इटहरी: कृषि क्षेत्रमा भित्रिएको खनजोत नगरी वाली लगाउने प्रविधि दिउँदे वालीका लागि सफल भएपछि पुर्वी तराईका किसानहरुका माझ लोकप्रिय बन्न थालेको छ ।

कम जनशक्तिले धेरै काम गर्न सकिने खनजोत नगरी वाली लगाउने जिरोटिल प्रविधि पछिल्ला केही वर्ष यतादेखि पुर्वी नेपालमा लोकप्रिय बन्न थालेको हो । विगत चार वर्ष अघिदेखि पुर्वी तराईको सुनसरीमा परिक्षणका रुपमा सुरु गरिएको जिरोटिल प्रविधि दिउँदेवालीका लागि सफल भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका माटो बैज्ञानिक सुक्रराज श्रेष्ठले बताए । माटो बैज्ञानिक श्रेष्ठले हिउँदे वाली मकै ,गहुँ र राजमा खेतीका लागि पुर्णरुपमा सफल भएपनि धानवालीमा पुर्णरुपमा सफल नभए पनि परिक्षण भई रहेको जानकारी दिए ।

कृषिको विकल्पका रुपमा युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम वढेपछि कृषि क्षेत्र प्रभावित हुन थालेको थियो ,त्यसैलाई मध्यनजर गर्दै पुर्वी नेपालको सुनसरीमा जिरोटिल प्रविधि प्रयोगमा ल्याइएको थियो । जिरोटिन अर्थात खनजोत विना गरिने कृषि पद्धती सफल भएपछि किसानहरु उत्साहित वन्न थालेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख टिकाराम चापागाईले बताए ।

कृषिका लागि कम जनशक्तिमा काम गर्न सकिने जिरोटिल प्रविधिवाट उत्पादन वढी कसरी लिन सकिन्छ भन्ने विषयलाई केन्द्रीत गरी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले संरक्षण कृषि सम्वन्धी प्राविधिक तथा सेवा प्रदायक तालिम सम्पन्न गरेको छ । सो तालिमका क्रममा कृषि क्षेत्रका प्राविधिक सेवाप्रदायक विभिन्न जिल्लाका १७ जनाको सहभागिता रहेको थियो । तालिममा खनजोत नगरी वाली लगाउते प्रद्धती तथा प्रविधिका विषयमा केन्द्रका प्रमुख टिकाराम चापागाइ तथा कृषी वैज्ञानिक सन्तोष त्रिपाठी लगायतले सहजिकरण गरेका थिए ।