धरान:जटिल रोग मानिएको क्यान्सरको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शुरु हुने भएको छ । यो उपचार सरकारी योजना अथवा बजेटमा भने शुरु हुन लागेको होइन ।

बिपीमा नै पढेका दोस्रो ब्याचका उत्पादन एवं क्यान्सर रोग विशेषज्ञ डा. विनय साह र उनकी श्रीमति ताराले अमेरिकामा स्थापना गरेको विनयतारा फाउण्डेशनको सहयोगमा प्रतिष्ठानका क्यान्पसको उपचार शुरु हुन लागेको हो । यही बिषयमा फाउण्डेशन र प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर(एमओयू) भएको छ । प्रतिष्ठानका सबै पदाधिकारी उपस्थित भएको समारोहमा अस्पताल निर्देशक डा.गौरीशंकर साह र फाउण्डेशनका अध्यक्ष डा.साहले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले बिपीमा क्यान्सरको उपचार शुरु हुदा प्रदेश १ का जनतालाई ठुलो राहत मिल्ने बताए । एकै पटक सबै उपचार सम्भव नभएपनि शुन्यबाट शुरु भएर नै ठुलो सफलता मिल्ने उनले बताए । ‘आज महत्वपुर्ण कामको थालनी गरेका छौ, सानो सानो शुरुवातबाट नै ठुलो काम बन्छ । विस्तारै बिपीमा क्यान्सरको सबै उपचार सेवा पाउने अवस्था बनाउछौ,’उपकुलपति डा.रौनियारले भने,‘यसमा विनयतारा फाउण्डेशनको ठुलो साथ, सहयोग हुनेछ ।’

IMG_8205 copy

प्रतिष्ठानका अस्पतालका निर्देशक डा.गौरीशंकर साहले पनि ऐतिहासिक एमओयू भएको उल्लेख गर्दै क्यान्सरको उपचारमा पुर्वका जनताको लागि ठुलो उपलब्धी हुने बताए । रेक्टर डा.गुरु खनालले जनहितको कामको थालनी भएको भन्दै खुशी व्यक्त गरे । फाउण्डेशनका संस्थापक डा.साहले नेपालमा ७ वटा प्रदेश भएपनि क्यान्सरको उपचार सेवा भने एउटा प्रदेश(३)मा मात्र सिमित भएकोले सबै क्षेत्रका जनतालाई उपचार सेवा पाउन् भन्ने उद्देश्यले आएको बताए । अहिले नेपालमा भरतपुर र भक्तपुरमा मात्र क्यान्सरको उपचार सेवा छ । यो दुवै प्रदेश ३ मा पर्छ ।

फाउण्डेशनले भर्खरै मात्र प्रदेश नं २, जनकपुरमा पनि क्यान्सर अस्पताल स्थापना गरेर उपचार सेवा शुरु गरिसकेको छ । त्यहा २५ बेडको विनयतारा क्यान्सर अस्पतालमा किमोथेपारी शुरु भइसकेको छ भने ३, ४ महिनापछि रेडिएशन थेपारी पनि शुरु हुन्छ । फाउण्डेशनकै सहयोगमा काठमाण्डौं बोनम्यारो प्रत्यारोपन सेवा पनि शुरु भइसकेको छ ।

IMG_20181223_104131 copy

साहका अनुसार बिपी प्रतिष्ठानमा शुरुमा प्यालिएटिभ केयरबाट सेवा शुरुवात हुनेछ । यो सेवा भनेको अन्तिम अवस्थामा पुगेका क्यान्सरका विरामीहरुलाई उपचार गर्ने हो । मृत्युको मुखमा पुगेका क्याम्सरका विरामीहरुलाई कब्जियतले असाध्यै सताउने र धेरै नै शारीरिक पीडा, दुःखाई हुनेगर्छ । ‘अन्तिम अवस्थाका विरामीहरुको पीडा कम गराउने उपचार सेवा हो,’डा.साहले भने,‘यहाँ हामी टिम बनाउछौ, उनीहरुलाई तालिम दिन्छौ, वार्डको व्यवस्थापन भएपछि अन्य सेवाहरु पनि शुरु गछौ ।’

डा.साहका अनुसार बिपीमा पुर्वाधार, प्याथोलोजी, सर्जरीलगायत आवश्यक जनशक्तिहरु पनि उपलब्ध भएकोले अबको एक बर्षभित्र किमोथेरापी बिपीमा नै शुरु हुनेछ । रेडिएशन थेपारी गर्न मेशिन महंगो खरीद गर्नुपर्ने भएकोले त्यो समय लाग्नसक्ने उनले बताए । ‘नेपालीहरुमा क्यान्सर अत्यधिक छ, त्यसैले यो सेवा एक ठाउँमा मात्र नहोस्, सबैतिरका जनताले उपचार सेवा पाउन् भन्ने हाम्रो चाहना हो,’डा.साहले भने,‘हामीलाई सबैको साथ, सहयोग र सद्भाव चाहिन्छ ।’

IMG_8198 copy

डा.साहको जन्मथलो जनकपुर हो । उनी बिपी प्रतिष्ठानमा अध्ययन सकेर सन् २००३ मा अमेरिका गएका थिए । उनी अमेरिकाको पिस हेल्थ हस्पिटलमा कार्यरत छन् । आफु जनकपुरमा जन्मिएर बिपीमा अध्ययन गर्दा धरानमा धेरै समय बिताएकोले आफ्नो जन्मथलो, कर्मथलोको मायाले डोर्याएर अमेरिकाबाट आएको उनले सुनाए । ‘म अमेरिकामा भएपनि धेरै समय बिताएको प्यारो ठाउँ हो धरान, त्यसैले यो ठाउँ र बिपी हस्पिटलको प्रगति भएको सधै हेर्न चाहन्छु,’उनले भने ।