झापा: नेपाल कृषि प्रधान देश भनेर दोहोरिरहने शब्द केबल कागजमा मात्र सिमित हुने जोखिम बढेको छ । किसानले उत्पादन गरेको उखु विक्रीका लागि भनेर न्युनतम मुल्य निर्धारण गरिएपनि विगत २ वर्षदेखि झापामा उखु बिक्री हुन छाडेको छ । जसले गर्दा कृर्षि प्रधान देशका किसानहरु मर्कामा छन् ।

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा विषेस गरेर उखु खेती बृहतरुपमा गरिदै आएको छ । विगत २२ वर्षदेखि उखु खेति गर्दै आएका किसानहरुलाई २ वर्ष यता उखु बिक्री हुन छोडेपछि किसान संकटमा परेका छन् । अर्जुनधारा ५ का रत्न बहादुर वन भन्छन्,'२०५६ साल देखि उखु खेती गर्दै आए,२०७३ साल भन्दा अगाडि कम मुल्यमा भए पनि उखु बिक्री हुन्थ्यो, तर २ बर्ष यता उखु दाउरामा परिणत भएको छ ।' आफुहरुको गरिखाने मेलो नै हराएको भन्दै उनले चिन्ता प्रकट गरे । उता, अर्जुनधारा ५ कै मिना भारती भन्छिन्,'उखु कम मुल्यमै भए पनि बेच्न पाए केही राहत हुने थियो, दाउरामा परिणत भएको उखुबारीबाट झिक्न समेत खर्चले नधान्ने अवस्थामा पुग्यौँ ।'
House farm 3
यसरी कृषकहरुलाई उखु नविकेर समस्या परिरहेको सन्दर्भमा अर्जुनधारा ५ का सुवास राजवंशीले भने भारतबाट कालिगढ मगाएर उखुको सख्खर बनाउने उद्योग स्थापना गरेका छन् । अर्काको जमिन लिजमा लिएर उखु खेती गरिरहेका राजवंशी भन्छन्,'सुरुमा अर्काको मेसिन प्रयोग गरेर सखर बनाए, त्यसवाट धेरै खर्च भएर खर्चले धान्न नसके पछि ऋण गरेरै भए पनि आफैँ मेसिन खरिद गरेर उद्योग चलाउँदै छु ।' प्रति घण्टा १ लिटर डिजल प्रयोग हुने मेसिनबाट दिन भरिमा २ सय ६५ लिटर उखुको रस निकाल्न सकिने राजवंशी बताउँछन् । बारीमा मेसिन राख्दा जग्गाधनीले गाली गरेको र अरुको लागि आफु हाँसोको पात्र बनेको पनि उनले बताए । यद्यपी, दैनिक एक सय केजी मिसावट नभएको सख्खर बनाउदै खुदो पनि बेच्ने गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारी समेत दिएका छन् । उनी भन्छन्,'यो उद्योग स्थापना गरेर थाम्न सकेँ भने झापामा उखु बिक्री नहुने समस्या समाधान हुन्छ ।' तर, मिसावट भएको भारतीय सख्खर बजारमा छ्याप्छ्याप्ती पाउने भएको कारण उनको उद्योगबाट उत्पादन हुने सख्खर मारमा पर्ने गरेको पीडा पोखे । 'हामी मारमा परेका छौ, प्रतिकेजी एक सयका दरले सख्खर बेच्न पनि हामीलाइ समस्या परेको छ,' उनले भने ।

सुवासकी पत्नी उर्मिलाका अनुसार जग्गा लिजमा लिएर खेती गरेको उखु वारीमै सुकाएर १० लाख ऋणमा फसेको थियो । त्यसैले यो बर्षवाट थप ऋण गरेरै भए पनि सख्खर बनाउने मेसिन जोडेको उनले बताइन् । उनीहरुले सञ्चालन गरेको सख्खर उद्योगबाट दैनिक १ सय केजी सख्खर, खुदो र मुरै डल्ला उत्पादन हुदै आएको छ । जस्ले उखु किसान राजवंशीको घाउमा सख्खरको मल्हम होलाकी भन्ने आशा पलाएको छ ।

House farm 2

किसानको उखु नविक्ने समस्याप्रति २ वर्ष वितिसक्दा पनि राज्य भने उदासिन छ । अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यानबहादुर भारती उखु खरीद गर्ने व्यापारी आँफैले ठुलो क्षेत्रफलमा उखु खेती गरेपछि सानो ३,४ विगाहामा खेती गर्ने कृषकहरु मारमा परेको बताउँछन् । आफु पनि उखु किसान भएपनि आफुले यस बारे केही गर्न नसकेको स्विकादै उनले भने,'कृषकहरुले व्यवसाय परिवर्तन गर्नु पर्यो, अव उखु छाडेर पाटा खेतीतर्फ किसानहरु परिवर्तन हुन जरुरी छ ।' अध्यक्ष भारतीले राजवंशीले सञ्चालन गरेको सख्खर उद्योगलाई राज्यले नभए नगरले भएपनि पनि बृहत वनाउदै मिसावट रहित सख्खर उद्योगको स्थापना गर्न सहयोग गर्नुपर्ने बताए । उनले थपे,'राज्यले नभए नगर र वडाले पनि सहयोग गरेर त्यो उद्योगलाई मिसावटरहित सख्खर उत्पादन गर्ने उद्योग बनाएर जानुपर्छ ।'