईदा उठाउदै महिलामाथि हुने गरेका हिंसाको घटना भइरहेको छ । यस्तै घटनाको पछिल्लो पात्र बन्न पुगिन्, झापा बुद्धशान्ति गाउँपालिका २ जयपुरकी २८ वर्षिया पुष्पा पोर्तेल । पोर्तेलले २०६६ सालमा स्थानीय निश्चल पोर्तेलसँग प्रेम विवाह गरिन् । दाम्पत्य जीवनमा बाँधिएका शुरुका समयहरु निकै सुखमय बने । पुष्पा र निश्चलका दुई सन्तान पनि भयो । तर उनीहरुको खुशी धेरै लामो समय टिक्न सकेन । २०७० सालमा पुष्पाको श्रीमानले अर्जुनधारा ९ की सन्जु लामगादेसँग दोस्रो बिबाह गरे । अनि शुरु भयो, पुष्पाका दुःखका दिन ।

तत्कालीन गाउँ समाजको निर्णयले पुष्पालाई श्रीमानबाट अंश बापत ३ कट्ठा जमिन, छोराछोरीको अध्ययन खर्च र दुःख बिराम पर्दा सहयोग गर्ने कागजी निर्णय भयो । त्यस पश्चात पुष्पा आफैले बनिबुतो गरेर छोराछारीलाई पढाउने र घर चलाउदै आएकी थिइन् । तर गत पुषदेखि अचानक शरीरको कम्मरदेखि तलको भाग नचल्ने रोग लाग्यो । माइतीको पहलमा भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचार पछि केहि सुधार आयो । तर अहिले माइतीको संरक्षणमा रहेर ओछ्यानमा नै थलिएर बसेकी छन् । सामन्य बाँसको टाटीले बनाएको घर छ । यो अवस्था हुदासमेत श्रीमान्ले उपचार गर्नु त परको कुरा भेट्न समेत नआएको पुष्पाको गुनासो छ । पुष्पाको श्रीमान निश्चल पोर्तेल हाल बिर्तामोडमा कान्छी श्रीमतीको साथमा मनिका खाजा घर संचालन गरिरहेका छन । तर पनि आफ्ना छोराछोरी र श्रीमतिलाई रेखदेख नगरेको माइती पक्षको आरोप छ ।

pic copy

गाउँ समाज र गाउँपालिकाको न्यायिक समितिले गरेको निर्णय पनि निश्चल पोर्तेलले कार्यन्वयन गरेका छैनन् । आफ्नो छोरीमाथि दुव्र्यवाहर र भविष्य नै अन्धकार हुने गरी स्वास्थ्यमा खेलबाड गरेकोले छोरीले उचित स्वास्थ्य उपचार पाउनु पर्ने पुष्पाको बुबा हरिकुमार गाहतराज बताउँछन् । पुष्पामाथी भएको घरेलु हिंसाको बिषयलाई लिएर गाउँसमाजले अंशवापत ३ कट्ठा जग्गा दिने, छोराछोरीलाई पालनपोषण, शिक्षा र पविारका सदस्य कोही दुःखविराम हुदा स्वास्थ्य उपचार गर्ने भन्ने उल्लेख गरिएको छिमेकी काजी श्रेष्ठले जानकारी दिए । यी सबै निर्णय र सहमति विपरीत भए कानुनी उपचार गर्नुपर्ने छिमेकी श्रेष्ठको भनाई छ । पीडित पुष्पाका माइती पक्षले गत जेठमा नै गाउँपालिको न्यायिक समितिमा निबेदन दिएका थिए । समितिले गरेको फैसलाको कार्यन्वयन नभएको माइती पक्षको आरोप छ । श्रीमान्लाई चाडै कानुनी कारवाही गर्ने गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बताइन् । पीडित मिराको माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेको छ । मिराको उपचारमा धेरै खर्च लाग्ने चिकित्कसले बताएका छन् । छोरीको दिशा पिसाब कुर्सीमा प्वाल परेर गराउने गरेको आमा नैनाकलाको भनाई छ । ह्वील चियर पनि नभएकोले हिडडुल गराउन धेरै समस्या हुने उनले बताइन् । ‘मेरी छोरीले न्याय पाए हुन्थ्यो,’उनी भन्छिन् ।