धरान: लिच्छिवीकालिन नेवार जातीको ३ सय वर्ष पुरानो ‘चर्या नृत्य’ देखाउदै धरानमा यसवर्षको यःमरी साँस्कृतिक उत्सव शनिबार सम्पन्न भएको छ ।

नेवाः देय् दबू धरान नगर समितिको आयोजनामा शुक्रबारदेखि शुरु भएको उत्सवको समापनमा नेवार जातीको दुर्लभ मानिने चर्या नृत्य देखाउदै सम्पन्न भएको हो । धरानमा ५ प्रकारको चर्या नृत्य नाचिने गरिएको दबूःका धरान नगर अध्यक्ष मनोहर शाक्यले बताए । शाक्यका अनुसार मञ्जुश्री, बज्रयोगीनी, कलाभैरब, अन्नपूर्ण र कुमारी नृत्य देखाइएको थियो । काठमाडौ उपत्यकामा भने करिब १६७ प्रकारसम्म चर्या नृत्यहरु नाचिने गरिएको अध्यक्ष शाक्यले बताए । ‘काठमाडौ उपत्यकामा लगभग १६७ वटा नाचिन्छ, त्यसमा १ सयवटा जति चै खुल्लारुपमा नाचिन थालेको छ । धरानमा ५ प्रकारको चर्या नृत्य छ,’ उनले भने ।

CHARYI1 copy

यी नृत्यहरुमा मञ्जुश्रीलाई काठमाडौ उपत्यकाको चोभारको गल्छी काटेर उपत्यकामा बस्ती बसालेको किम्वदन्तीसंग जोडिएको छ भने कुमारीलाई नेवार जातिले जिवित देवीको रुपमा पुज्ने गर्छन् । दुर्लभ नृत्यहरुको संरक्षणको लागि नै धरानमा ‘सातौं यःमरी साँस्कृतिक उत्सव–२०७५’ नाम दिएर आयोजना गरिएको आयोजक संस्थाको भनाई छ । उत्सवको यो ७ औं संस्करण हो । उत्सवको समापन धरान उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख एबंम धरान–१५ का वडाध्यक्ष नरेश कुरमार इवारमको प्रमुख आतिथ्यतामा भएको थियो । उत्सवमा नेवार जातीका परिकार, अन्य जातीका परिकार, हस्तकला, मौलिक भेषभुषाका २५ वटा स्टलहरु राखिएको थियो । बिशेष गरेर यःमरी खानेको भिड लागेको थियो ।

शुक्रबार हिमाली क्षेत्र धनुकटा, संखुवासभा, तेह्रथुमलगायतको क्षेत्रमा भारी हिँउ परेपछि धरानमा पनि जाडो बढेको थियो । जाडो समयमा यःमरी खादा शरीर न्यानो हुने पत्रकार गोविन्द बस्नेतले बताए । त्यहीकारण पनि यःमरी उत्साहजनकरुपमा विक्री भएको दबूका नगर अध्यक्ष शाक्यले बताए । उत्सवमा ३५ केजीको यःमरीको प्रतिमा राखिएको थियो । नेपाली भाषामा यःमरीको शाब्दिक अर्थ ‘य’ भन्नाले ‘मन परेको’ र ‘:मरी’ भन्नाले ‘रोटी’ भन्ने लाग्छ ।