धरान : अमेरिकाको विनयतारा फउण्डेशन र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आइतबार क्यान्सर रोगको उपचार सेवा शुरु गर्नेबारे समझदारी पत्रमा हस्तक्षर (एमओयू) सम्पन्न भयो । क्यान्सर रोगको सहज उपचारको लागि पुर्वका सर्वसाधारणहरुको लागि यो ज्यादै महत्वपुर्ण पल थियो ।

हाल नेपालका जनताहरु क्यान्सर जस्तो जटिल र अति खर्चालु रोगको उपचार गराउन चितवनस्थित भरतपुर क्यान्सर हस्पताल कि त राजधानीको भक्तपुर क्यान्सर अस्पताल पुग्नुपर्छ । त्यसैले बिपी प्रतिष्ठान र फाउण्डेशनबीच भएको एमओयू उपचार सेवाको लागि ज्यादै महत्वपुर्ण परिघटना थियो । उक्त एमओयू कार्यक्रममा फाउण्डेशनका संस्थापक एवं क्यान्सर रोग विशेषज्ञ डा।विनय साहले क्यान्सरको उपचारबारे एउटा महत्वपुर्ण जानकारी पनि सञ्चारकर्मीहरुलाई दिए । जसले नेपालमा देखापरेको क्यान्सरलाई न्युनीकरण गर्न ठुलो मद्दत पुग्छ ।

डा। साहले नेपाल सरकारले अमेरिकाबाट एच.पि.भी.नामको भ्याक्सिन आयात गरेर क्यान्सर रोगलाई न्युनीकरण गर्न सकिने महत्वपुर्ण जानकारी दिए । उनका अनुसार यो भ्याक्सिनले महिलाको पाठेघरको मुखको क्यान्सर, मलद्धारको क्यान्सर र लिंगको क्यान्सर हुनबाट जोगाउछ । अमेरिकामा त्यहाँका नागरिकहरुले यो भ्याक्सिन करिब १२ बर्षको उमेरभित्र लगाइसकेका हुन्छन् । त्यसैले अमेरिकामा पाठेघरको मुखको क्यान्सर असाध्यै न्युन मात्र भेटिने डा।साहले बताए । ‘नेपालमा पाठेघरको मुखको क्यान्सर कमन भइसक्यो, अमेरिकामा एकदमै न्युन छ । यसको कारण यो भ्याक्सिनले गर्दा पनि हो,’उनले भने,‘त्यो भ्याक्सिनलाई नेपालमा ल्याउने हो भने धेरै मात्रामा क्यान्सरलाई न्युनीकरण गर्न सकिन्छ, किनभने पाठेघरको क्यान्सर नै नेपालमा अत्यधिक छ ।’

48403210_401506953725081_2988525660026175488_n copy

सरकारले १ लाख रुपैया उपचारमा छुट वा खर्च दिलाउनुभन्दा त्यो भ्याक्सिन ल्याउनतिर ध्यान दिनुपर्ने डा।साहले बताए । भ्याक्सिन नेपालमा आएमा पाठेघरको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउन सकिने र उनीहरुलाई सामाजिक, आर्थिक, शारीरिक नोक्सानी हुनबाट पनि जोगाउन सकिने उनले बताए । क्यान्सर रोग लागेपछि उपचारमा खर्च गर्दा गर्दै पुरै परिवारको आर्थिक अवस्था दयनीय हुनुपग्छ । यो भ्याक्सिन अमेरिकामा हाल १९० डलर प्रतिडोज पर्छ । मानिसले २ डोज लगाउनुपर्छ । त्यसैले २ डोज पुरा गर्न ३८० डलर अमेरिकामा पर्छ । यो भ्याक्सिन ९ बर्षदेखि ४५ बर्ष उमेरसम्म लगाउन सकिन्छ ।

डा. साहका अनुसार प्रतिडोज १९० डलर पर्ने यो भ्याक्सिनलाई नेपालमा ल्याउन सरकारले चाहेमा ३० देखि ४० डलरमा उपलब्ध हुनसक्छ । विश्व स्वास्थ्य संगठनले पनि यो भ्याक्सिन ल्याउन सहयोग गर्ने डा।साहको भनाई छ । ‘नेपालमा ३०, ४० डलरमा यो भ्याक्सिन आउछ । त्यसैले सरकारले पहल गर्नुपर्छ, यसले नेपालमा क्यान्सर रोग न्युनीकरणमा ठुलो राहत दिन्छ,’उनले भने ।

अमेरिकीहरु बर्षमा एक पटक क्यान्सर छ, छैन भनेर जाँच गर्छन्

डा. साहले अमेरिकीहरुमा क्यान्सर रोग असाध्यै न्युन देखिनुमा यो भ्याक्सिन मात्र कारण भने नभएको बताए । उनका अनुसार अमेरिकीहरु बर्षमा एक पटक आफुलाई क्यान्सर भए नभएको स्क्रिनिङ अर्थात जाँच गराउछन् । कुनै लक्षण देखिएमा त्यसलाई शुरुमा नै काटेर फालिहाल्छन् । जसले गर्दा ४, ५ बर्षपछि त्यही चिज क्यान्सर हुनबाट उनीहरु आफुलाई जोगाउछन् । ‘नेपालमा पनि यो जनचेतना फैलाउन जरुरी छ, हरेक बर्ष आफुलाई क्यान्सर छ छैन भनेर जाँच गराउनुपर्छ,’डा.साहले भने ।

नेपालीको बाँच्ने औसत आयु बढ्दा क्यान्सर रोग बढ्यो

क्यान्सर रोग बिशेषज्ञ डा.साहका अनुसार खानपान, प्रदुषण, चुरोट, गुट्खा, मदिरा पानजस्ता कुराहरुले क्यान्सर रोेग लाग्छ । अचेल नेपालीहरुमा बढी क्यान्सर रोग देखिनुमा यति मात्र कारण भने होइन । जति पाको उमेर बढ्दै जान्छ, उति क्यान्सर हुने सम्भावना र जोखिम पनि बढ्दै जान्छ । त्यसैले नेपालको बाँच्ने औसत आयु बढेर ६०, ७० बर्ष पुगेको कारण पनि क्यान्सर रोगीहरुको संखया बढ्दै गएको देखिएको डा।साहले बताए । ‘हाम्रो खानपान, जीवनशैलीले पनि रोग निम्तिन्छ । अर्को मुख्य कारण मान्छे लामो समय बाँच्दा पनि क्यान्सर र मुटू रोगीहरु बढ्दै जान्छ,’उनले भने ।

को हुन् डा.साह ?

IMG_20181223_104131 copy

क्यान्सर रोग बिशेषज्ञ डा.विनय साह हाल अमेरिकाको पिस हेल्थ हस्पिटलमा काम गर्छन् । उनले विनयतारा फाउण्डेशन स्थापना गरेर नेपाल, भारत, भुटानलगायत देशमा क्यान्सर रोगको उपचारमा मद्दत गरिरहेका छन् । उनको जन्म नेपालको प्रदेश नं १ को राजधानी जनकपुरमा भएको हो । उनले एमबिबिएस बिपी प्रतिष्ठान धरानमा अध्ययन गरेका थिए । उनी प्रतिष्ठानको दोस्रो ब्याचका उत्पादन हुन् ।

सन् २००२ मा एमबिबिएस अध्ययन सकेर उनी २००३ मा अमेरिका उडेका थिए । उनले उतै गएर एमडि अध्ययन गरे भने ३ बर्ष अंकोलोजीमा फेलोसिप गरेर क्यान्सर रोगमा बिशेषज्ञा हासिल गरेका छन् । आफ्नी श्रीमति ताराको नाम पनि जोडेर उनले विनयतारा फाउण्डेशन स्थापना गरेर क्यान्सर रोगको उपचार सहज बनाउन अहिले लागि परेका छन् । उनले जन्मथलो जनकपुरमा २५ बेडको विनयतारा फाउण्डेशन क्यान्सर अस्पताल शुरु गरिसकेका छन् । त्यहाँ किमोथेरापी पनि हुन थालेको छ । धरानमा पनि एक बर्षभित्र किमो गराउन सक्ने गरी सेवा विस्तार गर्ने उनले बताएका छन् । उनी भन्छन्,‘म अमेरिकामा छुँ, तर बिपीमा पढ्दा धरानमा लामो समय बसे । धरान मेरोलागि प्यारो ठाउँ हो । यहाँ पनि क्यान्सर उपचारमा केही गरौ भनेर आएको छुँ ।’