धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको एउटा कोठामा शुक्रबार निक्कै चहलपहल थियो । उनीहरु बिएमआइटीका विद्यार्थीहरु थिए । 
एउटा समुह दोस्रो बर्षको र अर्को समुह भर्खर मात्र भर्ना भएका पहिलो बर्षका विद्यार्थीहरु रहेछन् । नयाँ विद्यार्थीहरुमा ३ जना छात्रा पनि थिए ।

पुराना विद्यार्थीहरुको समुहमा एक जना मात्र छात्रा थिइन् । चिकित्सा विज्ञान पनि पठाइ हुने प्रतिष्ठानमा विद्यार्थीहरु भेला हुनु, छलफल गर्नु सामान्य हो । तर, शुक्रबार त्यो सि.आर.कोठाभित्र भने बिपी प्रतिष्ठानको विकृत्तिकोरुपमा जरा गाडेको कुरुप पाटो र्यागिङ भइरहेको रहेछ । सिनियर भनिएको दोस्रो बर्षका विद्यार्थीहरुले भर्खर भर्ना भएर आएका नयाँ विद्यार्थीहरुलाई अनुशासनको पाठ सिकाउने नाममा उभ्याएर यातना दिइरहेका थिए । नयाँ छात्र(केटा)हरु सबैले कपाल खौरिएका थिए । उनीहरु सबै शिर निहुराएर उभिएका थिए, मानौ कि ठुलो गल्तीको सजाय दिइएको छ ।

दोस्रो बर्षका सिनियर विद्यार्थीले ती नयाँ विद्यार्थीहरुले एउटै रंगको बेल्ट(पेटी) लगाएको छ, छैन भन्दै चेकजाँच पनि चलिरहेको थियो । दोस्रो बर्षकाले कसैलाई गीत गाउन, कसैलाई सायरी भन्न र ३ जना छात्राहरुलाई चै नाच्न निर्देशन दिइरहेका थिए । ‘नयाँ विद्यार्थीहरु चुपचाप सबै कुरा सहिरहेका थिए, आँखा पनि जुधाउन नहुने रे, टाउको निहुराएर भुईतिर मात्र हेरिरहनु पर्ने,’अचानक सि.आर.रुमभित्र छिरेका प्रत्यक्षदर्शी नरेश राईले भने,‘एकछिन त के भएको भनेर भेउ नै पाइन, बुझ्दै जादा त र्यागिङ भइरहेको रहेछ । मैले प्रतिवाद गर्दा जही कम्प्लेन गर्दा पनि केही हुन्न भन्यो ।’

स्वास्थ्य सेवा र दक्ष स्वास्थ्यकर्मी उत्पादनमा कहलिएको बिपी प्रतिष्ठान नेपालमा विद्यार्थीमाथि अत्यधिक र्गागिङ हुने शैक्षिक संस्थाकोरुपमा पनि परिचित छ । यहाँ हरेक बर्ष नयाँ भर्ना शुरु भएपछि झण्डै एक महिनासम्म विद्यार्थीहरुमाथि र्यागिङको नाममा चरम यातना दिइन्छ । एमबिबिएस, बिडिएस, बिएमआइटीलगायत सबै नयाँ विद्यार्थीहरुमा र्यागिङको नाममा चरम ज्यादती हुने गरेको छ । प्रतिष्ठानले सिनियर र जुनियर(नयाँ विद्यार्थी)बीच सम्बन्ध कायम गर्न परिचयात्मक गतिविधि, चिनजान गर्न भनेर दिएको छुटलाई नै सिनियरहरुले दुरुपयोग गरी नयाँ विद्यार्थीहरुमाथि चरम यातना र ज्यादती गर्ने गरेका छन् । कतिपय विद्यार्थीहरु एक महिनासम्म होस्टल छोडेर बाहिर कोठा लिएर पनि बसेको घटनाहरु छन् । ‘र्यागिङको त कुरै नगरौ, रातभर बाहिर रुखको बोटलाई सम्भोग गर्न पनि लगाएको छ, सिनियरबाट हुने र्यागिङबाट बच्न बाहिर कोठामा पनि बस्नेहरु कति छन् कति,’प्रतिष्ठानका एक पुर्वविद्यार्थीले भने,‘यसलाई कल्चरकोरुपमा त्यहाँका शिक्षक, विद्यार्थीहरुले आत्मसात गरेको भन्ने देख्छु, तर नयाँ विद्यार्थीलाई कति मानसिक तनाव हुन्छ भन्ने कसैले हेक्का राख्दैन ।’

प्रतिष्ठान प्रशासन नयाँ विद्यार्थीमाथि हुने र्यागिङप्रति बेखबर भने छैन । प्रत्येक बर्ष नयाँ शैक्षिक सत्रमा भर्ना शुरु भएपछि एन्टि र्यागिङ टिम पनि गठन हुने गरेको छ । यो टिमले नियमित अनुगमन गर्ने, विद्यार्थीहरुलाई होस्टलमा गएर भेट्ने, समस्या बुझ्ने र केही भइहाले जानकारी दिन भन्दै फोन नम्बर पनि बाड्ने गरेको छ । तर, एन्टि र्यागिङ टिम गठनको प्रभावकारिता भने देखिदैन । टिमलाई पीडित विद्यार्थीहरुले घटनाबारे जानकारी नै गराउदैनन् । यसको मुख्य कारण आफु असुरक्षित हुन्छौ भन्ने मनोवैज्ञानिक त्रास भएर हुनसक्ने प्रतिष्ठानका सहप्रवक्ता एवं टिमका सदस्य डा. अशोक ऐर बताउँछन् । ‘सामान्य चिनजान गर्ने, जुनियरहरुलाई अनुशासन पालना गराउनेसम्म, चालचलन सिकाउने सम्म त ठिकै हो, तर शारीरिक र मानसिक यातना हुने गरेको र्यागिङलाई प्रतिष्ठानले अनुमति दिएको छैन, यो कानुन विपरीत पनि हो,’उनले भने,‘हामी टिम बनाएर अनुगमन, निरीक्षण गरिरहेका छौ । पहिलो बर्षका विद्यार्थीहरुलाई भेट्ने, मनोवल बढाउने र केही भए खबर गर्न भनेर मोवाइल नम्बर पनि दिएका छौ, तर आफु असुरक्षित हुन्छु भनेर पनि रिपोर्टिङ नभएको हुनसक्छ ।’

प्रतिष्ठानका डिन डा. सिबि झा, होस्टल वार्डेन पनि विद्यार्थीहरुमाथि र्यागिङ होला कि भनेर सर्तक रहेको बताउँछन् । एन्टि र्यागिङ टिममा सुरक्षा संयन्त्र, वार्डेन, अस्पताल प्रशासन, फ्याकल्टी, जुनियर रेसिडेन्स वेल्फेयर सोसाइटी, कर्मचारी सबैको प्रतिनिधि हुन्छन् । यो टिमले समय तालिका बनाएर अनुगमन गरिरहेको हुन्छ । तर, भित्रभित्रै भइरहेको र्यागिङको घटना भने सुइको चाल पाउदैनन् । ‘विद्यार्थी भर्ना भएको दिनदेखि नै हामी एक्टिभ हुन्छौ, र र्यागिङलाई नियन्त्रण गरिरहेकै छौ । तर, अहिलेसम्म त्यस्तो घटना जानकारीमा आएको छैन,’डिन डा.झाले भने,‘हामीलाई घटनाबारे जानकारी नै नभएपछि केही गर्न सकिदैन, कसै न कसैले त बोलिदिनुपर्छ । यस्तो घटना हुनु गलत हो, हुनुहुदैन । थाह पाउदा हामीले विद्यार्थीलाई सस्पेन्ड पनि गरेका छौ।’