झापा:एकल महिला हुन्, उनी । तर, आफु एक्लो भएको महशुस उनलाई छैन । श्री नौलो भविष्य साना किसान कृषि सहकारी संस्था लि, वनियानीमार्फत उनी कृषकको जीवनस्तरसँगै कृषि विकासमा सक्रियरुपमा लागेकी उदाहरणीय महिला पात्र बनेकी छिन् ।

यी उदाहरणीय महिला हुन्, लक्ष्मी बजगाई (भागिरथा) । आफु माथि बज्रपात हुदा पनि परिवारको स्नेहपुर्ण सहयोग पाइन् । जसले गर्दा कठिन अवस्थामा पनि उनलाई हिम्मतको साथ अघि बढ्ने हौसला मिल्यो । “श्रीमानले उमेर छदै छाडेर गए पनि परिवारले सिकाएको पाठ मेरा लागि वरदान सावित भएको छ । त्यसैको फल स्वरुप आज सहकारी सञ्चालनमा र कृषकका हितमा रहेर काम गर्ने जोस जाँगर अझै मसँग छ,”उनी भन्छिन् ।

श्रीमान्को निधनपछिको एक्लो जीवनलाई संघर्ष गर्दै उनले साना किसानको उन्नयनका लागि खर्च गरिन् । अहिले भागिरथा कचनकवल गाउँपालिकाकै उदाहरणीय महिलाको रुपमा परिचित छिन् । तर, उनको यो सफलता त्यति सहज थिएन । उनले हरेक पाइलामा कठिन संघर्ष गर्नुपर्यो । “मलाई हरेक ठाउँमा अफ्ठ्यारो बनाइदिने साथीहरुबाट नै मैले केही सिक्ने मौका पाएँ, म उहाँहरुलाई कहिल्यै पनि सत्रुवत ढंगले नहेरी पथ प्रदर्शकको रुपमा हेर्ने गर्छु उहाँहरुप्रति कुनै नकारात्मक सोच राख्दिन,”उनले भनिन् ।

श्रीमान् वितेपछिको समय सम्झदा उनको आँखा अहिले पनि रसाउछ । “९ वर्षकी जेठी छोरी र ४ वर्षकी कान्छी छोरीलाई विहान ५ वजे खाना पकाएर घरमै छाड्दै आफु विहान ९ वजेसम्म साना किसान कृषि सहकारीमा काम गरेर पुःन घर गई चिसो खाना नानिहरुलाई खुवाउँथे,”उनले भनिन् । त्यसबखत आफ्नै सहकर्मीहरुबाट पनि असहयोग खेपेकी लक्ष्मीले आफ्नो पीडा लुकाउदै कृषकको पीडा कम गर्न अभियान चलाइरहिन् । उनी स्थापनाकालदेखि नै श्री नौलो भविश्य साना किसान कृषि सहकारी सँस्थाको प्रबन्धक छिन् । यो संस्थामा ९१९ घरधुरीका सदस्यहरुका १४३ वटा समुह आवद्ध छन् । सदस्यहरु व्यावसायिक कृषिसँगै नियमित वचत गर्ने समुहका छलफल गर्ने, साना मसिना समस्याहरु आफैँ समुह वाटै समाधान गर्न सक्ने भएका छन् ।

IMG_0642.jpeg copy

समुहबाटै ब्यवसायिक कुखुरा पालन गर्ने गरेकी डोल सरी भन्छिन्,“नौलो भविश्यले नै मेरो आय आर्जनको वाटो देखाइदियो, भागिरथा दिदीले सिकाउनु भएको ब्यवसायबाट आज मेरो आर्थिक अवस्था केही मजवुत भएको छ,” डोल सरी थप्छिन्,“म त केही होइन, म जस्ता धेरै कृषक दिदीबहिनीहरुले भागिरथा(लक्ष्मि) दिदीलाई आमा ठान्ने गरेका छौ ।”


प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन स्थापना भएपछि कृषि विकासमा यान्त्रिकीकरणको सुरुवात गराएकी भागिरथाले सञ्चालन गरेको सहकारीमा सहुलियत भाडा दरमा किसानको वारी सम्मको सेवा दिने गरी धान रोप्ने, गोड्ने, काट्ने र झार्ने सम्मका मेसिनहरु छन् । छरुवा प्रविधिमा जिलो टिलेज (वाँजो जमिनका सोझै रोप्ने), टुसाएको विउ लाइनमा रोप्ने सिड ड्रिल, ट्याक्टरमा जोडेको ठुलो रिपर, गड्यौले (भार्मिक कम्पोष्ट) मललगायतका सेवा तथा सुविधाहरु किसानका लागि सञ्चालनमा ल्याएकी छिन् । धान खेतिमा नविन प्रविधिको खोजी र अनुसरण, प्रयोगमा जोड दिएको सहकारीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा सोलार सिचाइ प्रविधिमा पनि आफ्नो सेवा क्षेत्र भित्रका कृषकहरुलाइ वितरण गरेको छ । जस्ले कृषकहरुलाई सिंचाइको समस्यामा सहज भएको छ ।

कृषकहरुलाई अधिकतम ५ लाखसम्म कृषि कर्जाका लागि लगानी गरिरहेको बताउदै लक्ष्मी भन्छिन्,“हामीले धान खेतीका लागि मात्र नभएर परम्परागत कृषिको अन्त्य गरी व्यवसायिक रुपमा बाख्रापालन, कुखुरा पालन, बंगुरपालन, गाई पालन, डेरी पसल सञ्चालन, घाँस खेती, तरकारी खेती, माछा पालन, कुटानी पिसानी साना उद्योग लगायतमा कृषि कर्जा कृषकहरु माझ पुरयाएका छौँ ।” धान उद्योगहरुमा धान सुकाउने ड्रायरको ब्यवस्थापन गर्न सके कृषकले उत्पादन गरेको धान खेतवाट नै बिक्री हुने उनी बताउँछिन् । “उत्पादन बृद्धिका लागि हामी संघर्ष गरिरहेका छौ,ँ किसानसँग धान सुकाउने प्रविधि छैन । ठुला सेलर मिलहरुसँग पनि यो प्रविधि नभएका कारण किसानलाई धान बेच्न मुस्किल पर्ने गरेको छ,”उनले भनिन् ।